logo
बिहिबार, साउन १४ २०८३
  • ट्रेन्डिङ
एमालेमा ओली झनै शक्तिशाली !

एमालेमा ओली झनै शक्तिशाली !


276
SHARES

काठमाडौं । एमालेमा अध्यक्ष केपी शर्मा ओली झनै शक्तिशाली देखिएका छन्। माधवकुमार नेपाल पक्ष बाहिरिएपछि ओलीलाई टक्कर दिने नेता कोही देखिएका छैनन्।

ललितपुर गोदावरीमा तीन दिन चलेको पहिलो विधान महाधिवेशन ‘ओलीमय’ बनेको छ। यो महाधिवेशनले अबको विधि र नीतिको टुंगो लगाउँदै १० औं राष्ट्रिय महाधिवेशन मंसिर १० देखि १३ गतेसम्म बुटवलमा गर्ने तय गरेको छ। नेतृत्वमा ओली नै दोहोरिने देखिन्छन्।

एमालेले कार्यकारी पदमा ७० वर्षे उमेरहद कायमै राखे पनि ओलीलाई ‘सुविधा’ दिएको देखिन्छ। कार्यकालकै बीचमा ७० वर्ष पूरा भएछ भने कार्य गर्न पाउने उपमहासचिव विष्णुप्रसाद पौडेलले बताए।

‘कुनै पनि कमिटीको कार्यकारी पदमा ७० वर्ष पूरा नभइसकेको अवस्थामा उम्मेदवार हुन पाइन्छ’, उपमहासचिव पौडेलले भने, ‘७० वर्ष भन्नाले छोएको होइन, पूरा नहुन्जेलसम्म उम्मेदवार हुन पाउने भनिएको हो।’ ओली आगामी फागुनमा ७० वर्ष पुग्दै छन्। नेतृत्व छान्ने महाधिवेशन मंसिरमै तोकिएको छ।

एमालेले एउटै कार्यकारी पदमा दुईपटक मात्रै उम्मेदवार हुन पाउने व्यवस्थासमेत गरेको छ। ‘उसले हारोस् वा जितोस्, उही पदमा दुईपटक मात्रै उम्मेदवार हुने व्यवस्था गरेका छौं’, पौडेलले भने।

विधान महाधिवेशनमा ओली अध्यक्ष भएपछि पार्टीको अवस्था, उनले पहिलो र दोस्रो पटक सरकारको नेतृत्वमा रहेका बेला गरेका कामबारे वृत्तचित्र देखाइएको थियो।

प्रतिनिधिले संविधान निर्माण, नाकाबन्दी, २०७४ सालको निर्वाचन परिणाम, साढे तीन वर्ष सरकारमा रहँदा गरेका कामको प्रशंसा गरेका थिए। नेताहरूले ओली एमालेको मात्रै होइन राष्ट्रिय राजनीतिको केन्द्रमा रहेको बताएका थिए।

एमालेले अब तीनै तहका निर्वाचन जिति सत्ताको बागडोर पुनः आफूले लिने उद्घोष गरेको छ। विधान महाधिवेशन समापनका क्रममा आइतबार ओलीले निर्वाचनतिर केन्द्रित हुन नेतारकार्यकर्तालाई निर्देशन दिएका छन्।

यससम्बन्धी प्रस्ताव नै महाधिवेशनले पारित गरेको छ। ओलीले १५ महिनाभित्र हुन लागेका तीनै तहका निर्वाचनमा बहुमत ल्याउने तयारीसाथ अघि बढ्न निर्देशन दिए। ‘जितेर आएका छौं, अब जितेर देखाउँछौं’, ओलीले भने, ‘हामीले जित्नै पर्छ। हाम्रो विजय यात्रा कसैले रोख्न सक्दैन।’

उनले देश बनाउने कर्तव्य एमालेको भएको बताए। ‘स्थानीय निर्वाचनमा जित्नै पर्छ। प्रदेश र संघमा पनि हामीले बहुमतसहित सरकार बनाउनुपर्छ’, उनले भने। प्रदेश र केन्द्रीय सरकार पनि एमालेको बहुमतले बन्ने दाबी उनले गरे। उनले छिट्टै हुने स्थानीय निर्वाचनमा पार्टीलाई विजयी बनाउन सक्रियताकपूर्वक लाग्न निर्देशन दिए।

उनले पार्टीको दसौं महाधिवेशनपछि मुलुक निर्वाचनतर्फ जाने बताए। जिल्ला, पालिका र वडामा पार्टीका अधिवेशन तोकेर निर्धारित समयमा सम्पन्न गर्न पनि उनले निर्देशन दिए। ‘हामीले चुनावमा जित्ने उम्मेदवार छनोट गर्नुपर्छ’, उनले भने, ‘विपक्षी दलहरूको रणनीति हेरेर निर्णय लिनुपर्छ। आजदेखि सबै जना यो काममा लागौं। हाम्रो महाधिवेशनलगत्तै निर्वाचन हुने भएकाले अब कुनै विलम्ब नगरौं।’

उनले आफ्नो कुनै व्यक्तिगत स्वार्थ नरहेको, पार्टीलाई आगामी निर्वाचनमा स्पष्ट बहुमतमा पु¥याउने एक मात्र ध्येय रहेको बताए। मुलुकलाई अल्प विकसितबाट विकसित राष्ट्र बनाउनुपर्ने तथा सन् २०३० भित्र दिगो विकास लक्ष्य भेट्नुपर्नेलगायत धेरै कार्यभार एमालेको काँधमा रहेको उनले बताए। उनले अहिले पनि ५१ प्रतिशत जनता एमालेको पक्षमा रहेको दाबी गरे।

स्थायी कमिटी सदस्य रघुजी पन्तले निर्वाचनमा जुट्न कार्यकर्तालाई आह्वान गर्दै समसामयिक प्रस्ताव राखेका थिए। हलबाट पारित प्रस्तावमा लेखिएको छ, ‘यो महाधिवेशन आसन्न स्थानीय तह निर्वाचनको तयारीमा लाग्न, आफ्ना पालिकाहरूमा पार्टीको विजय सुनिश्चित गर्न र यसका लागि आवश्यक संगठनात्मक व्यवस्थापनलाई तत्काल तीव्रता दिन सबै कमिटी तथा कमरेडहरूलाई आह्वान गर्दछ।’

महाधिवेशनले अध्यक्षको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको संगठनात्मक प्रस्ताव र उपमहासचिव पौडेलको विधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित गरेको छ।

हालै सरकारबाट हटेको र पार्टी विभाजनको पीडासमेत भोगेको एमालेले महाधिवेशनमार्फत शक्ति प्रदर्शनसमेत गरेको छ। महाधिवेशनमा ६ हजार ३ सय ४७ प्रतिनिधि सहभागी थिए। महाधिवेशनमा तीनवटा दस्तावेजमा घनिभूत छलफल भएको जनाइएको छ। त्यसक्रममा १० समूह बनाइएका थिए ।

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij