logo
बिहिबार, साउन १४ २०८३
  • ट्रेन्डिङ
इटालीमा एक मूर्तिले मच्चायो तहल्का, नेताहरूले नै गरे मूर्ति ढाल्न माग !

इटालीमा एक मूर्तिले मच्चायो तहल्का, नेताहरूले नै गरे मूर्ति ढाल्न माग !


872
SHARES

काठमाडौँ । इटालीमा एक महिलाको मूर्तिलाई लिएर यतिखेर चर्को बहस भइरहेको छ । १९ औँ शताब्दीमा लेखिएको एक कविताको सम्मानमा उक्त कविताकी नायिकाको प्रतिमास्वरुप बनाइएको मूर्तिले २१ औँ शताब्दीमा आएर बहस र विवाद निम्त्याएको हो ।

तामाबाट बनाइएको यो महिलाको प्रतिमामाथि हाल विशेषगरी ‘सेक्सिज्म’ (महिलाविरोधी विचारधारा) लाई लिएर बहस चलेको छ ।

उक्त मूर्तिमा एक महिलालाई पातलो एवं पारदर्शी कपडा लगाइएको अवस्थामा चित्रण गरिएको छ । साथै महिलाको दायाँ हात आफ्नो वक्षस्थलमा राखेको र कर्के हेराइ देखाइएको छ।

आज आएर यो मूर्तिको भाव र मर्ममाथि यति धेरै विवाद बढेको छ कि धेरैजसो नेताहरु नै यो मूर्ति ढाल्नुपर्ने माग गरिरहेका छन् । विशेषगरी महिलावादी नेतृत्वकर्ताहरुले यसलाई ढाल्नुपर्ने माग उठाएका हुन् ।

यो मूर्ति इटालीको दक्षिणमा अवस्थित साप्री शहरमा बनाइएको छ । जुन प्रसिद्ध इटालियन कवि लुइजी मिरकन्तिनीद्वारा लिखित ‘ला स्पीगोलात्रिचे दी सप्री’ शीर्षकको कविताको सम्मानमा एक मूर्तिकारले बनाएका हुन् ।

मूर्ति ढाल्न माग

महिला नेतृहरुको एक समूहले यो मूर्ति भत्काउन माग गरेको छ । उनीहरुले एक बयान जारी गर्दै भनेका छन्, ‘एकपटक फेरि हामी आफैंलाई खालि एक यौनिक तरीकाले बनेको शरीरको रूपमा यस मूर्तिलाई देख्दा लाज लाग्छ ।’

उनीहरुको बयानअनुसार, यो मूर्तिको सामाजिक र राजनैतिक मुद्दाहरुसंग कुनै सम्बन्ध छैन, न त यसको कुनै आत्मा छ ।

इटालीकी डेमोक्रेटिक पार्टीकी सांसद मोनिका चिरिन्नाले यस मूर्तिलाई इतिहासमाथि र महिलाहरुकै अनुहारमा चोटिलो थप्पडको रुपमा व्याख्या गरेकी छन् ।

 

उनले एक ट्वीट गर्दै भनेकी छन्, ‘यो मूर्तिले इतिहासकी त्यस अन्न संकलक (महिला) को प्रतिबद्धताको बारेमा केही पनि प्रकट गर्दैन, जसले दमनकारीहरुको विरुद्धमा खडा हुनका लागि काममा जान छाडेर विद्रोह गरेकी थिइन् ।’

तर उक्त शहरका मेयर एन्टोनियो जेन्टीले भने आफ्नो एक फेसबुक पोस्टमा उक्त मूर्तिको बचाव गरेर कलाकारिताप्रति समझ राख्नुपर्ने बताएका छन् । उनले यस मूर्तिलाई कलाकार इमानुएल स्टेफानोले एक फरक ‘कौशल र गहिरो समझ’बाट निर्मित कला भनेका छन् ।

मेयर जेन्टीले भनेका छन् कि उनको शहर यस कलाको मूल्य, सिद्धान्तहरु र परम्परामाथि प्रश्न गर्नका लागि तयार छैन।

मूर्तिकार के भन्छन् त ?

यो मूर्ति बनाउने कलाकार भने आफ्नो कलाको मूल्यमाथि धावा बोलिएको भन्दै खिन्न र निराश छन् ।

मूर्तिकार स्टेफानोले पछिल्लो समय बहसमा आएको यस मुद्दाबारे एक फेसबुक पोष्ट लेखेर आफ्नो धारणा सार्वजनिक गरेका छन् । उनले हाल देखिएका यी आलोचनाले आफू निराश र खिन्न भएको बताएका थिए ।

आफ्नो मूर्तिको बचाउ गर्दै उनले भनेका छन् कि उनी सधैं मूर्तिहरुलाई कम्तीमा एक पातलो नै भए पनि कपडाले ढाक्ने ९छोप्ने० कोसिस गर्दछन्, चाहे त्यो पुरुषको मूर्ति होस् या महिलाको मूर्ति । उनको यो भनाइ इतिहासमा र विभिन्न देशमा समेत नग्न मूर्तिहरु समेत रहेकोप्रति लक्षित छ । तर उनको मूर्ति भने कम्तीमा नाङ्गै चाहिँ छैन ।

यस मूर्तिको सन्दर्भमा उनले थप के भनेका छन् भने उनी एक ‘आदर्श महिला’ र उसको आफूप्रतिको गर्व र तथा चेतनाको जागरण देखाउन चाहन्थे ।

साथै मूर्तिकार स्टेफानोले यस मूर्तिको डिजाइन गर्दा नै त्यहाँका अधिकारीहरुद्वारा अनुमोदित भएको थियो ।

पछिल्लो समय विशेषगरी ट्वीटर र फेसबुकलगायत सामाजिक सञ्जालमा यो मूर्तिबारे विभिन्न टीका–टिप्पणी एवं बहस भइरहेका छन् ।

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij