logo
शुक्रबार, साउन १५ २०८३
  • ट्रेन्डिङ
गठबन्धन कांग्रेसका लागि ठूलो अवसर हो, विरोध मात्र गरेर केही हुनेवाला छैनः उमेश श्रेष्ठ

गठबन्धन कांग्रेसका लागि ठूलो अवसर हो, विरोध मात्र गरेर केही हुनेवाला छैनः उमेश श्रेष्ठ


279
SHARES

काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले गठबन्धनको भागबन्डाको विरोध गरेर मात्र केही नहुने बताएका छन् ।

श्रेष्ठले भने, “गठबन्धनको भागबन्डामा चुनौती र अवसर दुइटै छ । गठबन्धनसँगै हामीले ठूलो अवसर पाएका छौं । हामीले सकारात्मक भएर सोच्ने हो भने जहाँ चुनौती हुन्छ, त्यहाँ अवसर पनि हुन्छ । सबै हामीले पाउनुपर्छ भन्ने हो भने हाम्रै हार हुन्छ ।

गठबन्धन नगर्ने हो भने राज्यसत्ता अरुले नै चलाउँछन् । त्यसैले विरोध गरेर मात्र केही हुनेवाला छैन ।” पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा पार्टीभित्रको असन्तुष्टि मिलाउन भरतपुर पुगेका नेता श्रेष्ठले अहिले देखिएका असन्तुष्टि साम्य हुने दाबी गरे ।

उनले भने, “मैले सबै साथीहरुलाई भेटिरहेको छु । पार्टीले पाउनुपर्छ भन्ने आवाज स्वाभाविक हो । यसमा सेन्टिमेन्ट पनि जोडिएको छ । पार्टीका साथीहरुको भनाइ के छ भने भरतपुरमा पहिले पनि अवसर पाएन, अहिले पनि पाएन ।

निर्वाचन प्रणाली अनुसार कुनै एउटा दलले बहुमत ल्याउन नसक्ने अवस्थामा गठबन्धन बाध्यता हो । गठबन्धन गरेपछि सबै ठाउँ हामीले नै पाउनुपर्छ भन्न मिल्दैन ।”
उनले टिकट नपाएको झोक केही दिनमा शान्त हुने पनि बताए ।

श्रेष्ठले भने, “राजनीति सेवा हो, पेशा वा व्यवसाय होइन । राजनीति गरेपछि इच्छा, आकांक्षा, अभिलाषा स्वाभाविक हुन्छ । टिकट नपाउन्जेल कम्पिटेसनमा जाने हो र टिकट पाउनेलाई नेता मानेर अघि बढ्ने हो । मलाई लाग्छ, अब गठबन्धनमा कुनै समस्या आउँदैन । मुख्य कुरा पार्टी हो । पार्टीका लागि त्याग पनि गर्नैपर्छ । तीनै तहमा मिलेर जाँदा कांग्रेसलाई ठूलो अवसर छ ।”

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij