मंगलबार, असोज १२ २०७८

तुइन काटिएको आरोप मात्रै हो, नेपालको प्रतिवेदनबारे केही थाहा छैनः भारत


  • दैनिक न्यूज नेपाल
  • बिहिबार, भाद्र १७ २०७८
337
SHARES

काठमाडौं । दार्चुलास्थित महाकाली नदीमा नेपाली युवा सवार तुइन काटिएको विषयमा नेपालले बनाएको प्रतिवेदनबारे भारतीय विदेश मन्त्रालय अनभिज्ञता प्रकट गरेको छ।

भारतीय सुरक्षाकर्मीले तुइन काटिदिएपछि महाकालीमा खसेर नेपाली युवा जयसिंह धामीले ज्यान गुमाएको घटना प्रतिवेदन नेपालले तयार गरेकोबारेमा भारतले अनभिज्ञता प्रकट गरेको हो।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरबिन्दम बाग्छीले बिहीबार भएको नियमित पत्रकार सम्मेलनका क्रममा यस घटनाबारे बोल्न अस्वीकार गरेका हुन्।

उनले समाचारहरु देखे पनि कूटनीतिक च्यानलमार्फत आधिकारिक विवरण केही नआएको पनि उनले बताएका छन्। तुइन काटिएको घटनामा भारतीय सीमा सुरक्षा बलको संलग्नता उनले अस्वीकार गरेका छन्।

दार्चुला मालघाटस्थित तुइनबाट महाकाली तरेर भारतीय बाटो हुँदै सदरमुकाम खलंगा जाने क्रममा व्यास गाउँपालिका–२ राङ्थाङ बस्तीका ३५ वर्षीय जयसिंह धामी खसेका थिए।

भारतीय सशस्त्र सीमा बल एसएसबीका जवानले तुइनको डोरी निकालेपछि धामी खसेको प्रत्यक्षदर्शीले बताउँदै आएका छन् ।

गृह मन्त्रालयका सहसचिव नेतृत्वको छानविन समितिले बुधवार बुझाएको प्रतिवेदनमा एसएसबीकै उपस्थितिमा घटना भएको र भारतसँग कुटनीतिक पहलमार्फत छानविन गरी दोषीमाथि कारवाही तथा पीडित परिवारलाई क्षतिपूर्ति दिन भनिएको छ।

बिहीबार गृह मन्त्रालयले प्रतिवेदन कार्यान्वयन गर्न परराष्ट्र मन्त्रालयलाई सिफारिस गरेको छ। तर यसबारेमा नेपालले भारतसँग कुनै पनि तहमा कुटनीतिक पहल नगरेको कुरा भारतीय विदेश मन्त्रालयले बिहीबार जनाएको हो।

प्रतिक्रिया
सम्बन्धित समाचार