logo
बिहिबार, साउन १४ २०८३
  • ट्रेन्डिङ
निर्वाचन आयोग चुनावको तिब्र तयारीमा: तर विदेशमा रहेकाहरुले त्यहीँबाट मत हाल्न नपाउने

निर्वाचन आयोग चुनावको तिब्र तयारीमा: तर विदेशमा रहेकाहरुले त्यहीँबाट मत हाल्न नपाउने


474
SHARES

काठमाण्डौ । स्थानीय तहको चुनावको मिति घोषणा भएसँगै निर्वाचन आयोगले तयारी थालेको छ ।

सरकारले हिजो वैशाख ३० गते एकैपटक स्थानीय तहको चुनाव गर्ने मिति तोकेपछि निर्वाचन आयोगले तयारी थालेको हो ।

चुनावको समय अपुग भएकाले चुनावको कतिपय प्रक्रिया फास्ट ट्राकबाट पूरा गरिने भएको छ ।

कानुनअनुसार चुनावको तयारीका लागि १ सय २० दिन चाहिनेमा त्यो भन्दा कम भएकाले कतिपय प्रक्रिया फास्ट ट्र्याकबाट गरिने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो ।

सरकारले तोकेको मितिअनुसार चुनाव आउन अब ९५ दिन मात्रै बाँकी छ । समय अभाव भएकाले दिनरात चुनावको तयारी गरिने उहाँले बताउनुभयो ।

आजदेखि मतदाता नामावली अद्यावधिक गर्ने काम सुरु हुनेछ। ७७ वटै जिल्लामा सङ्कलित नामावली अद्यावधिक गरेर आयोगले ७ सय ५३ वटै पालिकामा पठाउने छ ।

२०७४ सालको चुनावमा भन्दा यसपालि झण्डै २० लाख मतदाता थपिने अनुमान गरिएको छ । चुनावमा एक करोड ८० लाखको हाराहारीमा मतदाता पुग्ने अनुमान गरिएको आयोगले जनाएको छ ।

वर्तमान कानुनी व्यवस्थाअनुसार विदेशमा रहेका नेपालीले त्यहीँ बसेर आफ्नो मताधिकार प्रयोग गर्न नसक्ने पनि आयोगले जनाएको छ ।

चुनावका बेला नेपाल आए भने मत हाल्न पाउने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताउनुभयो ।

आयोगले चुनावका लागि निर्देशिका, बजेट र जनशक्तिका विषयमा निर्णय गर्न बाँकी छ । यसपालि चुनावमा १२ अर्बभन्दा धेरै खर्च हुने अनुमान गरिएको छ ।

यस्तै, चुनावका लागि आवश्यक पर्ने भवन, गाडी, फर्निचर वा अन्य भौतिक साधनको अवस्था तथा व्यवस्थापनका लागि सबै स्थानीय तहलाई समन्वय गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत पत्राचार गरिएको छ ।

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij