logo
मंगलबार, मंसिर १३ २०७९
उपमेयर सुनिता डंगोलको टोली बजार अनुगमनमा

उपमेयर सुनिता डंगोलको टोली बजार अनुगमनमा


214
SHARES

काठमाडौं । काठमाडौं महानगरपालिकाले दशैंलक्षित बजार अनुगमन गरेको छ। मंगलबार महानगरपालिकाकी उपमेयर सुनिता डंगोलको टोलीले दशैँलक्षित बजार अनुगमन गरेको हो।

उपमेयर डंगोलको टिमले टुकुचास्थित तरकारी बजार, खाद्यन्न पसल र मासु पसल र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको स्टोरहरुमा अनुगमन गरेको छ। टोलीले महानगरभित्र रहेका भित्रि पसलहरुमा गएर सामानको बिल, रजिटस्ट्रेसन गरेरनगरेको सामानको उत्पादन मितिको जाँच गरेको थियो।

बजार अनुगमनका क्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उपमेयर डंगोलले बजारमा अखाद्य वस्तु धेरै बेचिरहेको पाइएको बताइन्। उनले कतिपयलाई दर्ता गराउने कुराहरु नै थाहा नभएको र उनीहरुलाई सचेत गराइएको जानकारी दिइन्। उनले बेच्ने मात्र नभइ किन्ने मानिसहरुमा पनि अखाद्य सामग्रीको पहिचान गर्न नसकेको पाइएको बताइन्।

उपमेयर डंगोलले अनुगमनको क्रमलाई दशैंपछि पनि निरन्तरता दिने प्रतिबद्धता जनाइन्। उनले उपभोक्ताहरुलाई ठग्ने र अखाद्य सामग्री बेच्नेहरुलाई कानुन अनुसार कारबाही गर्ने चेतावनी दिइन्।

‘दशैंको समयमा धेरै अनियमितता हुने देखिएको छ। बजारमा मूल्य धेरै हुने, कति कुराहरु सकिसक्यो भनेर स्टोर गरेर राख्ने भएका छन्’, उनले भनिन् ‘कारबाहीभन्दा पनि सचेतना जगाउनका लागि हामीले अनुगमन गरेका हौँ। सचेत हुँदाहुँदै पनि लापरबाही गरेको खण्डमा कानुनी कारबाही गर्नेछौँ।’

अनुगमनका क्रममा खाद्य विभागमा उत्पादित मिति मेटिएको खाद्य सामग्री पाइएको थियो। जसमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडकी तर्फबाट बागमती प्रादेशिक प्रमुख ज्ञानु थापाले मिति सकिएका खाद्य सामग्री विभागले नबेचेको दाबी गरिन्।

उत्पादित मिति नै मेटिएको खाद्य सामग्री भेटियो नि भन्ने सञ्चारकर्मीको प्रश्नमा कतिपय सामान उत्पादित कम्पनीबाट आउँदै मेटिएको हुने र विभागले भने उपभोक्तालाई अखाद्य सामग्री नबेचेको बताइन्। उनले विभागबाट भएका कमजोरीलाई आगमी दिनमा सच्याउने प्रतिबद्धता जनाइन्।

उनले यस वर्षको दशैंका लागि विभागले १८ सय खसीबोका र ५ सय च्याङ्ग्रा ल्याउने तयारी गरेको बताइन्। कतिपय च्याङ्ग्रा आइसकेको र केही आउने क्रममा रहेको पनि थापाले जानकारी दिइन्।

‘हामीले उपभोक्तालाई डेट सकिसकेका खाद्य सामग्री बेचेका छैनौँ। हामी महानगरपालिकाले दिएको सुझावलाई सुधारेर जान्छौँ’, उनले भनिन् ‘१८ सय खसीबोका, ५ सय च्याङ्ग्रा ल्याउनेछौँ। कतिपय च्याङ्ग्रा आइसकेको छ। आउने क्रममा छ।’

त्यस्तै, उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले उपभोक्तालाई खाद्य सामग्री प्रदान गर्ने कुरामा राज्य जिम्मेवार नबनेको आरोप लगाए। उनले महानगरले गरेको मंगलबारकै अनुगमनमा पनि सरकारी संस्थाहरुमा नै अखाद्य सामग्री फेला परेको भन्दै आक्रोश व्यक्त गरे।

उनले उत्पादक र आयातकर्ताको स्पष्ट ठेगाना बिनाका खाद्य सामग्रीहरु धेरै भेटिएको उल्लेख गर्दै यस्ता सामग्री बिक्री गर्न कानुनले नै बर्जित गरेको बताए। उनले सरकारी संस्थाहरुमा नै अखाद्य सामग्री भेटिएको भन्दै सरकारी संस्थाहरु सबैभन्दा बढी परादर्शी र स्वस्थ रहन आवश्यक रहेको बताए।

‘उपभोक्तालाई खाद्य सामग्री प्रदान गर्ने कुरामा राज्य जिम्मेवार बनेको पाइएन। अनुगमनका क्रममा के देखियो भने अधिकांश पसलहरु दर्ता भएका छैनन्’, उनले भने, ‘उत्पादक र आयातकर्ताको स्पष्ट ठेगानाबिनाका खाद्य सामग्रीहरु धेरै भेटिएका छन्। सरकारकै कम्पनीहरुमा अखाद्य सामग्री भेटिएका छन्। सरकारी संस्थाहरु नै सबैभन्दा बढी पारदर्शी र स्वस्थ हुनुपर्छ।’

उनले नागरिकप्रति सरकारी संस्थाहरु जिम्मेवार बन्नुपर्ने र विशेषगरी स्थानीय सरकारले यसको जिम्मा लिन आवश्यक रहेको बताए। उनले अहिले बजार अनुगमन नियमित हुन नसकेको बताए।

प्रतिक्रिया
सम्बन्धित समाचार