मंगलबार, असोज १२ २०७८

ओलीले थपेको ३७ अर्ब ऋण देउवा सरकारले घटायो


  • दैनिक न्यूज नेपाल
  • शुक्रबार, भाद्र २५ २०७८
855
SHARES

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले संसदमा प्रस्तुत गरेको प्रतिस्थापन बजेटले आन्तरिक तथा वैदेशिक ऋणको अंश करिब ३७ अर्ब रूपैयाँ घटाएको छ।

संसदमा बजेट भाषण गर्दै अर्थमन्त्री शर्माले भने ‘विनियोजन अध्यादेश, २०७८ मा प्रस्ताव गरिएको आन्तरिक ऋण तथा वैदेशिक ऋणको अंश करिव ३७ अर्ब रुपैयाँ घटाएको छु। यसबाट नेपाली जनतामा रहेको ऋणभार सानो अंशमा भएपनि कम हुन जानेछ।’

अनुत्पादक क्षेत्रमा सार्वजनिक ऋणको उपयोगले भविष्यमा साँवा तथा ब्याज भुक्तानीका लागि राजस्वको ठूलो हिस्सा छुट्याउनु पर्ने, भावी पुस्तालाई ऋणको भार थपिन जाने, निजी क्षेत्रमा प्रवाह हुने वित्तीय स्रोत संकुचित हुने जोखिम रहने उनले बताए।

सार्वजनिक ऋणलाई राष्ट्रिय आवश्यकता, पुँजी निर्माण, उच्च प्रतिफलयुक्त र उत्पादनशील क्षेत्रमा मात्र उपयोग गर्ने नीति लिइएको उनले बताए।

चालु आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोत मध्ये राजस्वबाट १० खर्ब ५० अर्ब ८२ करोड र वैदेशिक अनुदानबाट ५९ अर्ब ९२ करोड व्यहोरिनेछ।

चालु, पुँजीगत र वित्तीय हस्तान्तरण तर्फ विनियोजित खर्चमा राजस्व र वैदेशिक अनुदानबाट व्यहोर्दा ५ खर्ब २२ अर्ब ९ करोड न्यून हुने देखिन्छ।

वित्तीय व्यवस्था तर्फको विनियोजित रकम समेत समावेश गर्दा कुल विनियोजनमा न्यून हुने रकम मध्ये वैदेशिक ऋणबाट २ खर्ब ८३ अर्ब ९ करोड र आन्तरिक ऋणबाट २ खर्ब ३९ अर्ब व्यहोरिनेछ।

५ लाख गरीब तथा विपन्न परिवारलाई १० हजार नगद अनुदान दिने घोषणा

सरकारले कोरोना महामारीका कारण रोजगारी तथा आजआर्जन गुमाएका गुमाएका अनौपचारिक एवं असंगठित क्षेत्रका गरीब तथा विपन्न परिवारलाई प्रतिथ परिवार १० हजार नगद अनुदान दिने भएको छ ।

शुक्रबार प्रमुख विपक्षी नेकपा एमालेका सांसदहरुको नाराबाजीका बीच बजेट अध्यादेशको प्रतिस्थापन विधेयक संसदमा पेश गर्दै अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले यस्तो घोषणा गरेका हुन् ।

उनले भनेका छन्, ‘कोभिड-१९ का कारण रोजगारी र आयआर्जन गुमाएका अनौपचारिक एवं असंगठित क्षेत्रका गरिव तथा विपन्न करीब ५ लाख परिवारलाई एक पटकका लागि प्रति परिवार रु १० हजार निश्चित मापदण्डका आधारमा नगद अनुदान प्रदान गर्ने प्रबन्ध गरेको छु ।’

राजनीतिक आन्दोलनमा बलिदान गर्नेका परिवारलाई मासिक ३ हजार भत्ता

सरकारले राजनीतिक परिवर्तनको आन्दोलनमा बलिदान गर्नेहरुलाई मासिक ३ हजार रुपैयाँ भत्ता दिने घोषणा गरेको छ । संसदमा बजेट अध्यादेशको प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्मा प्रभावकरले शहीद परिवारलाई ३ हजार भत्ता उपलब्ध गराउने घोषणा गरेका हुन् ।

यसअनुसार जनयुद्ध, जनआन्दोलन लगायतमा ज्यान गुमाएकाको परिवारले मासिक भत्ता पाउने भएका छन् । विगतदेखि नै नेकपा माओवादी केन्द्रले यस्तो व्यवस्था गर्न माग गर्दै आएको थियो ।

विपन्न परिवारलाई काठमाडौंका १० ठाउँमा खाना खुवाइने

विपन्न परिवारलाई काठमाडौंका दश ठाउँमा खाना खुवाइने भएको छ।

शुक्रबार अर्थमन्त्री जनार्दन शर्माले बजेट अध्यादेशको प्रतिस्थापन विधेयक संसदमा पेश गर्दै सो घोषणा गरेका हुन्।

संसदमा प्रतिपक्षी दल नेकपा एमालेका सासंदहरूले नाराबाजी गरेका थिए।त्यसैबीच अर्थमन्त्री शर्माले बजेट पेश गर्दै विपन्न परिवारलाई काठमाडौंका दश ठाउँमा खाना खुवाइने घोषणा गरेका हुन्।

सो काम सामाजिक संस्थाको सहयोगमा गर्ने उनले बताए।

 

प्रतिक्रिया
सम्बन्धित समाचार