दैनिक न्युज नेपाल
काठमाडौं । नेपाली कांग्रेस कैलालीले आफ्ना तीन वडाध्यक्षसहित १५ जनप्रतिनिधिलाई पदमुक्त गर्न सिफारिस गरेको छ ।
तीन वडाध्यक्षसहित १५ जना जनप्रतिनिधि निलम्बित सांसद रेशम चौधरीको पहलमा गठन भएको नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेपछि कांग्रेसले पदमुक्त गर्न सिफारिस गरेको हो ।
उन्मुक्ति पार्टीमा लागेकामध्ये ६ जना कांग्रेसका क्षेत्रीय प्रतिनिधिसमेत हुन् ।
कांग्रेस कैलालीले पार्टी परित्याग गरेका १५ जनप्रतिनिधिलाई पदबाट हटाउन निर्वाचन आयोगलाई सिफारिस गरिएको कांग्रेस कैलालीका प्रचारप्रचार समिति प्रमुख नृप सुनारले जानकारी दिए ।
पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न पार्टीको केन्द्रीय समितिलाई पनि सिफारिस गरिएको उनले बताए ।
कांग्रेसले टीकापुर नगरपालिका वडा नम्बर १ का अध्यक्ष लालबीर चौधरी, वडा नम्बर ३ का अध्यक्ष रामसेवक महतो, वडा नम्बर ५ का अध्यक्ष रामशंकर डगौरालाई पदमुक्त गर्न सिफारिस गरेको हो ।
चौधरी र महतो कांग्रेसका क्षेत्रीय प्रतिनिधिसमेत हुन् ।
यस्तै क्षेत्रीय प्रतिनिधिसमेत वडा सदस्यहरु रमेश विक, तुलसादेवी विक, सरिता भुल र जमुना चौधरीलाई कारबाहीको सिफारिस गरिएको उनले बताए ।
पार्टी प्रवेश गरेका वडा सदस्यहरु विना थारु, भागीदेवी कामी, प्रेमलाल चौधरी, रुपमती डगौरा थारु, बलबरि थारु, कन्हैया चौधरी, आशा थारु, रामशंकर चौधरी र जमुना चौधरीलाई पनि कारबाही गर्न केन्द्रलाई सिफारिस गरिएको प्रचार प्रचार समिति प्रमुख सुनारले बताए ।
उनीहरु सबै नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकाले कारबाहीको सिफारिस गरिएको हो ।
© Dainik News Nepal PVT. LTD. All right reserved | Site By : sobij