logo
शुक्रबार, साउन १५ २०८३
  • ट्रेन्डिङ
अमृत बने कांग्रेसका कान्छो पालिका सभापति

अमृत बने कांग्रेसका कान्छो पालिका सभापति


484
SHARES

काठमाडौं । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाको नवनिर्वाचित कांग्रेस सभापति अमृत गिरी जिल्लाकै कान्छो सभापति बनेका छन् ।

सोमबार सम्पन्न गाउँपालिका अधिवेशनबाट ३२ वर्षीय गिरी कांग्रेसको गाउँपालिका सभापतिमा चयन भएका हुन् । गाउँपालिका सभापतिका प्रत्यासी डम्बर खड्काले उम्मेदवारी फिर्ता लिएपछि गिरी पालिका सभापतिमा निर्विरोध चयन भएका हुन् ।

दिप्रुङ चुइचुम्मा गाउँपालिका- ५ सछितापोखरीमा २४ वैशाख २०४६ मा जन्मिएका गिरीले आफ्नो कार्यकालमा गाउँपालिकामा पार्टीलाई पहिलो बनाउने प्रतिक्रिया दिएका छन् ।

उनी २०७४ सालको स्थानीय तहको निर्वाचनबाट वडा सदस्यमा निर्वाचित भएका थिए । संस्थागत रूपमा संगठन विस्तार, पार्टीभित्र एकता, पार्टी संगठनको नेतृत्व विकासमा जोड दिने गिरीले बताए ।

‘संस्थागत रूपमा संगठन विस्तार गरिन्छ, पार्टीलाई एक ढिक्का बनाएर राखिन्छ’, गिरीले भने, ‘पार्टी संगठनभित्र नेतृत्व विकास र प्रशिक्षणलाई जोड दिइन्छ । आमनिर्वाचनमा पार्टीलाई विजय गराउने गरी काम गरिन्छ ।’

सरस्वती मावि डाँडाखर्क सछितापोखरीमा कक्षा १० मा अध्ययन गरिरहेका बेला अनेरास्ववियुको इकाई कमिटी अध्यक्षबाट राजनीतिमा प्रवेश गरेका गिरीले २०६४ सालदेखि कांग्रेसको राजनीति सुरु गरेका हुन् ।

उनले २०६५ सालमा नेविसंघका तर्फबाट सिमपानी क्याम्पसको स्ववियु कोषाध्यक्ष, २०६८ सालमा नेविसंघको सिमपानी क्याम्पस इकाई समिति सभापतिलगायतका भूमिका निर्वाह गरिसकेका छन् ।

३३ वर्षीय विष्ट जन्तेढुंगा सभापति

जन्तेढुंगा गाउँपालिकामा ३३ वर्षीय युवा बाजिन्द्र बिष्ट नेपाली कांग्रेसको गाउँपालिका सभापति चुनिएका छन् । शनिबारको गाउँपालिका अधिवेशनमा चुनावी प्रतिस्पर्धाबाट बिष्ट सभापतिको पद सम्हाल्न पुगेका हुन् ।

जनआन्दोलन २०६२/०६३ का बेला काठमाडौंमा चार तारे झण्डामुनि बसेर गणतन्त्रका पक्षमा नारा चर्काउँदाचर्काउँदै बिष्टले राजीनितीको बाटो समाएका हुन् ।

२०६२ सालमा महेन्द्ररत्न क्याम्पस ताहाचल काठमाडौंको नेविसंघ इकाई समिति सदस्यबाट औपचारिक राजनीति सुरु गरेका बिष्ट गाउँ फर्किएर पार्टीको पालिका सभापतिको जिम्मेवारीमा पुगेका हुन् । विष्ट हालसम्म पार्टीका गाउँपालिकाका उपसभापति थिए ।

१९ भदौ २०४५ मा जन्मिएका बिष्टसँग नेविसंघको खोटाङ-काठमाडौं सम्पर्क समितिका सभापति, कांग्रेस खोटाङ(काठमाडौं सम्पर्क समितिका सचिव, सामाजिक संस्था खोटाङ सेवा समाज काठमाडौंको सचिवको भूमिका निर्वाह गरेको अनुभव छ ।

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij