दैनिक न्युज नेपाल
काठमाडौं । नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको बहिर्गमनको सम्बन्धमा राजनीतिक दलहरूले आफ्नो निर्णय गर्नुपर्ने बताएका छन्।
मंगलबार बार एसोसिएसनले सर्वोच्च अदालतमा आयोजना गरेको विरोधको कार्यक्रमपछि बार एसोसिएसनको भवन परिसरमा सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबराको बहिर्गमनको लागि सबै राजनीतिक दलहरूलाई बारले आग्रह गरेकाले यस सम्बन्धमा दलहरूले आफ्नो निर्णय गर्नुपर्ने बताए।
राजनीतिक दलहरू न्यायपालिकामा भइरहेको विवादको सम्बन्धमा मुकदर्शक भएर बस्न नमिल्ने उनको भनाइ छ।
भ्रष्टाचारमुक्त न्यायपालिका बनाउनका लागि राजनीतिक दलहरूले पहल गर्नुपर्ने उनले बताए।
उनले भने, ‘नेपाल बार एसोसिएसनले उहाँको बहिर्गमनको लागि हामीले १७ बुँदा विभिन्न दलहरूलाई पनि दिइसकेका छौं। प्रधानमन्त्रीदेखि लिएर प्रतिपक्ष दलका नेता, सबैका संसदीय दलका नेताहरूलाई हामीले दिइसकेका छौं।
उहाँहरूले यो विषयमा आफ्नो निर्णय गर्नुपर्दछ। मुकदर्शक भएर बस्नु भनेको न्यायपालिकालाई भ्रष्टाचारमा डुबाइराख्ने उहाँहरूको उद्देश्य हो भने त्यही अनुसार भन्नुपर्यो। होइन भने न्यायपालिकालाई भ्रष्टाचारमुक्त न्यायपालिका बनाउनको लागि उहाँहरूले पहल गर्नुपर्दछ। नेपाल बार एसोसिएसनको सम्पूर्ण कानुन व्यवसायीहरूको आह्वान हो।’
अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबराले आफू नांगिएको कुरा स्वीकार गरिसकेको दाबी गरे।
प्रधानन्यायाधीश नांगिँदैमा न्यायपालिका नसप्रने र न्याय प्रशासन चल्न नसक्ने उनले बताए।
न्यायपालिकालाई नांगिन नदिनका लागि प्रधानन्यायाधीशले पदबाट राजीनामा दिनुपर्ने उनले बताए।
उनले भने,‘उहाँ नांगिँदैमा न्यायपालिका सप्रिन्छ ? न्यायपालिकाको प्रशासन यो ढंगबाट चल्न सक्छ ? के हामी यो चाहन्छौं ? उहाँ नांगिनुभएको छ भने घरमा गएर नांगिनुस्।
न्यायपालिकालाई नांगिन नदिनुस्। तपाईंले राजीनामा गर्नुस्। बहिर्गमन हुनुस् भन्नेकुरा हामीले उहाँलाई अनुरोध गर्दै आएका छौं।’
केही दिनदेखि स्थगन भएको बार एसोसिएसनको आन्दोलन पुनः सुरू भएको छ।
मंगलबार कानुन व्यवसायीहरूले नाराबाजीसहित सर्वोच्च अदालत पुगेर प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग गर्दै विरोध प्रदर्शन गरेका हुन्।
प्रधानन्यायाधीश जबराले राजीनामा नदिएसम्म विरोधको कार्यक्रम जारी रहेको नेपाल बार एसोसिएसनले जनाएको छ।
© Dainik News Nepal PVT. LTD. All right reserved | Site By : sobij