दैनिक न्युज नेपाल
काठमाडौं। नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले पदाधिकारी चयनमा कसैको पनि असन्तुष्टि रहेको बताएका छन् ।
उनले आफूले सुरुमा महासचिवमा दाबी गरेको भएपनि उपमहासचिव भएकोले अब पाएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने जनाए । पार्टीका नवनियुक्त महासचिव देवप्रसाद गुरुङ योग्य र सक्षम व्यक्तित्व भएको सुनाए ।
उनले महासचिवको लागि नेताहरुले ईच्छा र चाहना राख्नु स्वभाविक भएको सुनाए । महाधिवेशन भएको यतिका समयसम्म पदाधिकारी चयन गर्न नसक्दा अध्यक्ष पुष्पकमल दाहालमाथि प्रश्न खडा भएको भएपनि अहिले पदाधिकारी चयन गरिसकेपछि अब प्रश्न उठाउने बेला नभएको उनको भनाई छ । उनले अब अहिलेको टिमबाट आउने परिणामबाट प्रचण्डको निर्णयको समिक्षा गर्न सकिने पनि सुनाए ।
उनले माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) बीच सहकार्यको लागि पहल भएको स्पष्ट पारे । तर, एकताको लागि हतार नगर्ने उनको भनाई छ । उनले भने, तर हामी पहिले वैचारिक र राजनीतिक आधार स्पष्ट गर्नतिर लाग्छौं । यसको लागि ६–८ महिना समय लाग्छ । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्वमा रहँदा दुई दुई पटक संसद् विघटन गरेकोले अहिले एमालेको र यसका अध्यक्ष ओलीको जनतामा क्रेज नभएको टिप्पणी गरे ।
उनले आफूहरुले राष्ट्रियताको विषय नबोकेको भन्ने आरोपको खण्डन गरे । उनले ओलीलक्षित टिप्पणी गर्दै भने– बालुवाटारमा उहाँले कसलाई आमन्त्रण गर्नुभयो? के गफ गर्नुभयो ? त्यो कुरा तपाईँ÷हामी सबैलाई थाहा छ हो, पछिल्लो समय गिरिराजमणि पोखरेल शिक्षामन्त्री हुँदा चुच्चे नक्शा भएको किताब छाप्न कसरी रोक्नुभयो ? त्यसपछि उहाँले नागरिकता विद्येयकबारे अध्यादेश कसरी ल्याउनुभयो, एमसिसी जस्तोका त्यस्तै पास गर्ने अडान कसरी राख्नुभयो ।
© Dainik News Nepal PVT. LTD. All right reserved | Site By : sobij