logo
बिहिबार, साउन १४ २०८३
  • ट्रेन्डिङ
नीलकण्ठमा कांग्रेसकी विद्रोही उपमेयर कल्पनालाई चुनाव चिन्ह गुलाबको फूल

नीलकण्ठमा कांग्रेसकी विद्रोही उपमेयर कल्पनालाई चुनाव चिन्ह गुलाबको फूल


223
SHARES

काठमाडौं। धादिङको नीलकण्ठ नगरपालिकामा उपमेयरको पदमा कल्पना अधिकारीले स्वतन्त्र उम्मेदवारी दिएकी छिन्।

आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपाली कांग्रेसकी नेतृ अधिकारीले आफूले पार्टी संगठनको रक्षाका लागि स्वतन्त्र उम्मेदवारी दिएको बताइन्।

पत्रकार सम्मेलनमा बोल्दै अधिकारीले कांग्रेसमा निरन्तर २० वर्षदेखि खटिएको उल्लेख गर्दै पार्टी, संगठन, समाज, सबै दाजुभाई, दिदी बहिनीको मन मर्न नदिन स्वतन्त्र उम्मेदवारी दिएको स्पष्ट पारिन्।

उनले समग्र महिला र युवाहरुको खोला जस्तै आँशु बगिरहेको भन्दै २० वर्ष लामो कांग्रेसको राजनीतिलाई तिलाञ्जली दिएर स्वतन्त्र उम्मेदवारको रुपमा उभिएको बताइन्।

उनले आफ्नो उम्मेदवारी पार्टीलाई खबरदारी गर्नका लागि भएको बताइन्।

उनले सत्ता साझेदार दल बीचको चुनावी गठबन्धन प्रति असन्तुष्टि जनाउँदै उम्मेदवारी आफ्नो निम्ति नभई संगठनको बचाउको लागि भएको दाबी गरिन्।

‘पार्टी भित्र बसेर दलीय भागबण्डामा आफ्नो पार्टीलाई लिलाम गर्ने हो कि, संगठन पनि बिग्रने हो कि भन्ने विषयको खबरदारी मैले गर्न खोजेको हो, उनले भनिन्, म एउटा मरौँला तर मेरो संगठन, समाज, सबै दाजुभाई र दिदी बहिनीलाई मर्न दिन हुँदैन्।

लामो समयदेखि आफू कांग्रेसको राजनीतिमा लागेको उल्लेख गर्दै आफूले रुख चिन्हमा खुशीसाथ लड्न पाउनुपर्नेमा नपाएको गुनासो गरिन्।

रुख चिन्हमा लड्ने आफ्नो अधिकार भएको दाबी गर्दै पार्टीले संविधानले निर्धारण गरेको ३३ प्रतिशत महिलाको कोटा कटौती गरेको उनले टिप्पणी गरिन्।

उनले अब जनताले गल्ती नगरी मत दिनु पर्ने धारणा राखिन्। उनले आफ्नो मात्र नभएर हजारौँ, युवा, जनजाति, महिलाको आवाज सम्झेर गुलाबको फूलमा मतदान गर्न सबैलाई आग्रह गरिन्।

उनी आफूले चुनाव जित्ने पनि विश्वास व्यक्त गरिन्। आफ्नो जित सम्पूर्ण धादिङवासीको जित हुने उनको भनाइ थियो।

पार्टी संगठनबाट आफू टाढा हुन नखोजेको उनले स्पष्ट पारिन्। आफूले उम्मेदवारी दिन आँट गर्नु नै आफ्नो जित भएको उनको दाबी थियो।

कसैको उस्काहटमा लागेर उम्मेदवारी नदिएको भन्दै गठबन्धनको विरोधी नभएको पनि स्पष्ट पारिन्। उनले उक्त पद अरु पार्टीलाई दिएपनि महिलालाई नै दिनुपर्ने माग आफूले राखेको तर कसैले सुनुवाई नगरेको उनको भनाई थियो।

अधिकारीले बाग्मती प्रदेश सरकारको साझेदारीमा, यातायातका साधन नवीकरण धादिङमा राख्ने समेत प्रतिवद्धता व्यक्त गरिन्।

उनले स्वास्थ्य क्षेत्रमा मानवीय सेवा, नगरभित्र निःशुल्क एम्बुलेन्स सेवा दिने पनि उनले बताइन्। त्यस्तै, नगरपालिकामा एकल महिलालाई छहारी, एकल पुरुषलाई सामाजिक सुरक्षा भत्तामा भकारी भर्ने उनको प्रतिवद्धता छ।

 

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij