बुधबार, जेष्ठ ११ २०७९
सत्ता गठबन्धनको यात्रा लम्बिने या टुंगिने आज निर्णय हुने

सत्ता गठबन्धनको यात्रा लम्बिने या टुंगिने आज निर्णय हुने


  • दैनिक न्यूज नेपाल
  • बिहिबार, फाल्गुन ५ २०७८
448
SHARES

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को कारण पाँचदलीय सत्ता गठबन्धनको भविष्यबारे बिहीबार टुंगो लाग्ने भएको छ । एमसीसीको विषयमा छलफल गर्न आज अपराह्न ५ बजे सत्ता गठबन्धनको बैठक बस्दैछ । दिउँसो ३ बजेका लागि बोलाइएको बैठक मन्त्रिपरिषद् बैठकका कारण दुई घन्टा ढिलो बस्ने भएको हो ।

आज बस्ने गठबन्धनको बैठकलाई निर्णायक भनिएको छ । सत्ता साझेदार दलहरू सहयात्राको बिट मार्छन् या लम्ब्याउँछन् भन्ने चासोको बिषय बनेको छ । यसअघि बुधबार माओवादी केन्द्रले यथास्थितिमा एमसीसी सदनमा टेबुल गरे सरकारबाट बाहिरिने चेतावनी दिएको थियो । त्यसपछि सरकारले पुनर्विचारका् लागि आज गठबन्धनको बैठकमा छलफल गर्न लागेको हो ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुनर्विचार गर्न प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई आग्रह गरेका थिए । माओवादी संसदीय दलको बैठकबाट यथास्थितिमा एमसीसी टेबुल भए सरकारबाट बाहिरिने चेतावनी दिएर प्रचण्ड देउवालाई भेट्न बालुवाटार पुगेका थिए ।

प्रधानमन्त्रीले नै भने- एमसीसी पास वा फेल जे पनि हुन सक्छ

प्रधानमन्त्री देउवाले एमसीसी सदनमा पास वा फेल जे पनि हुन सक्ने बताएका छन् । आज बालुवाटारमा पार्टी नेता अर्जुननरसिंह केसीद्वारा लिखित पुस्तक विमोचन कार्यक्रममा देउवाले यस्तो सन्देश दिएका हुन् । गठबन्धनभित्र खटपट भएका बेला प्रधानमन्त्रीको यो अभिव्यक्तिले एमसीसीले गठबन्धनको विषय निकै पेचिलो बनेको र यो जुनसुकै बेला टुट्न सक्ने अवस्था देखिएको छ ।

सत्ता गठबन्धनका कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चामा एमसीसीको विषयलाई लिएर कांग्रेस एक्लिँदै गएको देउवाले महसुस गरेका छन् । एमसीसी सदनमा टेबुल गर्ने कांग्रेसले एकल निर्णय पनि गरिसकेको छ ।

माओवादीले आजको बैठकमा कुरा नमिले सरकारबाट बाहिरने तयारी गरेको छ । ‘आजको बैठकमा सहमति नभए सरकारबाट बाहिरिन्छौं,’ माओवादीका प्रमुख सचेतक देव गुरुङले न्युज कारखानासँग भने, ‘माओवादी यथास्थितिमा एमसीसी अगाडि बढाउने पक्षमा छैन ।

कांग्रेस नेता एवं पूर्वमन्त्री शंकर भण्डारीले एमसीसीका कारण सत्ता गठबन्धन टुट्ने विश्वास व्यक्त गरेका छन् । उनले भने, ‘आगामी निर्वाचनसम्मै गठबन्धनसँगको सहयात्रा होस् भन्ने चाहना छ । दलहरूले राष्ट्रिय मुद्दामा व्यक्तिगत र दलीय स्वार्थभन्दा माथि उठेर निर्णय लिनुपर्छ । एमसीसीका कारण सत्ता गठबन्धन टुट्दैन भन्ने हो । यदि टुट्यो भने अर्को छलफलको विषय हो ।’

कांग्रेसकै अर्का नेता रमेश रिजाल पनि चुनावसम्म गठबन्धन कायम गर्ने पक्षमा रहेको बताउँछन् । ‘चाहे सरकारमा रहेर होस् वा सरकारबाहिर रहेर होस्, तर कांग्रेस वर्तमान गठबन्धन चुनावसम्मै लम्बियोस् भन्ने चाहन्छ,’ उनले भने ।

प्रतिक्रिया
सम्बन्धित समाचार