शुक्रबार, माघ ७ २०७८
कमल थापा- ‘लोभले लाभ, लाभले विलाप’

कमल थापा- ‘लोभले लाभ, लाभले विलाप’

उनले राजनीतिक जीवनमा पटक-पटक मुसा प्रवृत्ति देखाइरहेका छन् ।


  • अस्मिता बेल्बासे
  • सोमबार, मंसिर २० २०७८
408
SHARES

काठमाडौं । भर्खरै राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन सम्पन्न भएको छ । उक्त माहाधिवेशनबाट राप्रपा अध्यक्षमा राजेन्द्र लङ्देन चुनिएसँगै तत्कालिन अध्यक्ष कमल थापाको अवस्था भने फेरिएको छ । कमल थापा नेपाली राजनीतिमा चिरपरिचित नाम हो । उपप्रधानमन्त्रीसहित विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका थापा नेपालको ‘कन्जर्भेटिभ पार्टी’ राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृत्व गर्छन् ।

आफूलाई ‘पाको नेतृत्व’मा प्रस्तुत गरेका थापाले मधिवेशनको निर्वाचन परिणाम घोषणापछि धुलिसात हुने व्यवहार देखाइरहेका छन् भने काँचो नेतृत्व’को आरोप खेपेका लिङ्देन यतिबेला परिपक्व नेता बन्ने प्रयासमा छन् । राप्रपाको एकता महाधिवेशनमा मतदान चलिरहँदा अध्यक्षका उम्मेदवार कमल थापा उत्साहित थिए ।

आफूले जित्नेमा ढुक्क देखिएका उनले अर्का उम्मेदवार राजेन्द्र लिङ्देनलाई सहमतिमा ल्याउन प्रयास समेत गरेनन् । राप्रपा अध्यक्षमा कमल थापाको पराजय आकस्मिक नतिजा पनि होइन । यो त उनकै लामो कर्मद्वारा सञ्चित नतिजा हो । राजनीतिक विश्लेषकका अनुसार राप्रपा अध्यक्षमा लिङ्देनको विजयले राजनीतिमा नयाँ पुस्ता अगाडि आउँदैछ भन्ने सन्देश दिएको छ ।

लिङ्देन लगायतका उम्मेदवारहरु प्रतिनिधिसँग भोट मागिरहँदा अध्यक्ष थापा, लिङ्देन समूहका महामन्त्रीकी उम्मेदवार रेखा थापासँग सामाजिक सञ्जालमा युद्ध खेलिरहेका थिए । मतदान प्रक्रिया शुरु भएपछि केही दबावमा देखिएका उनले अर्का अध्यक्ष पशुपतिशम्शेर जबरालाई आफ्नो पक्षमा खुल्न लगाएका थिए । हस्तलिखित वक्तव्यमा जबराले आफूले लिङ्देनलाई समर्थन गरेको भनेर कुप्रचार भएको मात्र भनेका छैनन्, आफू ‘काँचो नेतृत्व’को पक्षमा नभएको उल्लेख गरेका छन् ।

ढलिसकेको राजतन्त्रात्मक व्यवस्था पुनः फर्काउँछु र नेपाललाई हिन्दु राष्ट्र नै कायम गराउँछु भन्दै पछिल्लो १५ वर्षदेखि लगातार राप्रपाको नेतृत्व सम्हालेका थापालाई यसपालिको महाधिवेशनबाट युवा पुस्ताका राजेन्द्र लिङ्देनले पाखा लगाएका छन् । लोकतान्त्रिक मूल्य मान्यतालाई पछ्याउने हरेक नेताले आफू अल्पमतमा परेपछि बहुमत पक्षलाई स्वीकार गर्नुपर्छ ।

तर, चुनावी परिणाम घोषणा भएपछि थापाको अभिव्यक्तिहरु हेर्दा लाग्छ, उनले त्यसलाई स्वीकार गर्न सकिरहेका छैनन् । चार दशक लामो राजनीतिक इतिहास भएका थापा यस महाधिवेशनमा पनि आफू जित्नेमा ढुक्क थिए । राप्रपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दले कुनै बेला आरोप लगाएजस्तै उनले राजनीतिक जीवनमा पटक-पटक मुसा प्रवृत्ति देखाइरहेका छन् ।

उनको कार्यशैलीमाथि पनि प्रशस्तै प्रश्न उठेको थियो । पार्टीमा एकलौटी गरेका उनले आफू अनुकल नभएका पदाधिकारी हटाउने र अनुकुललाई मनोनित गर्ने श्रृँखला चलाए । राजसंस्था पुनर्स्थापना र हिन्दूराज्य स्थापनाको एजेण्डा लिएको राप्रपाका थापा गणतान्त्रिक सरकारको उपप्रधानमन्त्रीसम्म बने, तर राजतन्त्र फर्काउने नारा लगाउन पनि छाडेनन् ।

नेपाली कांग्रेससँग गठबन्धन गर्दै २०७४ को आम चुनावमा ५ सिटमा मात्र उम्मेदवार उठाउने निर्णय गरे, जसलाई उनी स्वंयमले ठूलो गल्ती स्वीकार गरेका छन् । एमाले अध्यक्ष केपी ओलीसँगको निकटताले पनि थापा, पार्टीमा आलोचित थिए । आफूलाई चुनौती दिन खोजेको कारबाही स्वरुप धबलशम्शेर राणा र राजेन्द्र लिङ्देन दुवैलाई महामन्त्रीबाट हटाएका थिए । अन्ततः उनीहरु दुवै मिलेर पार्टीभित्र भुसको आगोजस्तै फैलिरहेको नेतृत्व हस्तान्तरणको मुद्दा उठाए ।

अर्को फ्याक्टर निर्मल निवास पनि हो । किनकी पछिल्लो समय ‘राजा आऊ, देश बचाऊ’ भनेर भएका आन्दोलनहरु राप्रपाको नेतृत्वमा भएको थिएन । यसले निर्मल निवास उनीसँग चिढिएको हुनसक्छ । निर्मल निवासलाई आफ्नो पक्षमा पार्न नसक्नु पनि उनको एकप्रकारले कमजोरी नै हो । २०१२ साल काठमाडौंको डिल्लीबजारमा जन्मिएका कमल थापा सेन्ट जेभियर्स स्कुलमा पढ्दै गर्दा हेटौँडाको भुटनदेवी माविमा पढ्न थाले । त्यतिबेला उनी १० वर्षका थिए । उनले राजनीति शास्त्र र अर्थशास्त्रमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका छन् ।

उनी प्रारम्भिक समयमा राष्ट्रिय फुटबल खेलाडी थिए । वि.सं २०२५ सालमा माध्यमिक तहको पढाइ सकेर उनी पुनः काठमाडौं आए र पद्मोदय हाइस्कुलमा पढ्न थाले । त्यहाँ उनले फुटबल खेले । त्यतिबेला उनले खेलेको ठूलो प्रतियोगिता अर्थात् अन्तर माध्यमिक फुटबल प्रतियोगितामा उनको टिम पहिलो भयो ।

उनी सन् १९७८–८८ सम्म अखिल नेपाल फुटबल सङ्घको अध्यक्ष, र सन् १९७७–८७ सम्म राष्ट्रिय खेलकुद परिषदको सदस्य पनि बने । २०४४ मा दशरथ रंगशाला दुर्घटना भएपछि उनले एन्फा अध्यक्ष पदबाट राजीनामा दिएका थिए । उनी १९८२ देखि १९९० सम्म एसियाली फुटबल परिसंघको कार्याकारी सदस्य पनि थिए । उनले अखिल नेपाल फुटबल सङ्घको अध्यक्ष पद २६ वर्षको उमेरमा नै सम्हालेका थिए । उनी पूर्व गृह मन्न्री, टेबलटेनिस खेलाडी र नेपाली फुटबल टिममा पुर्व कप्तान पनि हुन् ।

कमल थापा, राजा ज्ञानेन्द्रको तत्कालिन सरकारका तर्फबाट गृह मन्न्री थिए । उनी हाल राजतन्त्रको वकालत गर्दछन् । थापाकी श्रीमती प्रलिता थापा टेबुल टेनिसमा नेपालकी डिफेन्डिङ च्याम्पियन हुन् । उनका भाइ गणेश थापा पनि चर्चित फुटबलर हुन् । उनका दाजु रथी नेत्रबहादुर थापा नेपाल आर्मीका तर्फबाट फुटबल खेल्थे । उनका बुबा छत्रबहादुर थापा कर्णेल थिए । उनका पिता सेनाबाट २०१६ सालमा अवकास भएका थिए । यसअघि कमल थापा विचार मिल्ने नमिल्ने सबै दलको सरकारमा सहभागी भएका छन् ।

१) शेरबहादुर देउवा नेतृत्वको सरकारमा २७ भदौ ०५२ देखि २९ फागुन ०५३ सम्म कानुन न्याय तथा संसदीय व्यवस्था र स्थानीय विकासमन्त्री
२) लोकेन्द्र बहादुर चन्द नेतृत्वको सरकारमा १२ चैत ०५३ देखि २१ असोज ०५४ सम्म आवास तथा भौतिक योजना र परराष्ट्रमन्त्री
३) सूर्यबहादुर थापा नेतृत्वको सरकारमा २१ असोज ०५४ देखि २७ असोज ०५४ सम्म परराष्ट्र र कृषिमन्त्री
४) सूर्यबहादुर थापा नेतृत्वकै सरकारमा १८ मंसिर ०५४ देखि २ बैशाख ०५५ सम्म परराष्ट्रमन्त्री
५) सूर्यबहादुर थापा नेतृत्वकै सरकारमा २८ जेठ ०६० देखि २८ जेठ ०६१ सम्म सूचना तथा सञ्चार, स्थानीय विकास र स्वास्थ्यमन्त्री
६) राजा ज्ञानेन्द्र नेतृत्वको सरकारमा २२ मंसिर ०६२ देखि १९ माघ ०६३ सम्म गृहमन्त्री
७) केपी ओली नेतृत्वको सरकारमा २५ असोज ०७२ देखि २० साउन ०७३ उपप्रधानमन्त्री तथा परराष्ट्र र स्थानीय विकासमन्त्री
८) पुष्पकमल दाहाल नेतृत्वको सरकारमा ४ फागुन ०७३ देखि २२ चैत ०७३ सम्म उपप्रधानमन्त्री तथा स्थानीय विकासमन्त्री
९) शेरबहादुर देउवा नेतृत्वको सरकारमा २८ असोज ०७४ मा उपप्रधानमन्त्री नियुक्त

थापाको राजनीतिक विचारधारा वा भाष्यसँग उनको राजनीतिक व्यवहार पटक्कै मेल खाँदैन । जिन्ना र सावरकर जस्तै राजनीतिक सिद्धान्त र व्यवहार पटक्कै मेल नखाने कमल थापाको मिल्ने एउटै कुरा छ- ‘धर्मको आडमा चरम अवसरवादी राजनीति ।’ जब राजनीति सामान्यजनको समझभन्दा बाहिर पुग्छ, एउटा आहानको रूपमा भन्ने गरिन्छ, ‘यो राजनीतिमा पोलिटिक्स घुसेको हो ।’

नेपालमा बेलाबखत राजनीतिमा पोलिटिक्स घुसिरहन्छ, जसलाई सामान्यजनको त कुरै छाडौं राजनीतिक पण्डितहरूलाई समेत अर्थ्याउन कठिन पर्न सक्छ । राजनीतिमा कसरी पोलिटिक्स घुस्दोरहेछ, यो एउटा राजनीतिक घटनाक्रम हेरे काफी हुन्छ । हिजो प्रतिपक्ष आज सत्तासीन हुनु र आजका सत्तासीन भोलि सत्ताबाट बाहिरिनु स्वाभाविक अवयव हुन् ।

राजसंस्था र हिन्दू राष्ट्रको पुनर्स्थापना र संघीय व्यवस्थाको खारेजीका हिमायती उनको सिद्धान्ततः राजनीतिक भाष्य संवैधानिक राजतन्त्र र हिन्दू अधिराज्य मर्म बोकेको २०४७ सालको संविधान हो । जसलाई हिन्दूत्व र राजसंस्थाको राजनीतिक भाष्यको रट लगाउने थापालगायतका पूर्वपञ्चहरू भन्दा पनि आफूलाई बीपी कोइराला, गणेशमानसिंह र कृष्णप्रसाद भट्टराईका सच्चा अनुयायी ठान्ने प्रकाश कोइराला, पीएल सिंह, देवेन्द्र नेपालीलगायतका कांग्रेसजन मार्ग निर्देशक दस्तावेज बताउँदै आएका छन् ।

तर, यी बागी कांग्रेसजनका आस्थाको ठीक विपरीत थापाले भने असोज २०७२ मा संविधान जारी भएयता आफूलाई संविधानका प्रखर हिमायतीका रूपमा प्रस्तुत गर्दै आएका छन् । पहिले केपी ओली सरकारका परराष्ट्र मन्त्रीको हैसियतमा थापाले अन्तर्राष्ट्रिय समुदायमाझ नयाँ संविधानको विशिष्टताको व्याख्यानमा कुनै कन्जुस्याइँ गरेनन् पनि, भलै उनी संविधानको मुख्य आधारशिला गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको विरोधी नै किन नहुन् ।

व्यक्तिको जीवनदर्शन एकथरी र राजनीतिक ‘आइडियोलोजी’ अर्कोथरी किन हुन्छ र यसको अभीष्ट के हुन सक्छ भन्ने विषयमाथि भारतका राजनीतिक मनोविज्ञ आशिष नन्दी तार्किक विश्लेषण राख्ने गर्दछन्, जसले राजनीतिमा किन र कसरी पोलिटिक्स घुस्न जाँदो रहेछ भन्ने कुरा बुझ्न सघाउँछ । सन् १९२३ मा ‘हिन्दूत्व’को दर्शनमार्फत सावरकरले हिन्दूशासित राज्यको कल्पना गरिसकेका थिए, जसलाई हिन्दूवादी दक्षिणपन्थी राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) र उसको राजनीतिक घटक भारतीय जनता पार्टीले आफ्नो मार्गनिर्देशक सिद्धान्त बनाएको छ ।

उता, इस्लामिक भाष्यका आधारमा जिन्ना छुट्टै राष्ट्र पाकिस्तान निर्माण गर्न सफल बने । जिन्ना जस्तै कमल थापाको व्यक्तित्व एक शिक्षित अभिजात्य वर्गको हो । थापाको राजनीतिक विगत पञ्चायतको विद्यार्थी घटक राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलको हो, जुन संगठन कुनै मूलमा परेको सन्तान झैं सत्ताको पुल्पुल्याइका कारण आफ्नो जन्मको केही वर्षभित्रै वितण्डाकारी मण्डलेबाट बदनाम हुन पुग्यो ।

थापा चतुर राजनीतिक खेलाडी त हुन् नै । थापाको अर्को पृष्ठभूमि खेलाडीको हो । समकालीन नेपाली राजनीतिमा क्षमता भएका राजनीतिज्ञ पनि हुन् । लामो राजनीतिक जीवनले उनका कमजोरी पनि त्यतिकै उजागर गरेको छ । तर, पञ्चायतका एक से एक खेलाडी रूपान्तरित व्यवस्थामा असान्दर्भिक हुँदै मैदान छाडिरहेका बखत उनी आफ्ना भाष्यका विपरीत पनि सत्ता–गठबन्धनका सदावहार खेलाडी बन्न सफल देखिन्छन् । दोस्रो संविधानसभा निर्वाचनको अनुभवले

हुनुपर्छ, आसन्न स्थानीय निर्वाचनमा राप्रपाले हिन्दू जनमतलाई नै आफ्नो भोट ब्यांक बनाउने निधो गरिसकेको छ । राजसंस्थाको पुनर्स्थापनालाई सिद्धान्ततः स्वीकारे पनि उसले यसलाई जगेडा चक्का (स्पेयर टायर) झैं परिआएको बखत मात्र प्रयोग गर्ने गरेको छ । उता, संघीयताको अरिङ्गाले गोलामा ढुङ्गा फ्यालेर ‘प्रतिगामी’ मा दरिनुपर्ने भयका कारण उसले संघीयताविरुद्ध चर्को कुरा गरिरहनुपर्ने न आँट गरेको छ, न आवश्यकता महसूस नै ।

देशको ठूलो भोट ब्यांक हिन्दू जनमतलाई थापाको राप्रपा जति निर्वाचन आयोगमा दर्ता हिन्दू नामधारी कुनै पनि दलले आजसम्म ‘क्यास’ गर्न सकेका छैनन् । उनी भाजपाकी उमा भारती वा महन्त आदित्यनाथ झैं थापा गेरुबस्त्रधारी होइनन् । उनले हिन्दू धर्मका बारेमा प्रवचन वा व्याख्यान दिएको पनि सुन्न पाइँदैन । बराह क्षेत्रको कुम्भस्नानका बेला थापाको शरीरमा जनैसम्म पनि देखिएन ।

हिन्दूत्वको नाममा भोट माग्ने थापा र उनका राजनीतिक मण्डलीले महाभूकम्पपछि सोत्तर हिन्दू मन्दिरहरूको पुनःनिर्माणको नेतृत्व लिएको वा सहयोग पुर्‍याएको पनि सुनिएन । हिन्दू धर्मभीरुहरूकै ढल मिसिएर दूषित बनेकी पतितपावनी वागमतीको सरसफाइमा पनि राप्रपाको अग्रसरता देखिंदैन । तैपनि मुलुकको हिन्दू जनमतलाई सबैभन्दा तरङ्गित थापाले नै गर्दै आएका छन् । र, त्यही मतको आधारमै राप्रपाले सरकार बनाउने र गिराउनेसम्मको हैसियत राखेको छ । कमल थापा हिन्दूत्वको भाष्यको जगमा अवसरवादिता भजाइरहेका छन् ।

कमल थापा पुर्व राजा ज्ञानेन्द्र शाहसंगको विशेष सम्बन्धका कारण लै चर्चामै छन् । राजसंस्थाको आवश्यक्ता जोडदार रूपमा उठाएका उनलाई दोस्रो संविधानसभाको चुनावमा ज्ञानेन्द्र शाहसँग करोडौं रकम लिएको आरोप लागेको थियो । थापाको इतिहास हेर्ने हो भने उनी चानचुने राजावादी हैनन् । राजतन्त्रप्रति बफादार थापाको राजनीति पनि बहुदल आएपछि सुरू भएको हैन । उनी पञ्चायतकालमै त्यसको बलियो खम्बाका रूपमा स्थापित थिए । पञ्चायतको जगजगी चलेका बेला उनी पञ्चायत समर्थक स्वतन्त्र विद्यार्थी मण्डलको अध्यक्ष चुनिएका थिए ।

