काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले महिलामाथि हुने हिंसाको अन्त्य गर्न पुरुषहरूलाई सचेत गराउनुपर्ने बताएकी छिन् ।
उनले अहिले पनि ९५ प्रतिशत घरमा महिलामाथि कुनै न कुनै किसिमको हिंसा भइरहेको भन्दै त्यस्तो हिंसाको अन्त्य गर्न पुरुषहरूलाई सचेत गराउनुपर्ने बताइन् ।
‘अब महिलामाथिको हिंसा अन्त्य गर्न कानुनमात्रै बलियो भएर पुग्दैन, अहिले पनि ९५ प्रतिशत घरमा महिलामाथि कुनै न कुनै किसिमको हिंसा छ, त्यसैले यस्तो हिंसाको अन्त्य गर्न कानुनमात्रै भएर पुग्दैन, पुरुषलाई सचेत गराउन
आवश्यक छ, गाउँगाउँसम्म अभियान चलाउन आवश्यक छ,’ उनले भनिन् । उनले घरभित्रैको हिंसाको जरो उखेर फ्याँक्न नसकेमा मुलुकको विकास हुन नसक्ने बताइन् । ‘घरभित्रै हिंसाको जरो छ, घरभित्र असमानताको जरो छ ।
त्यो जरोलाई घरभित्रैबाट उखेलेर फ्याँक्न नसकेसम्म, महिलाको समग्र विकास नभएसम्म समाजको विकास सम्भव छैन, देशको विकास सम्भव छैन,’ उनले भनिन्, ‘हामी समतामुलक समाज निर्माण गर्न चाहन्छौं, त्यो भनेको
महिला पुरुष घरदेखि राज्यको उच्च तहसम्म बराबरी अधिकार प्राप्त गर्नु हो, बराबरी भूमिका प्राप्त गर्नु हो ।’
मन्त्री रेग्मीले महिलाको क्षमता विकास नभएसम्म समाजको पनि विकास नहुने बताइन् । ‘समाजको त्यतिवेला विकास हुनसक्छ, जतिबेला घरको चुलो चौकादेखि राज्यको नीतिनिर्माण तहमा महिला र पुरुषको अवस्था बराबरी हुन्छ ।
हामीले अहिले जुन उपलब्धि हासिल गरेका छौँ, यो धेरै विकसित देशभन्दा राम्रो हो,’ उनले भनिन्, ‘अहिले प्रतिनिधित्वमात्रै भएको छ, यो प्रतिनिधित्वलाई राज्यको नीतिनिर्माण तहमा प्रभाव बढाउन आवश्यक छ । राज्यको निर्णायक तहमा महिलाको प्रभावकारी प्रतिनिधित्वका लागि राज्यले ध्यानदिनुपर्ने अवस्था छ ।’
उनले स्यानेटरी प्याडमा कर लगाउन नमिल्ने बताइन् । ‘हाम्रो सरकार एउटा स्यानेटरी प्याडमा समेत कर लगाउँछ, विदेशबाट ल्याउनेमा थोरै कर लगाए पनि हुन्छ, तर नेपालमै बनेको स्यानेटरी प्याडमा कर लगाउन पाइदैन, मैले राजस्वलाई पत्राचार समेत गरिसकेको छु,’ उनले भनिन् ।
उनले गाउँमा डोको लिएर घाँसदाउरामा खटिरहेका महिलालाई हेरेर सरकारले योजना बनाउनुपर्ने बताइन् । उनले सरकारले महिला मन्त्रालयलाई कम बजेट दिने गरेको भन्दै आगामी वर्षहरूमा त्यसबारे ध्यान पुर्याउन प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराइन् ।
‘गत वर्ष महिला मन्त्रालयको बजेट जम्मा ८० करोडमात्रै थियो, ४५ करोड त तलब भत्तामै जान्छ, बाँकी ३५ करोड बजेटले के काम गर्ने ?,’ मन्त्री रेग्मीले भनिन्, ‘महिला मन्त्रालयले यो देशको ७५ प्रतिशत जनसंख्याको अभिभावक हो, तर महिला मन्त्रालयमै सबैभन्दा कम बजेट दिने गरिएको छ, अहिले म आएपछि बजेटलाई वृद्धि गरेर एक अर्ब पुर्याएकी छु, आगामी वर्ष यसलाई थप वृद्धि गरियोस् ।’
© 2022 All right reserved | Site By : SobizTrend