दैनिक न्युज नेपाल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमाले विभाजित भएसँगै वरिष्ठ नेता माधवकुमार नेपालको गृह जिल्ला रौतहटमा पार्टी कार्यकर्ताहरु कसको पक्षमा छन् भन्ने कुरा अन्योलमा रहेको छ। जिल्लामा नेपाल पक्षमा लागेका नेताहरू पनि पार्टी विभाजनपछि अलमलमा रहेका छन्।
रौतहटमा माओवादी केन्द्रसंग गठबन्धन हुनु भन्दा पहिला नेकपा एमालेमा ८१ सदस्य जिल्ला कमिटि रहेको थियो। जसमा माधव पक्षमा ५० सदस्य र संस्थापन पक्षमा ३१ सदस्य रहेको नेकपा जिल्ला कमिटि सदस्य शिव आचार्यले बताए। जिल्लाबाट केन्द्रीय सदस्यमा नेकपा एमालेका जिल्ला ईञ्चार्ज लालबाबु यादव संस्थापन पक्षमा छन भने कल्याणी कुमारी खड्का र सरला कुमारी यादव माधन पक्षमा रहेका छन्। त्यस्तै नेकपा एमालेको प्रदेश कमिटी सदस्यमा रौतहटबाट संस्थापन पक्षमा ९ जना र माधव पक्षमा ७ जना रहेको नेकपा एमाले प्रदेश कमिटि सदस्य उद्धब रेग्मीले बताए ।
यता विगतमा माओवादी केन्द्रमा रहेका पूर्वमन्त्री प्रभु साहको पक्षमा ६ जना प्रदेश कमिटि सदस्य रहेका छन्। प्रभु साह र उनि निकट नेताहरु पनि नेकपा एमालेको संस्थापन पक्षमै बस्ने विश्वास संस्थापन पक्षको रहेको छ। नेकपा एमाले संस्थापन पक्ष प्रदेश कमिटि सदस्यमा उद्धव रेग्मी, अब्दुल कलाम आजाद, दिलिप साह, सचितानन्द साह, जय चन्द्र पटेल, कपिलदेब पटेल, गुलाम सरवर र माधब नेपाल पक्षका महेन्द्र चौलागाई, जयरानी देवि सहनि, कमलेश झा, शम्भु साह, हरिनारायण यादव, गिरिधारी मिश्र रहेको बुझिएको छ। विगतमा माधवकुमार नेपालको समर्थनमा रहेका नेताहरू नयाँ पार्टीको पक्षमा नखुलकोे, अलमलमा रहेको र ढिलो चाडो संस्थापन पक्षमै आउने रेग्मीले बताए।
सर्वोच्च अदालतले नेकपा एकता बदर गर्दै गत फागुन २३ मा एमाले ब्युताए पछि विभिन्न राजनीतिक र सांगठनिक मुद्दामा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपाल बीच बढ्दै गएको मतभेद विभाजन सम्म पुगेको हो। एमालेको विभाजन पछि ओली र नेपालबीचको पाँच दशक लामो सहकार्यमा सम्बन्ध विच्छेद भएको छ।
नेकपा एमालेबाट चुनाव जितेका सानो संख्याका वडा अध्यक्षहरु को कता जालान त्यो चासोको विषय बनेको छ। नेकपा एमालेबाट स्थानीय तहको सबै भन्दा ठूलो पदमा चुनाव जितेकी एक मात्र चन्द्रपुर नगरपालिकाकी उपमेयर रामरती चौधरी माधव नेपालले खोलेको पार्टीमा जाने आंकलन गरिएको छ। राम कुमार भट्टराई ,लक्ष्मण रेग्मी,कमल यादव शम्भु साह लगाएतका नेता माधव नेपालको पार्टीमा रहनेछन्। यतीबेला समान्य कार्यकर्ता समेत दोधारमा रहेका छन्। जिल्लामा एमालेका धेरै नेता तथा कार्यकर्ताहरु पर्ख र हेर को रणनीतिमा रहेका छन्।
© Dainik News Nepal PVT. LTD. All right reserved | Site By : sobij