logo
बिहिबार, साउन १४ २०८३
  • ट्रेन्डिङ
बाहिरियालाई भित्र्याएर वास्तविक नेपालीलाई धरापमा पार्ने प्रपञ्च भयोः ज्ञानेन्द्र शाह

बाहिरियालाई भित्र्याएर वास्तविक नेपालीलाई धरापमा पार्ने प्रपञ्च भयोः ज्ञानेन्द्र शाह


253
SHARES

काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाहले नागरिकता विधेयकतर्फ संकेत गर्दै बाहिरियाहरुलाई भित्र्याएर वास्तविक नेपालीलाई धरापमा पार्ने प्रपञ्च गरिएको दाबी गरेका छन् ।

राष्ट्र र राष्ट्रियता सर्वाधिक संकटापन्न स्थितिमा रहेको बताउँदै उनले अहिले बलियो मियो आवश्यक रहेको पनि बताएका छन् ।

दशैंको अवसरमा भिडियो सन्देश मार्फत शाहले सो कुरा बताएका हुन् । ‘बलियो मियोमा आबद्ध भएर राम्रो र दरिलो नेपाल बनाउन हामीमा दिव्य चेतना आउन जरुरी छ । नेपाललाई फेरि महान बनाउनु परेको छ’, उनले भनेका छन् ।

एकातिर युवाहरु विदेश पलायन हुने र अर्कोतिर बाहिरियाहरुलाई भित्र्याउने प्रपञ्च रचिएको भन्दै उनले नेपालको धर्म, संस्कृति र सभ्यतामाथि घातक प्रहार भएको बताएका छन् ।

‘अर्कातिर बाहिरियाहरुलाई भित्र्याउने र वास्तविक नेपालीलाई धरापमा पार्दै जाने प्रपञ्चप्रति चासो र चिन्ता बढेको छ’ उनले भनेका छन्, ‘विश्वका दुई ठूला मुलुकका बीचमा अवस्थित हाम्रो देशको धर्म, संस्कृति, सभ्यतामाथि घातक प्रहार हुँदै आएको छ ।’

डेढ दशकको राजनीतिक अभ्यासले कोर्स करेक्सनको अपरिहार्यता सिद्ध गरेको बताउँदै उनले भनेका छन्, ‘देशका प्रति बफादारी र जनताप्रति उत्तरदायी भएर काम गर्ने विधि व्यवस्था, संगठन एवम् प्रतिनिधित्वको सही पात्र आज देशले खोजिरहेको छ ।’

अहिले देशलाई दाउँमा लग्ने अवस्था बनेको भन्दै उनले देशले कहिल्यै पनि हार्न नहुने बताएका छन् ।

उनले भनेका छन्, ‘हाम्रो राष्ट्रियता र इतिहास सर्वाधिक संकटापन्न स्थितिमा छ । हाम्रा मौलिका धार्मिक, सांस्कृतिक मान्यताहरु विस्थापित गर्ने क्रमलाई तीव्रता दिइएको छ । परराष्ट्र नीति असन्तुलित भइदिंदा राष्ट्रहित र सुरक्षा संकटग्रस्त बन्दै गएको छ । व्याप्त भ्रष्टाचारले समाज र व्यवस्थालाई पथभ्रष्ट तुल्याएको छ ।

सर्वसाधारणको दैनिक जीवनलाई सकसपूर्ण बनाएको छ । विद्यमान संविधान र व्यवस्थाको रक्षा गर्न खोज्दा देशलाई दाउमा लग्ने अवस्था बनेको छ । पहिले पनि हामीले भनिसकेका छौं हाम्रो कुनै कार्यले देश कहिल्यै पनि हार्न हुँदैन ।’

राष्ट्र, प्रजातन्त्र, मौलिक मान्यताहरु र नेपाली एकता रक्षाका लागि एकजुट हुँदै अभिभावकीय रक्षा व्यवस्थाको रक्षामा समर्पित रहने देशभक्ति नेपालीको चाहना परिपूर्ति गर्न नवदुर्गा भवानीले प्रेरणा प्रदान गरुन् भन्ने कामना पनि उनले गरेका छन् ।

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij