काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले स्थानीय तह निर्वाचनमा सत्ता पक्षले हिंसा भड्काएको आरोप लगाएको छ।
एमाले अध्यक्ष ओलीले कतिपय स्थानमा पुनः मतदान गर्न निर्वाचन आयोगसँग माग समेत गरेका छन् ।
ओलीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘स्वच्छ निर्वाचन विपरीतका घटना भएका, मतदान केन्द्रको अनधिकृत कब्जा गरिएका र भय त्रास सिर्जना गरी मतदाताहरूलाई आतंकित पारिएका स्थानमा पुनः मतदानको माग गरी
विभिन्न जिल्लाबाट उजुरी समेत गरिएको छ । यसलाई गम्भीरतापूर्वक लिन म निर्वाचन आयोगको ध्यानाकर्षण गराउँछु ।’
अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार बेलुकी वक्तव्य जारी गरेर सत्ता पक्षमाथि हिंसा भड्काएको आरोप लगाएका छन्।
‘सत्ता पक्षीय गठबन्धनले हाम्रा विरुद्ध अग्रिम नक्कली मतपत्रसमेत छापी वितरण गर्ने, उत्तेजनापूर्ण गतिविधि गर्ने गरी अनावश्यक रुपमा वातावरण बिथोल्ने र अनुचित ढंगले हिंसा भड्काउने जस्ता कार्यसमेत गर्यो,’ विज्ञप्तिमा भनिएको छ।
एमालेले सत्तारुढ पाँचदलीय गठबन्धनमाथि लोकतन्त्र र अग्रगमनको नाम जपेर अलोकतान्त्रिक र प्रतिगामी अभ्यासमा लिप्त रहेकोसमेत आरोप लगाएको छ।
एमालेले बाजुराको बुढीगंगा नगरपालिकामा निर्वाचन जारी रहेका बेला रहस्यमय ढंगले सुरक्षाकर्मी हटाएर निर्वाचन बिथोल्न खोजेकोसमेत दाबी गरेको छ।
केही पालिकाका प्रमुख पदका उम्मेदवारहरुलाई मतदान केन्द्र निरीक्षणमा बाधा पुर्याइएको भन्दै एमालेले आपत्ति पनि जनाएको छ।
© 2022 All right reserved | Site By : SobizTrend