२०६२/२०६३ को जनआन्दोलन-२ को बलमा ढलेको राजसंस्था र पन्छाइएको हिन्दुराज्य फर्काउने एकसूत्रीय लक्ष्यका साथ राप्रपा स्थापना गर्दा थापालाई लिङ्देनले बलियो साथ दिएका थिए । थापाको विरासत ढालेर र पार्टीमा आफूभन्दा कैंयैं वरिष्ठहरूलाई पछि पार्दै राजतन्त्रको हिमायतीको रूपमा लिङ्देनले राप्रपामा आफूलाई उदय गराएका छन् । राप्रपामा आफ्नो विरासत गुमाउनमा थापाका आफ्नै कमजोरी छन् । लामो समयदेखि उनी आलोचित भए पनि थापाले

तिनलाई सामान्य ठाने । २०४६ सालमा बहुदल आएपछि दरबारनिकट रहेर पञ्चायतलाई सहयोग गरिरहेका पञ्चहरू दल खोल्ने निर्णयमा पुगे । पूर्वप्रधानमन्त्रीहरू सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दले सुरूमा मिलेरै दल खोले । त्यो लामो समयसम्म चल्न सकेन । दुई टुक्रा भयो । राप्रपा भइरहने सत्ता संघर्षमा कमल थापा एक प्रमुख पात्र थिए ।

थापा राजनीतिक वृत्तमा एकाएक चर्चामा आएको भने २०५३ सालमा हो । जतिबेला नेता लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा राप्रपा-एमाले सरकार बनेको थियो । २०५३ फागुन २९ मा चन्द प्रधानमन्त्री भएका थिए । चन्द प्रधानमन्त्री बनेको छ महिनापछि नै राप्रपामा बिग्रह आयो, जब कांग्रेसले सूर्यबहादुर थापाको नेतृत्वमा सरकार बनाएर राप्रपा-कांग्रेसबीच सत्ता गठबन्धनको प्रस्ताव राख्यो । चन्द सरकारमा मन्त्री रहेका राप्रपाका नेताहरू नै राप्रपा-एमाले गठबन्धन तोड्न र

कांग्रेससँग मिलेर सरकार चलाउन आतुर देखिए । त्यसमध्ये एक थिए, कमल थापा । थापाले आफूलाई छोड्न लागेपछि चन्दले एउटा टिप्पणी गरे, जुन नेपाली राजनीतिमा बलियो विम्ब बनेर बस्यो । चन्दले त्यसलाई ‘मुसा प्रवृत्ति’ भने र त्यसको व्याख्या गरे । उनले गरेको यो टिप्पणीले थापालाई लामो समयसम्म पछ्यायो । सत्तामा पुग्न कमल थापाले फेरिरहने समीकरणलाई टिप्पणीकारहरू ‘मुसा प्रवृत्ति’ भनेर घोचपेच गरिरहन्छन् । थापा उनी विचार मिल्ने र नमिल्ने दुबै राजनीतिक शक्तिसँग सत्ताका लागि उदारपूर्वक समीकरण गर्छन् । मन्त्री हुनको लागि गरिने त्यस्ता समीकरणले राप्रपाले बोक्ने राजतन्त्र र हिन्दुराष्ट्रको एजेण्डा कमजोर बन्दै गयो ।

एमाले, माओवादी केन्द्र र राप्रपा मिलेर २०७२ मा संविधान जारी भएपछि सरकार बनाए । त्यो गठबन्धनले विद्यादेवी भण्डारीलाई राष्ट्रपतिमा अघि बढायो । राजतन्त्रका हिमायती थापा गणतन्त्रको ‘सिम्बोलुका रूपमा रहने राष्ट्रपति पदमा भण्डारीलाई निर्वाचित गरियोस् भन्ने प्रस्तावको समर्थक बने । यस्ता कतिपय घटनाले कमल थापालाई राजतन्त्र वा हिन्दु राज्य हैन, सत्ता चाहिएको हो भन्ने मत बलियो बन्दै गयो ।

कमल थापाको त्यो पार्टीलाई २०७० सालको चुनावमा अलिअलि जनताले पत्याएएका पनि थिए । त्यतिबेला पार्टीलाई केही आशलाग्दो बनाएका थापाले २०७२ सालमा संविधान निर्माणमा असहमति त राखे । त्यसपछि तुरून्तै गणतान्त्रिक संविधानमाथि टेकेर बनेको सरकारमा भने बलियो उपस्थितिसाथ सत्तारोहण गरे ।

