दैनिक न्युज नेपाल
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धन कांग्रेस निर्देशित राजनीतिक पार्टीमा परिणत भइसकेको टिप्पणी गरेका छन् ।
डुब्न लागेकाहरु गठबन्धनको त्यान्द्रो समातेर ज्यान जोगाउन खोजिरहेको उनको भनाइ छ ।
आज आयोजित पार्टी निकट भुपू सैनिकको कार्यक्रममा सम्बोधन गर्दै ओलीले गठबन्धनका कुनै पनि दलसँग एक्लै चुनावमा जाने हिम्मत नरहेको बताए ।
उनले भने, ‘उनीहरुको नसिवमै गठबन्धन लेखेको छ । डुब्तेको सिन्केका सहारा भनेको जस्तै उनीहरुलाई बाँच्नका लागि गठबन्धनरुपी त्यान्द्रोको सहारा चाहिएको छ । डुब्न लागेकाहरु एउटाले अर्कालाई तानिरहेका छन् । तर, यिनीहरु सबै डुब्छन् ।’
गठबन्धनका दलहरुमा एकअर्काप्रति अविश्वास रहेको उल्लेख गरे ।
‘बिहान भन्छन्– हामीलाई हेप्यो, यस्तै चाल हो भने अर्को मोर्चा बनाउँछौं । दिउँसो अलिकति डराउँछन् । होइन, यो मोर्चा त कायमै राख्नुपर्छ भन्छन् ।
बेलुकातिर यो गठबन्धन चुनावपछिसम्मै कायम राख्नुपर्छ भन्छन् । राति सुत्छन् । छटपटी हुन्छ । के गरेर जोगिने होला भनेर सोच्न थाल्छन् । अनि बिहान उठेर फेरि धम्क्याउँछन् ।’ उनले भने ।
ओलीले यो गठवन्धन पार्टीको रुपमा गइसकेको उल्लेख गरे ।
उनले थपे, ‘यो कांग्रेस निर्देशित विचारसमूह हो । यो कम्युनिष्ट विरोधि, प्रगति विरोधि, राष्ट्रियता विरोधि, लोकतन्त्र विरोधि समूह हो,’ उनले भने, ‘यससँग हामीले लड्नुपर्छ । एक्लै लड्न सक्षम छौं ।’
देशको लच्छिन गयो, गठबन्धन सरकारले जे छोयो त्यही खरानी
गठबन्धन सरकार आएसँगै देशको ‘लच्छिन गुमेको’ टिप्पणी गरेका छन् । यो सरकारले जे छोयो त्यही खरानी भइरहेको उनको दाबी छ ।
उनले भने, ‘आज एउटा पत्रिकारले यो गठबन्धन भनेको अलच्छिना नै रहेछ भनेर लेख्याथ्यो । साच्चै, यो गठबन्धन आएपछि देशको लच्छिन गयो ।
गठबन्धन अलच्छिना सावित भयो । हिजो हामी सरकारमा हुँदा जहाँ छोयो त्यहाँ विकास हुन्थ्यो । आज जहाँ छोयो त्यहीँ खरानी ।’
ओलीले परमादेशबाट आएको गठबन्धनले जनादेश पायो भने झनै विनाशकारी हुन सक्ने चिन्ता व्यक्त गरे ।
‘यस्तोले यदि फेरि सरकार चलाएर जाने हो भने देश के हुन्छ ? यिनीहरुको केही घराना र आफन्त सप्रिन्छन्, बाँकी सकिन्छ,’ ओलीले भने ।
© Dainik News Nepal PVT. LTD. All right reserved | Site By : sobij