दैनिक न्युज नेपाल
काठमाडौं। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्वस्थ चुनावी प्रतिस्पर्धामा उत्रिन राजनीतिक दलहरूलाई आग्रह गरेका छन् ।
बडादसैँ, नेपाल संवत्, तिहार, छठलगायत चाडपर्वका अवसरमा आज गृहजिल्ला झापाको बिर्तामोडमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले अस्वस्थ प्रतिस्पर्धा लोकतान्त्रिक अभ्यास नहुने बताएका हुन् ।
“हामीले लडेर ल्याएको व्यवस्था नै बहुदलीय प्रतिस्पर्धा हो”, उनले भने,“प्रतिस्पर्धा स्वस्थ भएन भने त्यो लोकतान्त्रिक राजनीति हुँदैन ।” उनले दलहरुबीच राष्ट्रिय एकता र बहुदलीय प्रतिस्पर्धाको गरिमा कायम राख्ने विषयमा एकता हुनुपर्ने धारणा व्यक्त गरे ।
एमाले अध्यक्ष ओलीले शुभकामना मन्तव्यका क्रममा दसैँको सांस्कृतिक, सामाजिक र पौराणिक महत्वका विषयमा चर्चा गर्दै मान्यजनबाट आशीर्वाद ग्रहण गर्ने, नारी शक्तिको उपासना गर्ने र असत्यलाई पराजित गर्ने सन्देश दिने चाड अरू मुलुकमा नभएको बताए ।
उनले २०५१ सालदेखि गृहजिल्लामा दसैँको महानवमीका अवसर पारेर शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्दै आएका छन् ।
सो अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाई , नेकपा माओवादीका युवा नेता रञ्जीत तामाङ, जनता
समाजवादी पार्टी झापा अध्यक्ष दीपेनबाला राईलगायत विभिन्न राजनीतिक पार्टीका नेता, नेकपा एमालेका नेता, उद्योगी, व्यवसायी र पेसाकर्मीहरुको उपस्थिति रहेको थियो ।
© Dainik News Nepal PVT. LTD. All right reserved | Site By : sobij