कतिपयले यसलाई थापाको मुसा प्रवृत्तिको पुनरावृत्तिको संकेतका रूपमा व्यंग्य समेत गरे । थापाका यस्तो कमजोरी नै लिङ्देन समूहलाई चुनाव जित्ने आधार नै बन्यो । त्यसमाथि पार्टीमा भित्रभित्रै पुस्तान्तरणको आगो सल्केको थियो । थापाले त्यसलाई वास्तानै गरेनन् । थापा पार्टीको आन्तरिक चुनावमा कहिल्यै प्रतिस्पर्धा गरेका व्यक्ति थिएनन् सायद त्यसैले पनि उनले आफ्नो प्रतिस्पर्धी पनि देखेनन् ।

निर्मल निवास र राजसंस्था
कमल थापाले यतिबेला आफूविरुद्ध ‘निर्मलनिवासले खेलेको’ गुनासो गरिरहेका छन् । २०६३ सालमा प्रतिनिधि सभा पुनर्स्थापनासँगै राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकाल अन्त्य भयो र थापा पनि गृहमन्त्रीबाट बिदा भए । थापाको दरबारसँग सम्बन्ध त्यहीँबाट तिक्ततापूर्ण छ भन्ने गरिन्थ्यो । २०६३ सालको जनआन्दोलनताका गृहमन्त्री हुँदा थापाले दरबारलाई नै ‘मिसगाइड’ गरेको आरोप कहिलेकाहीँ लाग्ने गर्छ ।

थापाले भने बोलीमै सही गणतन्त्र फाल्ने, राजतन्त्र र हिन्दु राष्ट्र बनाउने एजेण्डा सधैँ बोके । राजा वा राजसंस्थाबारे कहिल्यै नराम्रो भनेनन् । हिजोका दिनसम्म नेपालमा राजतन्त्रको सबैभन्दा ठूलो प्रवक्ता थापा नै हुन् । तिनै थापालाई यसपालिको चुनावमा निर्मल निवासले नसघाएको आरोप छ । निर्मल निवास गणतान्त्रिक मोर्चासँग साक्षात्कार गरेको मन नपराएर थापासँग चिढिएको छ भन्ने गाइँगुइँले राप्रपा महाधिवेशनको वातावरणमा तरंग ल्याइदिएकै थियो ।

त्यो तरंगबीच लिङ्देनले असली राजावादी अब आफू बनेको र निर्मल निवासले पत्याएको सञ्चार मतदातामा गराए । थापा निर्मल निवासबाट छाया पर्दै गएका रहेछन् भन्ने पनि प्रष्ट भएको छ । अब उनको निर्मल निवाससँग सम्बन्ध के–कसरी अघि बढ्छ, हेर्न बाँकी छ । थापासँगै लामो सयमसम्म काम गरेको ठूलो समूह पनि यसपालि उनीसँग चिढिएको थियो । उनीहरूले पनि लिङ्देनलाई साथ दिए ।

थापा हार्दाहार्दैको तात्तातो परिस्थितिमा उनका समकक्षी नेताहरूको आक्रोश देखियो । राजेन्द्र लिङ्देनको विजय सम्पूर्ण पार्टीको, राष्ट्रवादी, हिन्दुवादी र राजसंस्थावादीहरूको हो,’ अघिल्लो एकता महाधिवेशनमा थापाको प्रतिद्वन्द्वी बनेका प्रदीपविक्रम राणाले भने, ‘कमल थापाले लिएको नीतिको हार हो । राजसंस्था र हिन्दु राष्ट्रको नीतिको विजय हो, हामी व्यक्तिको पछि लाग्दैनौं, लिङ्देनको जित हिन्दु र राजसंस्थाको लागि हिँडिरहेका सबैको हो ।’

गणतन्त्र घोषणापछि थापा प्रतिनिधित्व गरेका तीन वटा गणतान्त्रिक सरकार उनी र उनको पार्टीको विचारभन्दा धेरै टाढा थिए । माओवादी त उनको पार्टीको विचारसँग कहिल्यै नजिक छैन, एमाले र कांग्रेस हिन्दु राष्ट्र र राजतन्त्रको विचार त्यागिसकेका शक्ति हुन् । राप्रपाको एजेण्डा हिन्दु राष्ट्र र राजतन्त्रलाई जनता पत्याएका छैनन् । तर, पछिल्लो समय हिन्दु राष्ट्र र राजतन्त्रको पक्षमा जनमत बढेको छ भन्ने आँकलन उनको पार्टीको छ । ६७ वर्षीय थापासँग पूर्वउपप्रधानमन्त्री, पूर्वगृहमन्त्री, पूर्वमन्त्री भइसकेको अनुभव र पार्टी सञ्चालनको ज्ञान थियो ।

