logo
बिहिबार, साउन १४ २०८३
  • ट्रेन्डिङ
उद्योग स्थापना गर्न नक्कली संधियार !

उद्योग स्थापना गर्न नक्कली संधियार !


764
SHARES

काठमाडौं । झापाको भद्रपुरमा एक उद्योग स्थापनाका लागि नक्कली सर्जमिन (मुचुल्का) बनाएर वडाकार्यलयबाट सिफारिस गरिएपछि स्थानीयले विरोध जनाएका छन् । भद्रपुर नगरपालिका—५ स्थित घना बस्तिको विचमा ‘माता पाथीभरा भेनियर उद्योग’का लागि नक्कली संधियार खडा गरिएको निवेदनमा वडाले सिफारिस गरेको पाइएको हो ।

उद्योगी महाविर मित्रुकाले आफन्त सरला मित्रुका, सरिता मित्रुका र कोमल सरियाको नाममा १ विगाहा क्षेत्रफलमा नक्कली सर्जमिन बनाएर उद्योग स्थापनाका लागि वडाबाट सिफारिस बनाएपछि त्यहाँका संधियारहरुले विरोध जनाएका हुन् ।

वास्तविक संधियारको स्वीकृतिविना वडाबाट सिफारिस भएपछि उद्योग स्थापना नहुँदै बिवादास्पद प्रक्रिया अपनाइएको उनीहरुको आरोप छ ।
मित्रुकाले उद्योग स्थापनाका लागि झापाको घरेलु तथा साना उद्योग कार्यालयमा निवेदन दिएका थिए । त्यसपछि सो कार्यालयले उद्योग स्थापनाको प्रक्रिया अगाडि बढाउन भदौ ४ गते भद्रपुर नगरपालिका—५ लाई पत्र पठाएका थिए । उक्त पत्र अनुसार वडा कार्यालयले स्थलगत सर्जमिन गर्दा मित्रुकाले संधियारलाई सोधखोज नगरी बाहिरका मान्छे राखेर सर्जमिन मुचुल्का बनाएको स्थानीयको भनाई छ ।

कित्ता नं. १५ र १८ मा स्थापना हुन लागेको उक्त उद्योगमा सधियारमा हेमकुमार घिमिरे, रेखा दवाडी, ननदमाया कार्की, भुपाल दास उपाध्याय, युवराज रावत, लिलदास उपाद्ययाय र गम्भिरदास उपाध्याय रहेका छन् । तर, वडाले तयार गरेको सर्जमिन मुचुल्कामा पूर्बतर्फ आनन्द सरिया, पश्चिममा सडक, उत्तर र दक्षिण्मा सागर घिमिरेलाई संधियार बनाएपछि नक्कली संधियार खडा गरिएको भन्दै त्यहाँका वास्तविक संधियारसँगै स्थानीय सर्वसाधरण र बिभिन्न सघं संस्थाहरुले समेत चर्को बिरोध गरिरहेका छन् ।

उद्योग स्थापना गर्ने जमिनको उत्तरतर्फका संधियार हेमकुमार घिमिरेले बस्तिको विचमा उद्योग स्थापना गर्न कुनै पनि हालतमा नदिने बताएका छन् । आफू नभएको समयमा सर्जमिन गरेर वास्तविक सधियारको स्वीर्कतिविना उद्योग स्थापना गर्नु गलत रहेको उनको भनाई छ । उनले उद्योग स्थापना गर्न लागिएको ठाउँ आवशीय क्षेत्र रहेको र उक्त क्षेत्रमा उद्योग सञ्चालन गर्न नदिने बताएका छन् ।

भद्रपुर नगरपालिका—५ का वडाध्यक्ष बन्धु कार्कीले भने सर्जमिन मुचुल्का गलत नभएको र वास्तविक संधियारलाई नै रहेकोले आफुले सिफारिस गरेको बताएका छन् । ‘यदि सर्जमिन गर्दा गलत भए वा फर्जि नाम नाम नै राखिएको वहाँहरुले सम्बन्धित निकायमा निवेदन दिन सक्नुहुनेछ । मैले के गर्नुपर्छ त्यसको लागि तयार छु’ वडाध्यक्ष कार्कीले दैनिक न्युज नेपाललाई भने । उनले घरेलु तथा साना उद्योगबाट प्रक्रियागत पुरा गरेर लिखित दिएको हुँदा आफूले सिफारिस दिएको बताए । ‘त्यो उद्योग सञ्चालन गर्नु राम्रो हो । प्रक्रियागत रुपमा सबै पुरा गरेर माग गरेको हुँदा उद्योगमैत्री भावनाका हिसाबले मैले सिफारिस दिएको हुँ’, उनले भने ।

यस्तै, उद्योगी महाविर मित्रुकाले दैनिक न्युज नेपालसँग कुरा गर्दै आफूले सामान राख्ने गोदाम जस्तो सञ्चालन गर्न लागिएको बताएका छन् । उनले सबै सहि प्रक्रिया पुरा गरेर वडामा अनुमतिपत्र दिएको बताए । ‘उद्योग सञ्चालन हुने स्थान अगाडि बाटो छ । दक्षिणतिर लिला घिमिरेको जग्गा हो । उत्तरपटि दाजुभाई हेम घिमिरे लागयतको संयुक्त जग्गा हो । त्यहाँ पाँच जनाको हस्ताक्षरसहित हामीले वडामा सिफारिस मागेको हो’, उनले भने, ‘वडाले अनुमति पनि दिईसकेको छ । यो खास केहि नभएर आन्तरिक खटपट भएको कारण उक्त उद्योग सञ्चलान गर्न रोक लगाउन खोजेको मात्रै हो । त्यस्तो ठूलो उद्योग पनि होइन । केहि गलत छैन । गोदाम राख्ने नराख्ने भन्ने निश्चित छैन मात्र जग्गा दर्ता गरेका हौँ ।’
स्रोतका अनुसार उक्त उद्योग सञ्चालन अनुमतिका लागि भद्रपुर नगरपालिकाले अहिले रोक लगाएको पाइएको छ । वास्तविक संधियारको स्वीकृतिविना वडाबाट सिफारिस भएपछि उद्योग स्थापना नहुँदै बिवादास्पद प्रक्रिया अनपनाइएको भन्दै नगरपालिकाले भने रोक लगाएको हो ।

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij