logo
बिहिबार, साउन १४ २०८३
  • ट्रेन्डिङ
कार्यकर्तालाई प्रचण्डले भने- ‘आगामी निर्वाचन युद्धको रूपमा लिनू’

कार्यकर्तालाई प्रचण्डले भने- ‘आगामी निर्वाचन युद्धको रूपमा लिनू’


428
SHARES

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले अगामी स्थानीय तहको निर्वाचनलाई युद्धको रूपमा लिन कार्यकर्ताहरूलाई निर्देशन दिएका छन्।

निर्वाचनलाई निर्वाचन मात्र नभई ठूलो लडाइँको रूपमा लिन नेता र कार्यकर्तालाई आग्रह गर्दै उनले यसका लागि योद्धाजस्तै चुनावको तयारीमा जुट्नुपर्ने बताए।

मंगलबार जनकपुरधाममा मधेश प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रचण्डले नेता तथा कार्यकर्तालाई निर्देशन दिँदै भने, “अगामी निर्वाचन अन्य दलको लागि निर्वाचन हो। हाम्रो लागि लडाइँ हो।

लडाइँकै हिसाबले तयारी गर्नुस्। गठबन्धन गरिदिन्छ र चुनाव जितौंला भन्ने मानसिकता बदल्नुस्। पुरै शक्ति लगाएर एकलै कसरी चुनाव जित्ने तिर लाग्नुस्।”

उनले एकलै चुनाव जित्ने तयारी गर्नलाई गठबन्धन विरोधी हो भनेर नबुझ्न पनि आग्रह गरे।

अध्यक्ष प्रचण्डले माओवादी हारे देश नै हार्ने बताए। उनले एमालेप्रति लक्षित गर्दै प्रतिक्रियावादी र अन्तराष्ट्रिय शक्तिहरू माओवादीलाई सिध्याउने हिँसाबले षड्यन्त्र गरिरहेको बताए।

उनले भने, “माओवादीले लडेर नै संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल बन्न सम्भव हुनुको साथै समानुपातिक, समावेशीता लागु भएको हो। यस विरुद्ध प्रतिक्रान्तिकारी शक्ति र विदेशी शक्तिहरू एकजुट भएर उल्टाउन खोज्दैछन्।

माओवादीलाई जसरी पनि सिद्ध्याउने रणनीति बनाएका छन्”, उनले अगाडि भने, “त्यस कारण प्राप्त उपलब्धिहरूको रक्षा गर्न माओवादी जित्नै पर्छ। माआवादी हारे देश हार्छ, सहिदको सपना हार्छ, संघीय लोकतान्त्रिक गणतन्त्र हार्छ।”

कार्यक्रममा माओवादीका स्थायी समिति सदस्य गिरीराजमणि पोखरेल, मातृकाप्रसाद यादव लगायत मधेशका आठवटै जिल्लाबाट अगुवा नेता कार्यकर्ताहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij