logo
बिहिबार, भाद्र २ २०७९
मनाङवासीलाई गृहमन्त्री खाँणले भने ‘तपाईंहरुको घर सरकारले बनाउँछ, नआत्तिनुस’

मनाङवासीलाई गृहमन्त्री खाँणले भने ‘तपाईंहरुको घर सरकारले बनाउँछ, नआत्तिनुस’


308
SHARES

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले मनाङको बाढीपहिरोग्रस्त क्षेत्र निरीक्षण गर्दै राहतमा सरकारले कुनै कसर बाँकी नराख्ने बताएका छन् ।

उनले बाढीपहिरोबाट क्षतिग्रस्त घर सरकारले बनाइदिने आश्वासनसमेत दिएका छन् ।

नेपाली सेनाको भीआईपी हेलिकप्टरमार्फत बिहीबार मनाङको चामे र तालबजार पुगेका उनले क्षतिग्रस्त हिमाली जिल्लाका घर निर्माणका लागि सरकारले लाभग्राहीलाई ५ लाख रुपैयाँका दरले रकम दिने बताए ।

‘विपद व्यवस्थापन कोषमार्फत बजेट छुट्याइएको छ । दसैंअगावै सबैको लगत संकलन गरी सिफारिस गर्नुस्’, चामेमा प्रमुख जिल्ला अधिकारी साथै जनप्रतिनिधिलाई निर्देशन दिँदै उनले भने ।

बाढीपहिरो पीडितलाई भेटेपछि चिन्तित देखिएका उनले नसोंचेको क्षति बेहोर्नु परेका मनाङवासीलाई आश्वासन दिँदै भने, ‘तपाईंहरुको घर सरकारले बनाउँछ । नआत्तिनुस्, प्रक्रियामा केही ढिलाई भए पनि चाँडै हुन्छ ।’

मर्स्याङ्दी नदीको बाढीले डुबानमा परेको तालबजारलाई व्यवस्थित गर्नेतर्फ ध्यान गएको र तत्कालै प्राविधिक खटाउने आश्वासन दिए । गृहमन्त्रीसँगै मनाङ पुगेका पूर्वराज्यमन्त्री टेकबहादुर गुरुङका अनुसार गृहमन्त्री खाँणले तालबजारलाई व्यवस्थित बनाउने योजना अघि सार्ने आश्वासन दिएका छन् ।

‘तालबजार सबै डुबेको छ । प्राविधिक टोली खटाएर विस्तृत अध्ययन प्रतिवेदन तयार पार्ने र प्रतिवेदनको आधारमा पुनस्निर्माण कार्य अघि बढाउने गृहमन्त्रीज्यूले आश्वासन दिनु भएको छ’, उनले भने । उनका अनुसार गृहमन्त्री खाँणले पुनस्निर्माण कार्यका लागि दसैंअगावै प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ ।

गृहमन्त्री खाँणले बेंसीसहर–चामे सडक मर्मत भएको जानकारीमा आएको तर, सवारी साधन चल्न गाह्रो परेको गुनासो आएकाले सडक विभागलाई छिटो सहज बनाउन निर्देशन दिएको पूर्वराज्यमन्त्री गुरुङले बताए । उनका अनुसार सेनाको उक्त हेलिकप्टर १ हजार २ सय फिटमाथि नउड्ने भएकाले माथिल्लो मनाङ जाने कार्यक्रम भने रद्द भयो ।

प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद आचार्यका अनुसार गृहमन्त्री खाँणले मनाङमा बाढीपहिरोले पुर्‍याएको क्षतिबारे भौगर्भिक अध्ययन हुनुपर्ने बताएका छन् । ‘यहा्ँको माटो कमलो र भित्र झन् कमलो भएको देखिन्छ ।

समस्याको दीर्घकालीन समाधानका लागि भौगर्भिक अध्ययन हुनुपर्छ, त्यो गराउँछु’, गृहमन्त्रीको भनाइ उद्धृत गर्दै प्रजिअ आचार्यले भने । उनले नागरिकको सेवा, विपद् र सुरक्षामा खटिन गृहमन्त्री खााडले निर्देशन दिएको बताए ।

गत जेठ १४ र ३१ पछिको बाढीपहिरोका कारण मनाङका १ सय १० घरमा पूर्ण क्षति पुगेको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ । ४७ घर आंशिक क्षति भएका छन् । पूर्ण क्षति भएकालाई सरकारले ५ लाख र आंशिक क्षति भएकालाई मर्मतका लागि ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।

यसमा नासों गाउँपालिका १, तालबजारका केही वासिन्दाले भने स्थानान्तरणको माग गरेका छन् ।

नासों गाउँपालिका १ का अध्यक्ष झलकबहादुर गुरुङका अनुसार धेरैले स्थानान्तरणको माग गरेका छन् । केहीले घर बनाइदिन माग गरेका छन् । केहीले सरकारले रकम उपलब्ध गराए अर्को ठाउँमा घर बनाउने आश्वासन दिएका छन् ।

‘बाढीपहिरो गएको ४ महिना बित्नै लाग्यो । जनताले सरकारबाट पाउने राहत छिटो दिन माग गरेका छन्’, उनले भने । उनका अनुसार बाढीपहिरोका कारण तालबजार डुबेको छ । विद्यालय, प्रहरी चौकी, वडा कार्यालय सबै डुबेको उनले बताए ।

मनाङमा यसअघि माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल, उर्जामन्त्री पम्फा भुसाल, गण्डकी प्रदेश मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले २ पटक निरीक्षण गरिसकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार