दैनिक न्युज नेपाल
काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका सांसद जितेन्द्र नारायण देवले सरकारले राम्रो काम गर्दा पनि प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले साथ नदिएको गुनासो गरेका छन् ।
बुधबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै पूर्वमन्त्री समेत रहेका सांसद देवले निष्पक्ष ढंगले स्थानीय तह निर्वाचन सम्पन्न हुनु, महिला हिंसाविरुद्धको ऐन संशोधन हुनु, प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति घोषणा हुनु, नागरिकता सम्बन्धि ऐन संशोधन हुनु सरकारको ऐतिहासिक काम भएपनि एमालेले साथ नदिएको बताए । उनले एमालेलाई सरकारप्रति नकारात्मक भाव मात्रै राखेर अघि नबढ्न पनि पटकपटक आग्रह गरे ।
लोकतन्त्रमा प्रतिपक्ष दल भनेको रचनात्मक हुनुपर्ने उल्लेख गर्दै सांसद देवले सकारात्मक सोच लिएर आउन पनि प्रमुख प्रतिपक्ष दल एमालेलाई आग्रह गरे ।
सांसद देवले मुख्य राजनीतिक दलहरु अझै पनि एकतावद्ध भएर अघि बढ्नुपर्ने बेलामा एमालेले राजनीतिक तिक्तता ल्याउने खालको टिप्पणी गरिरहेको आरोप समेत लगाए ।
© Dainik News Nepal PVT. LTD. All right reserved | Site By : sobij