दैनिक न्युज नेपाल
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विभाजित भएका कम्युनिष्टहरू हरियो रङ देखेर तर्सेको टिप्पणी गरेका छन्।
स्थानीय तह चुनावको मतपत्रमा चुनाव चिन्हलगायत हरियो रङको छाप्ने निर्वाचन आयोगको निर्णयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आपत्ति जनाएका थिए।
कांग्रेस बचाउन हरियो रङ राख्न खोजिएको ओलीको भनाइ थियो।
आज मोरङको रंगेलीमा बोल्दै ओलीले ‘कांग्रेसको सुकेको बूढो रूख जोगाउन निर्वाचन आयोगले मतपत्र हरियो बनाउने निर्णय गरेछ’ भनेका थिए।
ओलीले कांग्रेसको चुनाव चिन्ह रूख हरियो भएकोले मतपत्रमा चिन्हसमेत हरियो रङको राख्न लागेको हो भन्ने प्रश्नसमेत उठाएपछि कांग्रेस महामन्त्री शर्माले जवाफ दिँदै विभाजित कम्युनिष्ट नेताहरू हरियो रङसँग तर्सिएको टिप्पणी गरेका छन्।
‘विभाजित कम्युनिष्ट पार्टी हरियो रङदेखि तर्सिन्छ,’ आज सानेपामा कांग्रेसले गरेको पत्रकार सम्मेलनमा महामन्त्री शर्माले भने।
कांग्रेस प्रवक्ता प्रकाशशरण महतले पनि हरियो रङसँग नडराउन ओलीलाई आग्रह गरेका छन्। ‘हरियोसँग डराउने भए त जंगल हरियो हुन्छ, के फाँड्ने तरु’ महतको प्रश्न थियो।
तत्कालीन नेकपा पुरानै अवस्थामा अस्तित्वमा आएर नेकपा एमाले र माओवादी केन्द्र भएका थिए भने एमाले विभाजन भएर माधवकुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी गठन भएको थियो।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले हरियो रङ प्रयोग गरेर चहकिलो बनाउन खोजिएको बताए।
‘स्ट्याम प्याड पनि नीलो, चिन्ह पनि नीलो, धर्को पनि नीलो हुँदा जुन खालको स्पष्टता आउनुपर्थ्यो आएन। झलक्क देखिएन। यसलाई चहकिलो बनाउन खोजिएको हो,’ उनले भने।
उनका अनुसार यसपालि विगतको निर्वाचनमा झैं नीलो स्वस्तिक चिन्ह हुनेछ। सेतो कागजको मतपत्रमा निर्वाचन चिन्ह, धर्का, सिरियल नम्बर चाहिँ हरियो हुनेछन्।
© Dainik News Nepal PVT. LTD. All right reserved | Site By : sobij