मंगलबार, असोज १२ २०७८

‘एमसीसी’का विवादित बुँदा स्पष्ट पार्नु भन्दै सरकारले पठायो अमेरिकालाई पत्र


  • दैनिक न्यूज नेपाल
  • शुक्रबार, भाद्र १८ २०७८
413
SHARES

काठमाडौं । सरकारले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौतामा उठिरहेका विवादित विषयहरुबारे स्पष्ट पार्न अमेरिकालाई पत्राचार गरेको छ । अर्थ मन्त्रालयले शुक्रबार नेपालस्थित अमेरिकी राजदूतावासमार्फत एमसीसी मुख्यालयलाई पत्राचार गरेको हो ।

अर्थ मन्त्रालयका एक उच्च अधिकारीकाअनुसार एससीसीका विषयमा नेपालमा विभिन्न पक्षबाट उठाइएका विषयहरुलाई उतैबाट स्पष्ट पार्न पत्र पठाइएको हो । पत्रमा एमसीसी अमेरिकाले अघि सारेको ‘इन्डो–प्यासिफिक रणनीति’ अन्तर्गत पर्छ कि पर्दैन, एमसीसी अन्तर्गत नेपालमा सुरक्षा प्रभाव हुन्छ कि हुँदैन, परियोजनाको लेखापरीक्षण नेपालबाट कि अमेरिकाबाट हुने, नेपालको संविधान र कानुनभन्दा माथि यो सम्झौता रहने कि नरहने भन्ने कुरा स्पष्ट पारिदिन अनुरोध गरिएको छ ।

एससीसी उपाध्यक्ष फातेमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स अर्को साता नेपाल आउने तयारी गरिरहेको सन्दर्भमा त्यसअघि नै स्पष्ट पार्ने गरी नेपाल सरकारले एससीसी मुख्यालयलाई पत्राचार गरेको हो । नेपाल सरकारको पत्राचार अनुसार एससीसी विवादित विषयलाई स्पष्ट पारेर त्यसको सन्देश नेपालमा प्रवाहित गर्नेगरी उपाध्यक्ष सुमारको भ्रमण हुन लागेको बताइएको छ ।

अर्थ मन्त्रालयको पत्रलाई सकारात्मक रुपमा लिएको अमेरिकी राजदूतावासका एक अधिकारीले जानकारी दिए । अर्थ मन्त्रालयबाट एमसीसी सम्झौताको सन्दर्भमा पत्र प्राप्त भएको र यो सम्झौता अनुमोदनका लागि सकारात्मक पहल भएको उनले बताए । उनले एमसीसी सम्झौताको सन्दर्भमा नेपाली जनतासँग पारदर्शी छलफलको लागि खुला गरेको पनि बताए ।

नेपाल सरकार र एमसीसीबीच सन् २०१७ मा भएको यो सम्झौता अनुसार नेपालले उर्जा र सडक सम्बन्धी परियोजनाका लागि ५ सय मिलियन डलर अनुदान पाउने छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार