दैनिक न्युज नेपाल
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीलाई अब क्रान्तिकारी रुपान्तरण गरेर अघि बढ्ने बताएका छन् । पार्टीका जनवर्गीय संगठनले मंगलबार जुम प्रविधिबाट गरेको छलफल कार्यक्रममा बोल्दै नेता नेपालले अब नयाँ ढंगले अघि बढ्ने अवस्थामा पुगेको बताउँदै निराश नभई देशभर संगठन विस्तारमा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिए ।
उनले आफू एमालेमा एकता गर्न तयार भएपनि अध्यक्ष केपी ओलीले ढोका बन्द गरेको बताए ।
ओलीले वार्ता गर्न भन्दै वार्ता टोली बनाएर नाटक गरेको उनको आरोप थियो । पार्टीको केन्द्रीय समितिमा २ सय २ जना रहेकोमा आज पार्टीको संख्या २ सय ६० पु¥याएको र आफू लगायत १४ जनालाई निकालिएको खबर आएको बताए ।
उनले आज पार्टी एकताका लागि अन्तिम प्रयासका रुपमा घनश्याम भुसाललाई ओलीलाई भेट्न पठाएपनि ओलीले कारवाही गरेको कुरा आएको बताए ।उनले भने–‘कमरेड घनश्याम भुसालले एकताको लागि अन्तिम प्रयास गरौं भनेर आउनुभएको थियो । अहिलेसम्म ओलीले गरेका सबै निर्णय फिर्ता भयो भने पार्टी एकता गर्नुहुन्छ भन्दा मैले हुन्छ भनेर भुसाललाई पठाएको थिएँ । साढे २ बजे घनश्याम भुसाल ओलीलाई भेटन जानुभएको थियो । तर अहिले त कारवाही गरिसक्नुभएछ । उहाँले माधव नेपाल लगायतका लागि पार्टीको ढोका बन्द भएको बताइसक्नुभएको छ । उहाँ आफैले सहमतिको ढोका बन्द गर्नुभएको छ ।’
उनले ओलीले आफै ढोका बन्द गर्ने र पार्टी विभाजन गर्न लागेको दोष लगाएको उल्लेख गरे । अहिले तत्काल अरु कुनै पार्टीसँग एकता हुने अवस्था नरहेको बताउँदै पार्टी एकताको ढोका सधैं खुला हुने प्रष्ट पारे । साथै आगामी चुनावमा तालमेल गरेर वा छुट्टाछुट्टै जान सकिने पनि उल्लेख गरे ।
उनले अब पार्टीलाई क्रान्तिकारी संगठनमा रुपान्तरित गरिने र प्रत्येक स्थानीय तह, प्रदेशमा पार्टी संगठन बिस्तार अभियानमा लाग्न नेता कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् ।
© Dainik News Nepal PVT. LTD. All right reserved | Site By : sobij