दैनिक न्युज नेपाल
काठमाडौं। एमसीसीबारे अध्ययन गर्न सत्तारुढ गठबन्धनले बनाएको तीन सदस्यीय कार्यदलले तत्काल काम थाल्ने भएको छ ।
आइतबार गठबन्धनले नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको संयोजकत्वमा काँग्रेसका तर्फबाट सञ्चारमन्त्री समेत रहेका ज्ञानेन्द्र बहादुर कार्की र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ सदस्य रहेको एमसीसी अध्ययन कार्यदल गठन गरेको थियो ।
कार्यदलका संयोजक खनालले आजभोलि नै कार्यदलको पहिलो बैठक बसेर काम सुरु गर्ने बताए । उनले कतिपय एमसीसीसँग सम्बन्धित दस्तावेजहरू केपी ओली नेतृत्वको सरकारले लुकाएकाले ती दस्तावेजहरू समेत खोजेर अध्ययन गर्ने बताए ।
‘पहिलो बैठकको समयका लागि छलफल भइरहेको छ । साथीहरूसँग छलफल गरेर पहिलो बैठक कुनै पनि बेला बस्छ र आजभोलिबाटै काम सुरु हुन्छ’, कार्यदल संयोजक खनालको भनाइ छ ।
उनले कार्यदलले एमसीसीबारे विभिन्न दस्तावेजहरू अध्ययन गर्ने र निचोडका रूपमा सरकारलाई सुझाव पेस गर्ने पनि बताए ।
‘हामी पहिला सबै सम्बन्धित दस्तावेजहरू भेला गर्छौ, हिजो हामीले कतिपय दस्तावेजहरू पाएकै थिएनौ, त्यो बेला केपी ओली सरकारले दस्तावेज नै लुकाइदियो ।
ती दस्तावेजहरूको समेत अध्ययन गरेर सरकारलाई सुझाव पेस गर्छौ’, संयोजक खनालको भनाइ छ । त्यस क्रममा कार्यदलले अन्य दलका नेताहरूसँग समेत छलफल गर्नेछ ।
हाल तीन सदस्यीय कार्यदलको नेतृत्व गरेका खनाल यसअघि नेकपाद्वारा गठित एमसीसी सम्बन्धी कार्यदलका समेत संयोजक थिए ।
© Dainik News Nepal PVT. LTD. All right reserved | Site By : sobij