दैनिक न्युज नेपाल
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनलाई चुनावमा हराएर देशी विदेशी प्रतिक्रियावादीको षड्यन्त्र असफल बनाउनुपर्ने जिम्मेवारी जनतामा आएको बताएका छन् । लोकतन्त्र र विकास निर्माणको कामलाई अगाडि बढाउन एमालेले जित्नुपर्ने उनको भनाइ छ ।
विहीबार नेकपा एमाले बाँकेले नेपालगञ्जमा आयोजना गरेको अगुवा कार्यकर्ता भेला एवं पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आगामी चुनावमा एमालेले जितेमात्रै देशको लोकतन्त्र र विकास निर्माणको काम द्रुत गतिमा अगाडि बढ्ने दाबी गरे ।
एमाले सरकारबाट हटेको ९ महिनामा देशको अर्थतन्त्र ध्वस्त भएको उल्लेख गर्दै लगानी गर्ने पुँजी नभएकाले लगानी भएन भने रोजगारी र उत्पादन अगाडि बढ्न नसक्ने ओलीको भनाइ थियो ।
उनले भने, ‘देशलाई झन् गरिब हुनबाट बचाउन र यी सबै समस्याबाट पार पाउन आगामी चुनावमा एमालेलाई जिताउनुपर्छ ।’
उनले सरकारले अस्पताल र विद्यालयका आयोजनाहरूसमेत बन्द गर्न थालेकाले वृद्ध भत्तासमेत बाँड्न रोक्ने आशंका गरे ।
© Dainik News Nepal PVT. LTD. All right reserved | Site By : sobij