दैनिक न्युज नेपाल
काठमाडौं । सत्तारुढ नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट ३५ जना जनप्रतिनिधि निर्विरोध निर्वाचित भइसकेको बताएका छन् ।
शुक्रवार पार्टी केन्द्रीय कार्यालयमा आयोजित नेकपा (एकीकृत समाजवादी) र बहिर्गमित जनमुक्ति सेना नेपालको एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ताकै क्रममा एकीकृत समाजवादीबाट ३५ जना जनप्रतिनिधिको एकल उम्मेदवारी परेको बताएका हुन् ।
उनले एकल उम्मेदवारी परेसँगै पार्टीको तर्फबाट २ जना गाउँपालिका अध्यक्ष, १ जना गाउँपालिका उपाध्यक्ष, ६ जना वडाअध्यक्ष र २६ जना सदस्यहरु निर्विरोध निर्वाचित भएको बताए ।
उनले भने, ‘यो चुनावको निम्ति मनोनयन दर्ताको समयमा निर्विरोध रुपमा मनोनयन दर्ता भएका केही व्यक्तिहरु मध्ये हाम्रो पार्टीसँग जोडिएका, नेकपा९एकीकृत समाजवादी०सँग जोडिएका, २ जना गाउँपालिकाका अध्यक्षहरु निर्विरोध निर्वाचित भए ।
१ जना उपाध्यक्ष निर्विरोध निर्वाचित हुनुभयो । ६ जना वडाध्यक्ष निर्विरोध निर्वाचित हुनुभयो । २६ जना सदस्यहरु निर्विरोध निर्वाचित हुनुभयो ।
झण्डै ३५ जना व्यक्तिहरुले विजय हासिल गरेर हाम्रो पार्टीको झण्डालाई, हामीले अघि सारेको कलम चिन्ह त्यो बोक्ने पार्टी नेकपा९एकीकृत समाजवादी०को विजयको झण्डा फहराउँदै उहाँहरु अगाडी बढ्नुभयो । प्रतिस्पर्धा गर्न कसैले आँट गरेन उहाँहरूसँग ।’
उनले गठबन्धनमा आवद्ध दलहरु सामुहिक रुपमा अगाडी बढ्नुपर्ने बताए । उनले गठबन्धनभित्रका दलले अहंकार राख्नु नहुने र वस्तुनिष्ठ भएर चल्नुपर्ने बताए ।
स्थानीय तह निर्वाचनको उम्मेदवारीमा कतिपय ठाउँमा तलमाथि भएको सन्दर्भमा गठबन्धनभित्र समिक्षा हुने पनि अध्यक्ष नेपालले बताए । उनले एकीकृत समाजवादी पार्टी २००६ सालमा स्थापना भएको कम्युनिष्ट पार्टीकै निरन्तरता भएकाले जनतामा परिक्षण भइसकेको पार्टी भएको समेत दाबी गरे ।
© Dainik News Nepal PVT. LTD. All right reserved | Site By : sobij