यसको तुलनामा एकपटक पनि मन्त्री नभएका र पहिलो पटक सांसद निर्वाचत भएका लिङ्देनसँग ठूलो संगठन वा पार्टी नेतृत्व पंक्तिको अनुभव नै छ । सायद फ्रेस अनुहारकै रूपमा लिङ्देनलाई पार्टी कार्यकर्ताहरूले रुचाए । आम मतदातामा राप्रपाको घट्दो समर्थन बढाउने चुनौती अब पूर्वी जिल्ला झापाबाट उदाएका लिङ्देनको काँधमा आएको छ । लिङ्देनको काँधमा त्यो आँकलनलाई जनअनुमोदन गराउँदै २०७० सालको चुनावमा जस्तै उल्लेख्य सिट ल्याएर थापालाई देखाउने चुनौती छ ।

छँदाखाँदाको राजतन्त्र अन्त्य हुनुमा पूर्वराजा ज्ञानेन्द्र शाहको अदुरदर्शिताले पनि भूमिका खेलेको राजनीतिक विश्लेषकहरुले बताउने गरेका छन् । ०५९ साल असोज १८ उनले आफ्नो हातमा शक्ति लिने उद्देश्यले जननिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारलाई अपदस्थ गरे । पछि ०६१ माघ १९ गते लोकतन्त्र नै अपदस्त गरेर शाही शासन लाद्ने काम गरे र आफैं मन्त्रिपरिषदको अध्यक्ष बने । ज्ञानेन्द्रले ०४७ को संविधान कुल्चने काम गरेपछि राजतन्त्रको दुःखका दिन त्यहीँबाट शुरु भए । गणतन्त्र आइसकेपछि पनि पूर्वराजाले पटक-पटक गद्दीमा फर्कने, आशा र अपेक्षा राख्दै आएका छन् ।

यद्यपि भावी राजाका रुपमा हेरिएका पारस साहलाई देखेर मानिसहरु राजतन्त्रप्रति खासै आकर्षित छैनन् । तथापि यस्तो बेलामा पूर्वराजाले राजावादी पार्टी राप्रपालाई एकतावद्ध बनाउनुपर्ने र शक्ति आर्जन गर्नुपर्नेमा पटक–पटक राप्रपालाई भुटाउने भूमिका खेल्दै आएका छन् । ०७४ को चुनावअघि राप्रपाका तीनवटै समूहबीच एकता भएको थियो ।

राप्रपालाई दरबारले नै फुटाएर कमजोर बनाएको आरोप राप्रपा नेताहरुले लगाउने गरेका छन् । त्यतिमात्र होइन, राप्रपा नेपाललाई समेत दरबारले फुटाउने प्रयास गरेको गुनासो स्वयं कमल थापाले गर्दै आएका छन् । यहीबीचमा अहिले फेरि पूर्वराजाले राप्रपामा कमल थापाविरुद्ध गठबन्धन बनाएर फुटको प्रयास गरेको कमल थापा पक्षको आरोप छ । तर, राप्रपालाई बलियो बनाउनुको साटो फुटाउने र एकतावद्ध हुनै नदिने पूर्वराजा ज्ञानेन्द्रको अदुरदर्शिताकै कारण उनको जुनीभरि नै राजतन्त्र नफर्किने संकेत देखिएको थापा निकट नेताहरुले विश्लेषण गर्न थालेका छन् ।

कमल थापामाथी लागेका आरोप
संविधानसभाको दोस्रो निर्वाचन २०७० मा हिन्दु राष्ट्र र राजतन्त्र पुनर्स्थापनाको एजेण्डामार्फत् समानुपातिकतर्फ २५ सिट हासिल गरे पनि एजेण्डामा इमान्दार नरहेको आरोप थापामाथि लाग्दै आएको छ । तत्कालीन शक्ति सन्तुलनका आधारमा संविधान जारी गर्न सहमति जनाउनु परेको स्पष्टीकरण अध्यक्ष थापाले दिँदै आएका छन् । तर, संविधान जारी भएपछि पार्टीका एजेण्डासँग उपप्रधानमन्त्री पद साटेको भन्दै राजावादीहरु उनीप्रति असन्तुष्ट छन् ।

संविधान जारी गर्न दिएको सहमतिका कारण उनको राजनीतिक भूमिकाप्रति निर्मल निवाससमेत सन्तुष्ट नरहेको चर्चा राप्रपाभित्र छ । यो असन्तुष्टि पूर्वराजा ज्ञानेन्द्र शाहकै हो वा निर्मल निवासका कर्मचारीहरुको मात्रै, त्यो चाहिँ स्पष्ट छैन । तर, थापालाई चुनौती दिन गठबन्धन बनाएका लिङ्देन र जबराले पनि पूर्वराजासँगको सम्बन्ध थप निकट र सुमधुर बनाएका छन् । यस्तै पशुपति शमशेर राणा पक्षले अध्यक्ष थापामाथि विभिन्न सात आरोप लगाएको छ ।

