आइतबार, कार्तिक ७ २०७८

तार व्यवस्थित गर्न पोल भाडा बढाइएको होः कुलमान घिसिङ


  • दैनिक न्यूज नेपाल
  • मंगलबार, असोज १२ २०७८
470
SHARES

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले पोलमा रहेका तारलाई व्यवस्थित गर्नका लागी पोल भाडा बढाइएको बताएका छन् ।

मङ्गलवार तराई विकास तथा सञ्चार केन्द्र नेपालले काठमाडौँमा आयोजना गरेको नेपालमा सूचना प्रविधि प्रयोगको अवस्था र चुनौती विषयक छलफलमा घिसिङले विद्युत् पोलले धान्नै नसक्ने गरी इन्टरनेटका तारहरू राखिएकाले त्यसलाई व्यवस्थित गर्न पोल प्रयोगको भाडा बढाइएको बताएका हुन् ।

उनले इन्टरनेट सेवा प्रदायकमार्फत यसअघि प्राधिकरणले २५ करोड उठाउँदै आएकोमा अब बढेर ५० करोड र उक्त रकम प्राधिकरणका लागि ठूलो रकम नभएको बताए ।

अहिले पोलमा रहेका ९५ प्रतिशत तारहरू काम नलाग्ने अवस्थामा रहेको र त्यसलाई निकाल्न इन्टरनेट सेवा प्रदायकले कुनै चासो नदेखाएको उनले बताएका छन् ।

कार्यक्रममा इन्टरनेट सेवा प्रदायकका अध्यक्ष सुधीर पराजुलीले प्राधिकरणले ग्राहकका आधारमा नाफा कमाउन पोल प्रयोगको भाडा बढाएको आरोप लगाए ।

उनले यसअघि पोलको भाडा २०५ रुपैयाँ लिइने गरेकोमा अहिले प्रति पोल र प्रतिकिलोमिटरका आधारमा ७५० रुपैयाँ तिर्नुपर्ने अवस्था आएको गुनासो गरेका छन् ।

प्राधिकरणले पोल भाडा बढाएसँगै सहरी क्षेत्रमा इन्टरनेट सेवाको मासिक १५० र ग्रामीण क्षेत्रमा ३०० रुपैयाँ बढाउन आफूहरूले प्रस्ताव गरेको उनको भनाई छ ।

यसअघि प्राधिकरणले विद्युत् पोल र ओपीजीडब्ल्यु केबलको भाडादर बढाउने निर्णय गरेको थियो ।

त्यस्तै कार्यक्रमका सहभागीहरूले नेपालमा सूचना प्रविधि प्रयोग बढ्दै जाँदा गुणस्तरमा पनि ध्यान दिनुपर्ने बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार