logo
बिहिबार, साउन १४ २०८३
  • ट्रेन्डिङ
खोटाङबाट जसपाका अशोक राईसहितको नाम सिफारिस

खोटाङबाट जसपाका अशोक राईसहितको नाम सिफारिस


155
SHARES

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) खोटाङले प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ ।

जनता समाजवादी पार्टीले प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक उम्मेदवार टुंगो लगाएको जानकारी दिएको छ ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जसपाले प्रत्यक्षतर्फ संघीय परिषद् अध्यक्ष अशोक राई र डा.कृष्णकुमार (केके) राईको नाम सिफारिस गरेको छ । समानुपातिकतर्फ पर्शुराम बस्नेत, देवराज राई, तेजमायाँ राई, प्रेमकुमार राई र सुनिल चाम्लिङलाई सिफारिस गरेको छ ।

यस्तै, प्रदेशसभा(क) मा प्रत्यक्षतर्फ राकेश राई, नविन राई, विवेक राई, हेमन्त राई र मविन्द्र राईको नाम प्रदेश कमिटि समक्ष सिफारिस गरिएको छ । समानुपातिकतर्फ तेजमायाँ राई, नैनबहादुर कट्वाल, बच्चु राई, कमानसिं राई र झुमा पोखरेल सिफारिस भएका छन् ।

प्रदेशसभा(ख)मा प्रत्यक्षतर्फ देबराज राई र प्रेमकुमार राईको नाम अघि सारिएको छ । समानुपातिकतर्फ रमेश राई, लालबहादुर राई, नैनकला राई, रबिन खम्बू र चक्रप्रसाद फुयाँललको नाम सिफारिस गरिएको जसपाले जनाएको छ ।

जसपाले आसन्न निर्वाचनलाई लक्षित गर्दै नेता देवराज राईको संयोजकत्वमा ‘जनताको आह्वान जसपाको अभियान, संघीयता र सुशासन’ भन्ने नारासहित जिल्लाभरी संगठन सुदृढीकरण तथा चुनावी अभियान सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिएको छ । यस्तै, प्रदेशसभा (क)मा राकेश राई र प्रदेशसभा (ख) मा प्रेम राईको संयोजकत्वमा अभियान सञ्चालन समिति गठन गरिएको छ ।

जसपा खोटाङको अध्यक्षमा खम्बू

जसपा जिल्ला समन्वय समिति खोटाङको तदर्थ समिति गठन गरिएको छ । तत्कालीन अध्यक्ष टंक थापा लगायतका नेताले पार्टी छाडेपछि प्रदेश कमिटीको सिफारिसमा उपाध्यक्ष पूर्णराज राई (पिके खम्बू) को अध्यक्षतामा ८७ सदस्यीय तदर्थ समिति गठन गरिएको हो ।

जिल्ला समन्वय समितिको उपाध्यक्षमा नैनबहादुर कट्वाल, निर्मल राई, मैयाँ राई, सचिवमा सुनिल चाम्लिङ, उप–सचिवमा टिकाराम राई, वीरेन्द्र दर्नाल, आशिष राई र कोषाध्यक्षमा नैनकला राईलाई चयन भएका छन् ।

जिल्ला समन्वय समिति गठनमा असहमति

जसपा प्रदेश १ को मूख्य सचिव प्रभुराम श्रेष्ठको आदेशमा विधि र विधान मिचेर जसपा जिल्ला समन्वय समिति गठन गरिएको भन्दै १७ नेता तथा कार्यकर्ताले असहमति जनाएका छन् ।

जिल्ला सह–सचिव वीरेन्द्र दर्नाल, सचिवालय सदस्य रबिन खम्बू, गुरुराज राई, गजेन्द्र राई, अग्निप्रसाद राई, डिल्लीराज राई, जिल्ला सदस्य सौराज राई लगायतले छुट्टै पत्रकार सम्मेलन गर्दै मुख्य सचिव श्रेष्ठले पठाएको कुनैपनि समितिमा नरहने गरी सामूहिक राजीनामाको घोषणा गरेका छन् ।

उनीहरुले अवैधानिक र व्यक्तिगत रुपमा प्रदेश मुख्य सचिव श्रेष्ठले गठन गरेर पठाएको समिति खारेज गरी पार्टीको विधि र विद्यान बमोजिम जिल्ला समन्वय समिति गठन गर्न जिल्ला भेलाको माग गरेका छन् । पार्टीको हित विपरित प्रदेश समितिको नामको दुरुपयोग गर्दै जिल्ला समन्वय समितिको अधिकारलाई हस्तक्षेप गरी ठाडो आदेशमा विधि र विधानलाई मिच्ने काम भएको सचिवालय सदस्य खम्बूले बताए ।

असन्तुष्ट समुहले पार्टीमा बढ्दो अधिनायकवाद, परिवारवाद तथा आसेपासेलाई काखी च्याप्ने राजनीतिक संस्कार मौलाएको भन्दै घोर भर्त्सना गरेको छ ।

 

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij