दैनिक न्युज नेपाल
काठमाडौं । नेकपा एमालेका सांसद रामवीर मानन्धरले सूर्य चिह्न लिएर उठ्नु भनेको एमालेमा विलयकै स्वरुप भएको बताएका छन् ।
मानन्धरले भने, नेकपा एमालेको ठूलो संगठन छ । संगठन व्यवस्थापन र कार्यकर्ता परिचालनमा पनि अग्रणी छ ।
साढे तीन वर्षको केपी ओलीको सरकार र पाँच वर्षको स्थानीय सरकार हाम्रा मतका आधार हुन् । त्यसैले एमालेको सूर्य चिह्न लिएर उठ्न चाहनु अरु दलको पनि चाहना छ । विगतमा हृदयेश त्रिपाठी पनि सूर्य चिह्न लिएर उठ्नुभएकै हो ।
अहिले कमल थापा, एकनाथ ढकालहरुके पार्टीले पनि त्यही गर्न लागेको हो । एक हिसाबले भन्दा ती दलले सूर्य चिह्न लिएर उठ्नु भनेको एमालेमा विलयकै स्वरुप हो ।
एमाले नेता मानन्धरले काठमाडौं महानगरपालिकाको मेयरमा आफू सशक्त दाबेदार भएको दाबी गरे । उनले भने, पार्टीमा ५ जना आकांक्षीको नाम सिफारिस भएको छ । म पनि सशक्त दाबेदार हुँ । पार्टी स्थायी कमिटीले पक्कै पनि यसबारे सोच्ने छ ।
आफूले मेयरको टिकट पाएर जितेमा फोहोरमैला व्यवस्थापनलाई पहिलो प्राथमिकता दिने पनि उनले बताए । उनले भने, अहिले पनि काठमाडौं महानगरमा विकास हुँदै नभएको होइन । ३२ वटै वडामा विकास भएको छ तर व्यवस्थित ढंगले प्रचार गर्न सकिएन ।
मैले मेयर जितेँ भने फोहोरमैला व्यवस्थापनलाई प्राथमिकता दिन्छु । ६ महिनाभित्र त्यो काम गर्न नसके राजनीमा दिन्छु ।
यसबाहेक उनले पानी, ढल, ट्राफिक व्यवस्थापन, करिडोरका कुरा आफ्नो एजेन्डा हुने पनि उनले सुनाए । उनले भने, अहिले सबैभन्दा महत्त्वपूर्ण कुरा इच्छाशक्तिको आवश्यकता हो । त्यो मसँग छ । मैले वडाध्यक्ष, सांसद र राज्यमन्त्री रहेर अनुभव हासिल गरिसकेको छु । म काठमाडौं महानगरबासीलाई विश्वास दिलाउन सक्छु ।
© Dainik News Nepal PVT. LTD. All right reserved | Site By : sobij