दैनिक न्युज नेपाल
काठमाडौं। नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवालीले आफूहरू नेकपा ९एमाले० भित्रै बसेर ओली प्रवृत्तिका विरुद्ध संघर्ष गर्ने बताएका छन्। बुधबार माधवकुमार नेपालको नेतृत्वमा एमाले समाजवादी दर्ता भएपछि नेपालनिकट मानिने नेता ज्ञवालीले उक्त कुरा बताएका हुन्।
उनले आफूले माधव कुमार नेपाललाई धोका नदिएको स्पष्ट पारेका छन्। उनले आफूहरुको अध्यक्ष केपी शर्मा ओलीसँग ठूलो मतभेद रहेको सुनाए। उनले ओलीले संसद् विघटन गरेर प्रतिगमन गरे पनि अहिले आफूहरुले सहकार्य गरेको स्पष्ट पारेका छन्।
बिहीबार बिहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा उनले हिजो ओलीले संविधान मिच्ने काम गरेकोले आलोचना गरिएको सुनाए। उनले आफूहरु पार्टीभित्रै बसेर अन्तरसंघर्ष गर्ने पक्षमा पुगेको विश्वास दिलाए।
उनले आफूहरु एमालेभित्रै अन्तरसंघर्ष गर्नुपर्ने पक्षमा उभिएको पनि सुनाए। उनले माधव नेपालकै सहमतिमा दश बुँदे सहमति गरिएको पनि दाबी गरे। उनले भने, ‘अध्यक्ष नपाएको कारणले पार्टी विभाजन गर्ने कुरा गलत हुन्छ। दश बुँदे सहमतिमा टेकेर अघि बढ्न सकिन्छ। त्यहीँभित्र अन्तरसंघर्ष गरौं भन्ने हाम्रो विचार थियो। मैले यो कुरा पार्टीका धेरै बैठकहरुमा कुरा राखेको छु। हिजोमात्रै पनि मैले उहाँसँग कुरा गरेको थिएँ। तर, उहाँले म अगाडि बढें भन्नुभयो। हिजै दल दर्ता गरिसक्नुभयो।’
त्यस्तै एमालेका सचिव भीम आचार्यले पार्टी एकताको लागि आफूहरुले धेरै मेहनत गरेको भए पनि नेताहरुको इगोको कारण पार्टी विभाजन भएको स्पष्ट पारेका छन्। प्राइम टिभीमा दिएको एक अन्तर्वार्तामा उनले यस्तो बताएका हुन्।
उनले भने, “माधव नेपालले दश बुँदे सहमति मान्नुभएन। तर हामीले उहाँकै सहमतिमा दश बुँदे प्रतिवेदन तयार पारेका थियौं। उहाँको मनशाय पार्टी फुटाउने रहेछ। पार्टी फुट्नुमा अध्यक्ष केपी शर्मा ओली र माधव नेपाल दुवै आ–आफ्नो ठाउँमा दोषी छन्। फागुन २८ गते केपी ओलीले एक्लै निर्णय गरेर एमाले भनेर निर्णय गर्नुभयो, वास्तवमा फुटको विउ त्यहाँ रोपियो। हामीले मिलाउँदै मिलाउँदै लगेर दश बुँदे सहमति गरेका थियौं। हामीले माधव नेपाललाई कसरी धोका दियौं रु माधव नेपाल, केपी ओली, झलनाथ खनाल जसलाई पनि हामीले साथ दिने भनेको अनुहार हेरेर होइन, एजेण्डाको आधारमा हामी छौं। पार्टी फुटाउने एजेण्डा हाम्रो होइन।”
उनले आफूहरु केपी ओलीको पिछलग्गु नभएको पनि जिकिर गरे। उनले केपी ओली र माधव नेपालको मात्रै एमाले नभएको जिकिर गर्दै आफूहरूले एमालेको विरासत धान्नेसमेत बताएका छन्।
© Dainik News Nepal PVT. LTD. All right reserved | Site By : sobij