logo
बिहिबार, साउन १४ २०८३
  • ट्रेन्डिङ
केपी ओली पूर्वराजा ज्ञानेन्द्रका ‘खेताला’ हुन्ः रामनारायण बिडारी

केपी ओली पूर्वराजा ज्ञानेन्द्रका ‘खेताला’ हुन्ः रामनारायण बिडारी


568
SHARES

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का नेता एवं सांसद रामनारायण बिडारीले एमाले अध्यक्ष केपी शर्मा ओली पूर्वराजा ज्ञानेन्द्रका खेताला भएको आरोप लगाएका छन् ।

नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसमा  पूर्वराजा ज्ञानेन्द्रसँग माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गरेको पाँचबुँदे सहमतिमा के छ भन्ने प्रश्न गर्दा नेता बिडारीले भने, “प्रचण्डले पूर्वराजा ज्ञानेन्द्रसँग कुनै सहमति गर्नुभएको छैन ।

नेपालमा केपी शर्मा ओली झुटलाई सत्य साबित गर्न, जनतालाई झुक्याउन र भ्रम पार्न माहिर हनुहुन्छ । उहाँले बोलेका प्रायः कुरा झुटा नै हुन्छन् । जनयुद्धका बेला केपी ओली राजा ज्ञानेन्द्रका खेताला हुन् । माओवादीजस्तो क्रान्तिकारी पार्टीका तर्फबाट जनयुद्ध हाँकेको जननायक प्रचण्डले त्यस्तो गर्ने कुरै आउँदैन ।

उहाँले त बरु म खेताला, नोकरचाकरसँग, जुत्ताको तलुवासँग कुरा गर्दिनँ, तिम्रा मालिकसँगै कुरा गर्छौं, ओपन्ली भन्नुभएकै थियो । यिनीहरु त राजतन्त्र टिकाउनका लागि क्रान्तिकारी नेताको टाउको काटेर झोलामा ल्याऊ लाखौं लाख दिन्छौं भन्थे ।”

तपाईंहरु व्यक्तिहत्या, राजनीतिक दलको गतिविधि निषेधमा लाग्नुभएको थियो । ज्ञानेन्द्रको अभिनन्दनमा केही गर्नुहुन्नथ्यो, हिसिला यमीको किताबमा बाँदरमुढे घटनापछि प्रचण्ड गणतन्त्रवादी भएको भनेर लेखिएको छ नि भन्ने पत्रकार धमलाको प्रश्नमा बिडारीले भने, “तत्कालीन माओवादी राजा ज्ञानेन्द्रसँग नलडे पनि ज्ञानेन्द्रको शाही सेनासँग लडिरहेको थियो ।

जनवादी, समाजवादी प्रणालीमा जे माग हुन्छ, माओवादीको माग त्यही हो । प्रचण्डको आलोचना गर्ने भए बरु कम्युनिस्टका निम्ति युद्ध गर्नुभएको थियो, पुँजीवादी व्यवस्थामा सम्झौता गर्नुभयो भनेर गर्न सकिएला । दुइटा शक्तिले एकअर्कालाई जित्न नसकेको अवस्थामा सम्झौता भएको हो ।

खाइपल्केका एमालेका केपी ओलीजस्ता कपुतहरुलाई संविधानसभामार्फत संविधान, गणतन्त्र, समावेशी सिद्धान्तमा सहमत गराउनु प्रचण्डको सफलता हो । जनयुद्ध नभएको भए विद्यादेवी भण्डारी राष्ट्रपति हुने कुरा कल्पना थिएन ।

ओलीहरु त राजाको ताबेदारी भएर राजतन्त्र चाहिन्छ भन्ने मान्छे हुन् । कमल थापा नै गणतन्त्रवादी भइसकेपछि ओली हुनु कुन ठूलो कुरा हो र ?” सुधारिएको लोकतन्त्रमार्फत साम्यवाद र समाजवादतिर जान पक्षमा माओवादी रहेको पनि उनले बताए ।

माओवादीको राष्ट्रिय सम्मेलनमा युवाहरुको प्रतिनिधित्व कति हुन्छ भन्ने प्रश्नमा उनले थपे, “माओवादीको राष्ट्रिय सम्मेलनमा सबै पदमा जान प्रतिस्पर्धा भएको छ । २० प्रतिशतभन्दा बढी युवा र ३५ प्रतिशत कम नहुने गरी महिला प्रतिनिधित्व हुन्छ । केन्द्रीय जनवादी नीतिअनुसार वडादेखि केन्द्रसम्म प्रतिस्पर्धा छ ।”

 

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij