दैनिक न्युज नेपाल
काठमाण्डौ । सत्तारुढ गठबन्धनले एमसीसी सम्झौतालाई व्याख्यात्मक घोषणासहित संसदबाट पारित गर्ने निर्णय गरेको छ ।
आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले संसदमा टेबल भएको एमसीसी सम्झौतालाई व्याख्यात्मक घोषणासहित संसदबाट पारित गर्ने निर्णय गरेको हो ।
यो सम्झौताको सम्बन्धमा उठेका शङ्काहरुको निवारण गर्दै पारित गर्न लागिएको नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताउनुभयो ।
उहाँले एमसीसी सम्झौता इन्डोप्यासिफिक रणनीतिको अङ्ग नभइ सम्झौतामा नेपालको संविधान नै सर्वोपरि हुने तथा विशुद्ध आर्थिक परियोजना मात्रै भएको कुराहरुलाई समेत संलग्न गराइ आजकै संसद् बैठकबाट पारित हुने बताउनुभयो ।
उहाँले भन्नुभयो- ‘अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कम्प्याक्टलाई व्याख्यात्मक घोषणासहित संसदबाट पारित गर्न हामी सबै सहमत हुने निर्णय भयो ।
व्याख्यात्मक टिप्पणीमा जे कुरा शङ्का उठाइएका थिए तिनलाई क्लियर गर्ने, यो अमेरिकी इन्डोप्यासिफिक रणनीतिको अङ्ग होइन, यो नेपालमा नेपालको संविधान नै सर्वोपरि हुन्छ ।
यो विशुद्ध आर्थिक सहयोग हाम्रो विकासको लागि सहयोगको रुपमा मात्रै यसलाई हामी बुझ्छौँ । मुख्य कुरा यही कुरा गरेर अब त्यसलाई सदनमा उठेका प्रश्नहरुलाई सरकारले जवाफसहित यो व्याख्यात्मक टिप्पणीको साथै यो
सम्झौतालाई सँगसँगै एट्याच गरेर अन्त्यमा प्रस्तुत गर्छ । र अनि सदनले त्यो सहित नै पारित गर्छ । दोस्रो सेसनमा आजै अनुमोदन हुन्छ ।’
वरिष्ठ नेता पौडेलले प्रमुख प्रतिपक्ष दल एमाले सरकारमा रहँदा एमसीसी सम्झौता संसदमा दर्ता भएकाले यसलाई पारित गर्न प्रमुख प्रतिपक्ष दलको पनि सकारात्मक भूमिका हुने बताउनुभयो । सम्झौतालाई राष्ट्रहित राउने कुरामा कटिबद्ध हुँदै वर्तमान सरकारले यस सम्झौतालाई लागू गराउने उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो- ‘प्रमुख प्रतिपक्षी दलको सकारात्मक भूमिका हुन्छ । किनभने प्रमुख प्रतिपक्षी दल नै संसदबाट यो पास गर्ने र अगाडि बढाउने भनेर निर्णय गर्ने प्रमुख प्रतिपक्षी दलकै नेता प्रधानमन्त्री भएको बेलामा यो अगाडि बढेको हो । त्यसकारण उहाँहरु त यसमा पूर्ण रुपमा बाँधिनु भएको छ ।
नेपालको पक्षमा जो प्रष्ट गर्नुपर्ने थियो । त्यसलाई प्रष्ट गरेर यो सरकार अगाडि बढ्छ । त्यसकारण उहाँहरुले गरेको भन्दा पनि अझ राष्ट्र हितमा यो सन्धिलाई गराउने कुराको कटिबद्धता आफ्नो व्यक्त गर्दै अगाडि बढेर यो सम्झौतालाई लागू गर्छ ।’
प्रतिनिधि सभा बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ ।
© Dainik News Nepal PVT. LTD. All right reserved | Site By : sobij