बुधबार, जेष्ठ ११ २०७९
विश्व बैंकसँग नेपालले १८ अर्ब ऋण लिने

विश्व बैंकसँग नेपालले १८ अर्ब ऋण लिने


  • दैनिक न्यूज नेपाल
  • शुक्रबार, बैशाख २ २०७९
194
SHARES

काठमाडौं । सरकारले विश्व बैंकसँग १८ अर्ब रुपैयाँ बराबरको सहुलियत ऋण लिने भएको छ ।

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्राप्त हुने १ सय ५० मिलियन अमेरिकी डलर अर्थात् करिब १८ अर्ब रुपैयाँ बराबरको सहुलियत ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

उहाँले बैठकको निर्णय सार्वजनिक गर्न शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सो कुराको जानकारी गराएक हुन् । अनुदान सहयोगसँगै मुलुकको विदेशी विनिमय सञ्चितिमा सघाउ पुग्ने अनुमान गरिएको छ ।

त्यसैगरी बैठकले संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय विकासका लागि सहयोग निकाय युएसएआइडीबाट प्राप्त हुने अमेरिकी डलर ६ सय ५९ मिलियन करिब ७९ अर्ब ७१ करोड रुपैयाँ अनुदान सहायता रकम पनि स्वीकार गर्ने निर्णय गरेको उनले बताए।

त्यसैगरी मन्त्रिपरिषद्ले फुटकोर्ट कर्णाली अर्धजलशाययुक्त जलविद्युत आयोजनाको लागि कालिकोट जिल्लाको सान्नी त्रिवेणी गाउँपालिकाको करिब २ सय ८० रोपनी जग्गा प्राप्ति गर्न स्वीकृत दिने निर्णय गरेको छ ।

यस्तै बैठकले सशस्त्र प्रहरी बल नेपालको सशस्त्र प्रहरी महानिरिक्षक पदमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम केसीलाई बढुवा नियुक्ति गर्ने निर्णय गरेको थियो ।

सरकारले कपिलवस्तुको मायादेवी गाउँपालिकालाई आधारभुत अस्पताल र गाउँपालिकाको प्रशासकीय भवन लगायत कार्यका लागि सार्वजनिक जग्गा प्रयोग गर्न स्वीकृत दिएको छ ।

साथै, कर्जन्हा नगरपालिका सिरहालाई प्रशासकीय भवन निर्माण गरी प्रयोग गर्नका लागि सार्वजनिक जग्गा प्रयोग गर्न स्वीकृत दिने निर्णय भएको पनि प्रवक्ता कार्कीले बताए ।

यस्तै, बैठकले राष्ट्रिय आवास कम्पनी लिमिटेडको अध्यक्ष रामआधार कापारको राजीनामा स्वीकृत गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार