दैनिक न्युज नेपाल
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अहिलेको आधुनिक नेपाल पृथ्वीनारायण शाहकै कारण सम्भव भएको बताएका छन्।
पृथ्वीनारायणको ३०० औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा मंगलबार आफ्ना धारणा सार्वजनिक गर्ने क्रममा उनले यस्तो भनेका हुन्।
उनले पृथ्वीनारायणको अभियानको मुख्य उद्धेश्य गोर्खा राज्यको विस्तार वा नेपाल एकीकरण जुन कोणबाट पनि बहस गर्न सकिने बताउँदै तर अहिलेको उपलब्धि उनकै कारण सम्भव भएको पनि उल्लेख गरेका छन्।
‘पृथ्वीनारायण शाहको अभियानको मुख्य उद्देश्य गोर्खा राज्यको विस्तार थियो वा नेपाल एकीकरण भन्ने सन्दर्भमा जुन कोणबाट पनि बहस गर्न सकिन्छ’, उनले भनेका छन्, ‘तर जे गर्न चाहेको भए तापनि त्यो अभियानले आधुनिक राज्यका लागि आवश्यक वृहत्तर भौगोलिक इकाइ दिएको कुरा कसैले इन्कार गर्न मिल्दैन।’
उनले पृथ्वीनारायणकै योगदानका कारण प्राप्त नेपाली भूगोल अहिलेको सत्य भएको पनि बताएका छन्। ‘आज हामीसँग नेपालको जुन भौगोलिक इकाइ प्राप्त छ, यो पृथ्वीनारायण शाहको अभियानको परिणाम नै होु, उनले भनेका छन्।
महामन्त्री थापाले राष्ट्र निर्माणका विभिन्न चरण हुने बताउँदै पहिलो भनेको भौगोलिक एकीकरण नै हुने पनि बताए।
‘कुनै पनि राष्ट्र निर्माणका विभिन्न चरण हुन्छन्। पहिलो चरण भौगोलिक एकीकरण नै हो। भौगोलिक एकीकरणपछि प्रजातान्त्रिक अधिकारहरूको विस्तार र समुन्नतिका चरण आउँछन्ु, उनले थपेका छन्, ुयसरी हेर्दा पृथ्वीनारायण शाह निःसन्देह नेपाल राष्ट्र निर्माणको पहिलो चरणका कर्ता हुन्।ु
उनले पृथ्वीनारायणको यो भूमिकालाई स्वीकार गर्दा उनका सन्ततिले गरेका जनघातको स्वीकारोक्ति हुन्छ भन्ने डर मान्नु आवश्यक नहुने पनि बताएका छन्।
‘पृथ्वीनारायणका सन्ततिहरुले गरेका वा नगरेका कामहरूको कसीमा राखेर उनको अधिमूल्यन वा अवमूल्यन गर्नु नै सही हुने रहेछु, उनले थपेका छन्, ‘हामीले कहिलेकाहीँ तत्कालीक घटनाबाट प्रेरित भएर इतिहासलाई वर्तमानको आँखाबाट हेर्ने गर्दा रहेछौं। त्यो पनि न्यायसंगत नहुन सक्छ। त्यसैले त्यो समय र सन्दर्भको आलोकमा इतिहासको त्यो योगदानको मूल्याङ्कन गर्नुपर्छ।’
थापाले ३००औँ पृथ्वी जन्मजयन्तीको अवसरमा उनलाई सम्मानपूर्वक उहाँलाई सम्झिँदै अहिलेको संविधानको जगमा नेपालका सबै नेपालीलाई एकीकृत र संगठित गर्दै जाने प्रण गर्न पनि अपिल गरेका छन्।
© Dainik News Nepal PVT. LTD. All right reserved | Site By : sobij