दैनिक न्युज नेपाल
काठमाडौं । नेकपा एमालेले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गर्न सभामुखमाथि दबाव बढाएको छ ।
एमाले सांसदहरु शुक्रबार पनि सभामुख अग्नि सापकोटाको कार्यकक्षमा पुगे । उनीहरु डेढ घण्टा बस्दा पनि सभामुख सापकोटा भने आएनन् । सभामुख नआएपछि सचेतक शान्ता चौधरीले सभामुख सापकोटालाई फोन गरेकी थिइन् ।
सभामुख सापकोटाले भने आज बाहिर रहेकाले शुक्रबार संसदमा नआउने जानकारी गराएका छन् । ‘उहाँले मेरो पूर्व सभामुख सुवास नेम्वाङसँग कुराकानी भएको छ, थप दबाव दिनु परेन । जतिसक्दो छिटो निर्णय गर्छु भन्नुभयो,’ एमाले सांसद महेश बस्नेत भन्छन्, ‘डेढ घण्टा धर्ना बस्दा पनि उहाँ नआएपछि हामी हिंड्यौं ।’
एमालेले माधवकमार नेपालसहित १४ सांसदलाई कारबाही गर्दै पदमुक्त गर्न पत्र लेखेको थियो । तीन दिनसम्म पनि पदमुक्त नगरेको भन्दै एमाले नेताहरुले बिहीबार पनि सभामुखलाई भेटेर दबाव दिएका थिए । अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक मञ्चबाटै सभामुख सापकोटालाई पार्टीको कार्यकर्ता बन्ने भए सभामुखबाट राजीनामा दिनुपर्ने बताएका थिए ।
एमालेले माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाही गरेर भदौ १ गते नै संसद सचिवालयमा जानकारी गराइसकेपनि सभामुखले अहिलेसम्म दल त्यागको सूचना जारी नगरेको भन्दै एमाले रूष्ट छ ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ २७ गते प्रतिनिधिसभामा विश्वासको मत लिन खोज्दा विश्वासको मत नदिएर ह्वीप उल्लंघन गरेको भन्दै एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल, सांसदहरु जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, लक्ष्मी चौधरी, निरादेवी जैरु, पुष्पाकुमारी कर्ण, सरला यादव, कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ र मेटमणि चौधरीलाई दल त्यागको कारबाही गरेको सूचना संसदमा दिएको थियो ।
© Dainik News Nepal PVT. LTD. All right reserved | Site By : sobij