दैनिक न्युज नेपाल
काठमाडौं । माधव नेपालले गठन गर्नुभएको नेकपा एकीकृत समाजवादीका सर्लाही जिल्ला उपसचिव बीएन गुप्ताले सो पार्टी परित्याग गर्नुभएको छ ।
सर्लाहीको बरहथवा नगर कमिटीको अध्यक्ष समेत रहनुभएको गुप्ताले शनिबारबाट लागु हुने गरी दुवै पद त्याग गरेको बताउनुभएको छ । उहाँले पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको घोषणा गर्नुभएको छ ।
आफूले राजीनामा गर्नुको कारण आत्मागत नभई बस्तुगत रहेको गुप्ताले बताउनुभएको छ ।
एमालेबाट एकीकृत समाजवादीमा जानुको औचित्य हालसम्म राजनैतिक, वैचारिक र सैद्धान्तिक रूपमा पुष्टि हुन नसकेको उहाँको विश्लेषण छ । ‘सैद्धान्तिक रूपमा दुवै पार्टीले जनताको बहुदलीय जनवादलाई मानेको कुरा सर्वविदित नै छ’, उहाँले भन्नुभयो ।
सर्लाही जिल्लामा माधव नेपालका कार्यकर्ता आर्थिक लाभका लागि पार्टीको विधि, पद्धति र प्रक्रियालाई समेत मिचेर दलाल नोकरशाही पुँजीवादलाई टेवा पुग्ने खालका कार्यमा लिप्त रहेको उहाँको आरोप छ । यस्ता क्रियाकलापले आफूलाई स्तब्ध बनाएको उहाँले बताउनुभयो ।
यस्तो अवस्थामा सो पार्टीमा रहनु उचित नरहेको उहाँको निष्कर्ष छ । तसर्थ एमालेले नै नेपाली जनता, समाज र देशको भलो गर्ने ठम्याइ रहेकोले एमालेमा नै फर्किएको उहाँले बताउनुभएको छ ।
© Dainik News Nepal PVT. LTD. All right reserved | Site By : sobij