logo
बिहिबार, साउन १४ २०८३
  • ट्रेन्डिङ
स्वार्थले टुटेका राजेन्द्र र महिन्द्र भिड्दै !

स्वार्थले टुटेका राजेन्द्र र महिन्द्र भिड्दै !


299
SHARES

सर्लाही । महिन्द्र राय यादव एमालेबाट मधेसको राजनीतिमा आएका नेता हुन् भने राजेन्द्र महतो मधेसकै मुद्दाबाट स्थापित भएका हुन् । दुवै नेतामा मधेसका मुद्दामा कुनै फरक मत देखिँदैन ।

राजनीतिक हिसाबकिताबमा उनीहरू कहिले एउटै पार्टीको छातामुनि पुग्छन् त कहिले फरक–फरक दलमा हुन्छन् । तर हरेकजसो निर्वाचनमा उनीहरू आमनेसामने मात्रै हुँदैनन्, आरोपप्रत्यारोपकै तहमा उत्रिन्छन् । सर्लाहीका नेताहरू यादव र महतोलाई आपसका चिरपरिचित मित्र र शत्रुका रूपमा चिन्छन् ।

डेढ दशकअघि यादव र महतो तराई मधेस लोकतान्त्रिक पार्टीमा थिए । २०६४ सालको संविधानसभा निर्वाचनमा महतो प्रत्यक्षबाट र यादव समानुपातिकबाट निर्वाचित भए । पछि फरक–फरक पार्टी गठन गरेर उनीहरू २०७० को दोस्रो संविधान सभाको निर्वाचनमा होमिए । यादव तराई मधेस सद्भावना पार्टीबाट र महतो नेपाल सद्भावना पार्टीबाट सर्लाहीको एउटै चुनाव क्षेत्रमा उठे । यादव महतोलाई २ हजार ५ सय मतले पछाडि पार्दै विजयी भए ।

मधेसको अधिकारको सवालमा गठन भएको लोकतान्त्रिक मधेसी मोर्चामा महतो र यादवले एकजुट भएर तराई–मधेस तताएका थिए । मधेसी मोर्चाले गठन गरेको राजपा हुँदै लोकतान्त्रिक समाजवादी पार्टीमा पनि फेरि यी दुवै नेता एक ठाउँमा उभिए ।

पार्टी विभाजनपछि यादव बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीमा लागे भने महतो लोकतान्त्रिक समाजवादी पार्टीमा । यादव अहिले माओवादी केन्द्रको चिह्न लिएर चुनावी मैदानमा छन् । झट्ट हेर्दा यादव र महतो दुवै एउटै चुनावी गठबन्धनमा छन् । केन्द्रमा माओवादी र कांग्रेससहितको गठबन्धनमा लोसपा भए पनि महतोको हकमा लागू भएन ।

पहिलेदेखि लड्दै आएको क्षेत्रमा यादवको बलियो पकड देखेपछि महतो ०७४ को प्रतिनिधिसभा निर्वाचनमा धनुषाबाट उठेका थिए र निर्वाचित पनि भए । आसन्न निर्वाचनमा धनुषा सुरक्षित नहुने देखेपछि महतो फेरि पुरानै क्षेत्र फर्कंदा फेरि सर्लाही–२ मा यादवसँग आमनेसामने भएका छन् । नेता यादवले केन्द्रको निर्णयअनुसार आफू गठबन्धनको उम्मेदवार रहेको जनाउँदै महतोलाई मत नदिन आह्वान गरिरहेका छन् । ‘गठबन्धनको औपचारिक उम्मेदवार म नै हो, मतदाताको मन जित्ने प्रयास गरिरहेको छु,’ उनले भने ।

मधेसका मुद्दा र विकास आफ्नो मुख्य प्राथमिकता रहेको महतोको भनाइ छ । ‘यो क्षेत्र विकास निर्माणमा एकदमै कमजोर छ । नागरिक हकअधिकारबाट पनि बञ्चित छ । यस क्षेत्रको उत्थानका लागि मैले उम्मेदवारी दिएको हो,’ महतोले भने, ‘महिन्द्रजीसँग मेरो मित्रवत् प्रतिस्पर्धा हुन्छ ।’

स्थानीय तहको निर्वाचनमा सर्लाही–२ का पालिकामा सत्ता गठबन्धनले ३४ हजार ५ सय ७८ मत पाएका थिए भने लोसपाका पक्षमा १२ हजार ३ सय ७१ मत खसेको थियो । एमालेले ७ हजार ६ सय ७९ र जनता समाजवादी पार्टीले १९ हजार ६ सय ४२ मत प्राप्त गरेका थिए ।

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij