दैनिक न्युज नेपाल
काठमाडौं। नेकपा एमालेका स्थायी समिति सदस्य शंकर पोखरेलले नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्नु गल्ती भएको बताएका छन्। शनिवार एमाले बाँके जिल्ला समितिको १७ पूर्ण बैठकमा पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आधार बनाएर पार्टी एकता गर्नु सबैभन्दा ठुलो कमजोरी भएको बताए।
‘प्रचण्डकै कारण मुलुकमा अहिलेको अस्थिरता पैदा भएको हो,’ उनले भने, ‘आजको परिणामको प्रमुख कारक प्रचण्ड नै हुन्।’ प्रचण्डमा रहेको अस्थिरता, अवसरवाद, महत्वाकांक्षा जस्ता कुरा नै नेपालको राजनीतिको अस्थिरताको कारण भएको पोखरेलको भनाई छ। उनले प्रतिनिधिसभा विघटन कारण नइ नेकपा विवादको परिणाम भएको बताए।
उनले भने, ‘कतिपयले नेकपा भित्रको विवाद प्रतिनिधिसभा विघटनका कारण भन्छन्। त्यो गलत हो। त्यसभन्दा पहिले नै नेकपामा विवाद सुरु भइसकेको थियो। प्रतिनिधिसभा विघटन कारण नभई परिणाम हो।’ पोखरेलले आफू नेतृत्वको प्रदेश सरकार स्वार्थ र अवसरवादका कारण ढलेको बताए। तर उनले जनताको मनमा आफूले राम्रो छाप छोडेको आशय व्यक्त गर्दै अब त्यो कसैले पनि भत्काउन नसक्ने दाबी गरे।
‘प्रदेशमा हामीले बसालेको जग अब कसैले भत्काउन सक्ने वाला छैन,’ पोखरेलले भने, ‘प्राविधिक रूपमा नेतृत्व खोसिएको भए पनि जनताको मनमा र विश्वासमा हामीहरूले नेतृत्व कायम गरिसकेका छौं।’
© Dainik News Nepal PVT. LTD. All right reserved | Site By : sobij