दैनिक न्युज नेपाल
काठमाडौं । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि बागलुङमा दलहरू निकै कस्सिएका छन्।
आफ्ना उम्मेदवारलाई जिताउन मतदाता भेट्ने, भोट माग्ने र चुनावी सभामा उनीहरू व्यस्त छन्।
चुनावी प्रतिस्पर्धामा उत्रिएका उम्मेदवारमध्ये कसले जित्छ कसले हार्छ अनुमान गर्न थालिएको छ।
चुनावी प्रतिस्पर्धालाई राजनीतिक दल, आस्था र विचारमा मात्र सीमित गरिएको छैन। स्थानीय तहको निर्वाचन भएको हुँदा एउटै छरछिमेक, भुगोल, समाजका व्यक्ति बीच प्रतिस्पर्धा हुन्छ।
अझै वडा तहको निर्वाचन हेर्ने हो भने एउटै टोल, साँधमा पर्ने छिमेकी बीचको प्रतिस्पर्धा अझै रोचक बन्न सक्छ।
जिल्लाको काठेखोला गाउँपालिका वडा–२ भीमापोखरामा वैशाख ३० गते त्यस्तै रोचक प्रतिस्पर्धा हुँदैछ। भीमापोखरामा शिक्षक र विद्यार्थी चुनावी मैदानमा होमिएका छन्।
नेकपा एमालेले विद्यापति शर्मा र नेपाली कांग्रेसले गंगा थापा ‘भिक्षु’लाई वडा अध्यक्षमा उम्मेदवार बनाएको छ। यसले गर्दा पूर्व शिक्षक र विद्यार्थी बीच चुनावी प्रतिस्पर्धा निश्चित भएको छ।
पूर्व शिक्षक विद्यापति शर्माले अर्का उम्मेदवार गंगा थापालाई शिवालय आधारभूत विद्यालयमा पढाएका थिए। आफैंले पढाएको विद्यार्थी अहिले चुनावी प्रतिस्पर्धामा उत्रिएकी छिन्।
पूर्वशिक्षक र विद्यार्थी चुनावी मैदानमा उत्रिएको हुँदा दुवै जना व्यक्तिगत गाली गलौजमा उत्रिएका छैनन्। दुवै जनाले आ–आफ्नो योजना सुनाएर मतदातालाई आफ्नो पक्षमा लिने प्रयास गरेका छन्।
यसअघिका निर्वाचनमा समान उमेर र संगठनिक हैसियतका व्यक्ति उम्मेदवार हुँदा चुनावी भाषणमा व्यक्तिगत टीकाटिप्पणीसम्म हुने गर्थे। यसपटक दुवै पक्षबाट तल्लो तहको टिकाटिप्पणी भएका छैनन्।
शर्माले पहिलो स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई पराजित गर्दै वडाध्यक्षमा विजयी भएका थिए।
शिक्षा शास्त्र संकाय अंग्रेजी विषयबाट स्नातकोत्तर तहसम्मको पढाई पुरा गरेकी ३० वर्षीय थापा पनि अध्ययनपछि शिक्षण पेसामा आवद्ध भएकी थिइन्।
अस्थायी सेवामा कार्यरत थापा उम्मेदवार बन्न कै लागि शिक्षकबाट राजीनामा दिएर चुनावी प्रतिस्पर्धामा आएकी हुन्।
पूर्व शिक्षक र विद्यार्थीको चुनावी प्रतिस्पर्धा रोचक, सभ्य र राजनीतिक संस्कारले भरिपूर्ण हुने अपेक्षा गरेको स्थानीय प्रेम प्रसाद शर्माको विश्वास छ।
एमालेका तर्फबाट उम्मेदवार रहेका विद्यापति शर्माले आफूले पढाएको विद्यार्थी आफैसँग प्रतिस्पर्धा गर्न सक्नु ठूलो सफलताको रुपमा लिएको बताए।
‘प्रतिस्पर्धी मेरो पूर्वविद्यार्थी र छिमेकी दुवै पर्नुहुन्छ’, उम्मेदवार शर्माले भने, ‘हामी आ–आफ्नो एजेन्डा, विचार र संगठनका साथ जनतामा पुग्छौँ, चुनावी संस्कारपूर्ण हुनेछ।
अर्का उम्मेदवार थापाले पनि शिक्षकसँगको चुनावी प्रतिस्पर्धालाई जिम्मेवारपूर्ण ढंगबाट लिएको प्रतिक्रिया दिइन्। उनले संस्कारी रुपमा राजनीतिक र विकासका एजेण्डा लिएर मतदाता समक्ष पुग्ने बताइन्।
आफूहरू छिमेकी र पूर्व विद्यार्थी शिक्षक भएको हुँदा नकरात्मक खालका टिकाटिप्पणी नगरेको भन्दै अन्य उम्मेदवारले पनि अनावश्यक टिप्पणी गर्न नहुने बताइन्।
‘उहाँ मलाई पढाउनु भएको सर हो, संयोगले अहिले उहाँसँग चुनावी प्रतिस्पर्धामा गर्नु परेको छ, हामीले एक अर्कालाई नकरात्मक आरोपप्रत्यारोप लगाउने भन्दा पनि आ–आफ्नो एजेण्डा लिएर मतदातालाई भोट माग्छौँ, थापाले भनिन्।
© Dainik News Nepal PVT. LTD. All right reserved | Site By : sobij