१. स्थानीय निर्वाचनको ठिक दुई दिनअघि राष्ट्रपति विद्या भण्डारीलाई भेटि उपप्रधानमन्त्री पदबाट राजीनामा दिएको र त्यसरी राजीनामा दिनुको रहश्य अहिलेसम्मि नखोलेको ।
२. पार्टीमा हिसाब किताव पारदर्शी ढंगले नराखेको, एकता महाधिवेशनमा भएको खर्चको अहिलेसम्म हिसाब नबुझएको, पार्टीलाई आर्थिक संकटमा पुर्याएको र स्थानीय निर्वाचनमा प्रतिजिल्ला जम्मा एक लाख रुपैयाँ मात्र उपलब्ध गराएको ।
. पार्टीमा सामान्य छलफलसम्म नगरी स्थानीय तहको चुनावमा एमालेसँग चुनावी गठबन्धन गरेको ।
४. चुनावको समयमा पार्टीका नेता र कार्यकर्ताको टेलिफोन समेत नउठाएर छल्ने गरेको ।
५. सल्यान र मोरङ लगायतका जिल्ला पार्टी सभापतिसहित एमाले प्रवेश गरेको विषयमा के भएको भनी वरिष्ठ नेता पशुपति शमशेर राणाले फोन गर्दा कमल थापाले ‘यस्ता सानातिना कुरा म हेर्दिनँ’ भनी ठाडो जवाफ फर्काएको ।
६. पार्टीमा छलफल नै नगरी ४२ जनालाई मनोमानी किसिमबाट केन्द्रिय समितिमा मनोनित गरेको । यसरी मनोनित हुनेमा अधिकांश व्यक्तिहरु केन्द्रिय समितिमा पराजितहरु रहेका छन् ।
७. कुनै पनि विषयमा पार्टीमा छलफल नगरी एकलौटी ढंगले निर्णय लिने गरेको । पार्टीका नेता र कार्यकर्तासँग रुढ व्यवहार प्रदर्शन गर्ने गरेको ।

दुई वर्षअघि गीतिसङ्ग्रह ‘मेरो प्यारो नेपाल’

सेनामा जागिर अनि कुशल गीतकार
धेरैलाई थाहा नहुन सक्छ, कमल थापा गीतकार पनि हुन् । कमल थापाको खानदानमा उनी नै एक्ला व्यक्ति हुन्, जो राजनीतिमा आए र स्थापित भए । उनका परिवारका अग्रज सबै सैनिक थिए अर्थात् बाजे, बुबा, दाजु सबै । त्यसैले कमल थापा पनि २०२९ सालमा सेनामा भर्ती हुन गए । आर्मीमा रहेर देश र जनताको सेवा गर्ने उनको सोच थियो । तर, ३ महिना उमेर कम भएकाले उनी अयोग्य भए ।

त्यसपछि उनले विद्यार्थी राजनीतिलाई अझ सशक्त बनाएर लगे र राजनीतिमा आफ्नो नामको झण्डा गाडे । त्यसबेला ३ महिना उमेर पुगेको हुन्थ्यो भने के थाहा पञ्चायतकालदेखि पटक पटक मन्त्री भई नीति, निर्माणमा योगदान गर्ने थापाको अवसर पो गुम्थ्यो कि ! उनी अहिले पूर्वसैनिकको पेन्सन खाँदै बसेका हुन्थे कि !

यस्तै नायक राजेश हमालले अभिनय गरेको पहिलो चलचित्र ‘युगदेखि युगसम्म’को चर्चित ‘तीन पाते डाँडा काटेर, कहाँ जान लाग्यौ सारङ्गी दाइ, पिरतीको भाका बोकेर’ बोलको गीत कमल थापाले नै लेखेका हुन् । प्रकाश श्रेष्ठको आवाजमा रहेको ‘शुभकामना नयाँ वर्ष, नयाँ जीवनलाई’ गीत पनि थापाकै रचना हो । दुई वर्षअघि उनले गीतिसङ्ग्रह ‘मेरो प्यारो नेपाल’ सार्वजनिक गरेका थिए । एल्मबको शीर्ष गीत ‘जहाँ म जन्मेँ, जहाँ हुर्की बढेँ, त्यही माटो९पानी मेरो भूस्वर्ग’ विभिन्न ७ भाषामा सुन्न सकिन्छ । पार्टीका लागि उनले ‘राष्ट्रवादी पार्टी हाम्रो राप्रपा’ भन्ने गीत पनि लेखेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार