दैनिक न्युज नेपाल
काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेत जसपा संघीय परिषद् संयोजक पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईमाथि खनिएका छन् ।
हेटौंडामा बिहीवार प्रेस चौतारी मकवानपुरले गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता बस्नेतले एमाले पार्टी र अध्यक्ष केपी शर्मा ओलीलाई हिटलर भनेको भन्दै बाबुराममाथि खनिएका हुन् ।
उनले मान्छेलाई जिउँदै लगाएर मार्नेले एमाले र ओलीलाई अधिनायकवादी र हिटलर भन्नु ठिक नभएको टिप्पणी गरे ।
नेता भट्टराईले सामाजिक सञ्जालमा एमाले अध्यक्ष ओलीलाई ८ माघमा हिटलरको संज्ञा दिँदै एक पोस्ट गरेका थिए ।
उनले ओलीलाई हिटलर भनेपछि गोकुल बाँस्कोटालगायतका नेता प्रतिवादमा उत्रिएका थिए ।
भट्टराईले एमालेलाई बहुदलीय जनवादको खोलभित्र एकदलीय सर्वसत्तावादको अभ्यास गर्ने नवफासिवादी तत्त्वको संज्ञा दिएका थिए ।
‘क्रान्तिका नाममा जनताका छोराछोरी र एमाले कार्यकर्तालाई होलेरी, बाँदरमुँडेमा जिउँदै जलाएर र बम पड्काएर हत्या गर्नेले एमाले र ओलीलाई अधिनायकवादी र हिटलर भन्ने ?’ बस्नेतले भने, ‘होलेरीमा ८-९ जना साथीहरुलाई घरभित्र जलाएर मारेको उहाँको कालो इतिहास छ ।
बाँदुरमुँडेमा सयौं जना यात्रुलाई बम पड्काएर मारेको इतिहास छ । असंख्य मान्छेको हत्या गरेर उहाँहरु नै एमाले र ओलीलाई अधिनायकवादी भयो हिटलर भयो भनेर ठूला कुरा गर्छन् ।’
आफ्नै पार्टीकी मन्त्री रेणु यादवले खुलमखुल्ला हत्या गर्ने भाषण गर्दा पनि पार्टीको धारणा आएको छैन भन्ने बाबुरामले एमाले र ओलीलाई अधिनायकवादी र हिटलर भनेर कुतर्क गरेको बस्नेतको आरोप छ ।
‘बाबुराम भट्टराईको ताकत, शक्ति र हिम्मत भए र उनको पार्टीको त्यो खालको पहुँच र शक्ति भएको भए उनी नेपालका हिटलरका दोस्रो अवतारका रुपमा प्रकट हुन्थे ।
उनी त किन चाउरिस मरिच आफ्नै रागले भनेजस्तो चाउरिएर गोरखाको एउटा क्षेत्रमा कांग्रेस र एमालेको सहारामा चुनाव जित्नु पर्ने भएर मात्रै मिठो कुरा गरेका हुन्,’ बस्नेतको आरोप थियो ।
© Dainik News Nepal PVT. LTD. All right reserved | Site By : sobij