दैनिक न्युज नेपाल
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको गठबन्धन सरकारमा काम गर्ने क्षमता र दक्षता नभएको बताएका छन्।
जुम्ला र कालिकोट हिँडेका ओलीले बिहीबार बिहान दैलेखको दुल्लुमा आयोजित कार्यक्रममा यस्तो बताएका हुन्।
क्षमता र दक्षता दुवै नभएकाले आफ्नो पालामा थालिएका विकास निर्माणका आयोजना कटौती गरेको आरोप उनले लगाएका छन्।
‘मेरो सरकारले ग्रामीण भेगको विकासमा दुई सय १० वटा सडक शिलान्यास गर्यो। तर यो सरकारको क्षमता नहुँदा कटौती भयो, उनले भने, यो सरकारले ढंग र क्षमता नभएर, काम गर्ने सामर्थ्य नभएर कतिपय आयोजना काटेको छ। चुनावपछि आउने हाम्रो सरकारले विकासे योजना अघि बढाउँछ, स्थानीय तहका मुकामसम्म पुग्ने सडक कालोपत्रे गर्छ।
अध्यक्ष ओलीले आफ्नै सरकारले खरका छानामुक्त अभियान ल्याएको पनि उल्लेख गरे। दैलेखमा पनि धेरै घरबाट खरका छाना हटाएर जस्तापाता लगाएको उनले बताए।
अध्यक्ष ओलीले अहिले पनि केही व्यक्ति अन्य पार्टीमा रहेकाले एमालेको समृद्ध नेपाल सुखी नेपालीको नारा आत्मसात गर्दै सबैलाई एमालेमा समाहित हुन आग्रह गरे।
दैलेखमा पेट्रोलियम पदार्थ रहेको पुष्टी भइसकेको बताउँदै उनले यसले राष्ट्रको विकासमा टेवा पुग्ने बताए।
उनले दैलेखको दुल्लुमा एक हजार वर्षपहिले नै नेपालको राजधानी रहेको इतिहासले पुष्टि गरिसकेको पनि बताएका छन्।
© Dainik News Nepal PVT. LTD. All right reserved | Site By : sobij