शुक्रबार, माघ ७ २०७८
रोगीलाई अध्यक्ष बनाउनु हुन्न भनिएका केपी शर्मा ओली दोस्रो पटक अध्यक्ष बन्दै रचे इतिहास

रोगीलाई अध्यक्ष बनाउनु हुन्न भनिएका केपी शर्मा ओली दोस्रो पटक अध्यक्ष बन्दै रचे इतिहास

९ औं महाधिवेशनमै रोगीलाई अध्यक्ष बनाउनु भनिएका केपी शर्मा ओली नेकपा एमालेको द्रोस्रो पटक अध्यक्ष बन्न सफल


  • अस्मिता बेल्बासे
  • मंगलबार, मंसिर १४ २०७८
421
SHARES

काठमाडौं । चर्चित झापा विद्रोहका एक मुख्य पात्र खड्गप्रसाद शर्मा ओली (केपी ओली) उक्त विद्रोहकालीन एक मात्र जीवित नेता हुन् । लोकतन्त्र, दिगो शान्ति, सामाजिक सद्भाव र राष्ट्रिय एकताका निम्ति अविचलित अडान राख्दै आएका नेता भनी ओली सह्राइएका छन् ।

२००८ साल फागुन ११ गते इवा-२ तेह्रथुममा जन्मिएका उनी झापाको आदर्श माध्यमिक विद्यालयबाट विक्रम संवत् २०२८ साल प्रवेशिका परीक्षा (एसएलसी) उत्तिर्ण गरेका हुन् । ओली हाल अनन्तलिङ्गेश्वर नगरपालिका–२, बालकोट, भक्तपुरका स्थायी वासिन्दा हुन् ।

नेपालमा सबैभन्दा बढी महाधिवेशनबाट नेतृत्व चयन गर्ने कम्युनिष्ट पार्टी भनेर रेकर्ड बनाएको नेकपा (एमाले) ले हालसम्म १० औं वटा महाधिवेशनबाट नेतृत्व चयन गरेको छ। एमालेले १०-१४ मंसिर सम्म १०औँ महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गरिसकेको छ । चितवनमा भएको महाधिवेशनबाट केपी शर्मा ओली पुनः अध्यक्ष बन्न सफल भएका छन् ।

एमालेको ९ औं महाधिवेशनसम्म दुई जना मात्रै दोहोर्‍याएर नेतृत्वमा पुगेका थिए । तर १० औं महाधिवेशनबाट दोस्रो पटक केपी शर्मा ओली पुनः अध्यक्षमा निर्वाचित भएसंगै, अब एमालेमा दोहोर्याएर पार्टी अध्यक्ष बन्ने तेस्रो व्यक्तिको रुपमा केपी शर्मा ओली रहने भएका छन् ।चौथो र पाँचौ महाधिवेशनबाट मदन भण्डारी तथा छैठौँ र सातौँ महाधिवेशनबाट माधवकुमार नेपाल दुई–दुई पटक नेतृत्वमा पुगे थिए ।

विक्रम संवत् २०२२ सालमा कम्युनिष्ट राजनीतिमा लागेका ओलीले २०२६ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए । २०२८ सालको झापा आन्दोलनका प्रमुखहरु मध्येका एक थिए, त्यही वर्ष उनी जेल परेका थिए । पञ्चायती व्यवस्थाविरुद्धको संंघर्षका क्रममा ओली २०२८ देखि २०४४ सम्म १४ वर्ष जेल जीवन यापन गरेका थिए ।

१४ वर्षसम्म कठोर जेल जीवन बिताएका केपी शर्मा ओली मुलुककै सबैभन्दा शक्तिशाली व्यक्तिका रुपमा उदाएका छन् । जेलबाट निस्किएर ओली काठमाडौँ बस्न थालेको तीन दशक नाघिसकेको छ । तीन तिहाइ बहुमत पाएका प्रधानमन्त्री ओली पार्टीमा पनि उत्तिकै शक्तिशाली भएका छन् । आफुलाई सहयोग गर्ने नेता कार्यकर्ताको संरक्षण गर्ने ओलीको स्वभावका कारण पार्टीमा उनीको शक्ति बढेको छ ।

ओली २०४८, २०५१ र २०५६ का आम निर्वाचनमा झापा जिल्ला क्षेत्र नं ६बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए । पहिलो संविधान सभा निर्वाचन २०६४ मा भने उनी झापाको क्षेत्र नं ७ बाट पराजित भए । विसं २०४९ सालमा नेकपा (एमाले)को स्थायी कमिटी सदस्य भएका उनी २०७१ असारमा पार्टीको अध्यक्ष निर्वाचित भएका हुन् ।

दोश्रो संविधानसभा निर्वाचन २०७० मा उनी झापा क्षेत्र नं ७ बाट नेकपा एमालेको तर्फबाट निर्वाचित भएका थिए । साढे तीन वर्ष पहिलेको नवौँ महाधिवेशनमा रोगीलाई पार्टी अध्यक्ष बनाउनु हुँदैन भनेर चर्को प्रचारबाजी गरियो । तर पनि माधवकुमार नेपाललाई ४५ भन्दा धेरै मतले पराजित गर्दै उनै पार्टी अध्यक्ष बने, त्यसपछि २०७२ असोज २४ गते नेपालको ३८औँ प्रधानमन्त्रीको रूपमा पहिलो पटक प्रधानमन्त्रीमा निर्वाचित भए ।

उनको पहिलो कार्यकालमा भारतीय नाकबन्दी र तराइमा मधेशी आन्दोलनको कारणले पेट्रोलियमको हाहाकार मच्चिएको थियो । तर, उनी भारतसँग झुकेनन्, अन्ततः उनकै कार्यकालमा नाकाबन्दी पनि खुल्यो । नाकाबन्दीको समयमा प्रधानमन्त्री बनेका ओलीले मुलुकमा रेल र पानी जाहज कुदाउने, लोडसेडिङ अन्त्य गर्ने, घरघरमा ग्यासको पाइप पुर्‍याउने र हावाबाट बिजुली निकाल्ने जस्ता योजना अघि सारे ।

उनले ती योजना ल्याउँदा आलोचकहरुले उनलाई हाँसको पात्र बनाए, मजाक गरेको भन्दै खिल्ली समेत उडाए । भारतीय नाकाबन्दीसँग जुध्दै पहिलो कार्यकाल बिताएका ओलीलाई जनताले पनि साथ दिए । खाना पकाउने ग्यासको हाहाकार भएका बेला ‌ओली नेतृत्वको सरकारले दाउरा बाँडेर भए पनि जनताको चुल्हो निभ्न दिएन । तर त्यसबीचमा पेट्रोलियम पदार्थको चरम अभाव भयो ।

सर्वसाधारण नागरिक केही लिटर तेलका लागि रातदिन लाइन बसे तर ओलीको राष्ट्रवादी लाइनलाई साथ दिँदै कष्ट सहिरहे । ओलीलाई साथ दिएका सर्वसाधरणले भारतको चर्को विरोध गरे यो ओलीका लागि ठूलो सफलता थियो । नेतालाई गाली गर्ने युवापुस्ताको पनि ओलीले त्यो बेला मन जिते । २०७२ असोज ३ गते नयाँ संविधानको घोषणा गर्दा नेपालले इतिहासकै ठुलो चुनौतीको सामना गर्नुपरेको थियो ।

नेपाल आफैँले संविधान जारी गर्ने कुराले भारत रुस्ट भइसकेको थियो । तर ओलीसहितका केही नेताको अडानकै कारण संविधान घोषणा भयो । संविधान घोषणा गर्दा कांग्रेसका सुशील कोइराला प्रधानमन्त्री थिए । कोइरालासँगै ओली तत्काल संविधान जारी गर्ने पक्षमा थिए । संविधान जारी गर्न दबाब दिएकै कारण उनले मधेस र भारत विरोधीको बिल्ला पनि भिर्नु पर्‍यो । भारतले तत्काल संविधान जारी नगर्न भन्दै हस्तक्षेप नै गर्न खोज्यो । तर नेपालले यो कुराको नजरआन्दाज गर्दै संविधान जारी गर्‍यो । संविधान घोषणा गर्ने समयमा सबैभन्दा बढी सक्रिय नेताका रुपमा थिए ओली ।

ओली विभिन्न समयमा नेपालको गृहमन्त्री, उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्रीसमेत भएका छन् । लामो समय कष्टपूर्ण राजनीतिक जीवन बिताएका ओली पहिलो पटक २०५१ सालको मनमोहन अधिकारीको नेतृत्वको पहिलो कम्युनिष्ट सरकारमा गृहमन्त्री बने । नौ महिनाको गृहमन्त्री बन्दा निष्कलंक रहे ।

ओली बाहेक गृहमन्त्री बनेका एमाले नेता वामदेव गौतम र भीम रावल समेतको कार्यकाल आलोचित रह्यो । कांग्रेसबाट गृहमन्त्री बनेका शेरबहादुर देउवा, गोविन्दराज जोशी, खुमबहादुर खड्का र पूर्णबहादुर खड्का अत्यन्त आलोचित हुँदा उनी विवादमा परेनन् ।

ओली दोस्रो कार्यकालको लागि २०७४ फागुन ३ गते प्रधानमन्त्री नियुक्त भए । २०७४ मा नेपालको प्रतिनिधिसभा निर्वाचनपछि खड्गप्रसाद ओलीको नेतृत्वमा २०७४ फाल्गुन ३ गते बनेको नेपाल सरकार थियो । ओलीको उम्मेदवारीलाई सो समयमा नेपाल कम्युनिष्ट पार्टी एमाले र नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले समर्थन गरेको थियो ।

उनले आफ्नो कार्यभार दुई मन्त्रीहरूसँग सुरु गरेका थिए भने पछि विभिन्न मन्त्रालयहरूका लागि मन्त्रीहरू थप गर्दै लगेका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा २ अनुसार उनलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् ।

२०७८ बैसाख २१ गते नेकपा (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय गरेपछि सरकार अल्पमतमा परेको थियो । प्रतिनिधि सभाको विघटनपछि बहुमतिय सरकार अन्तरिम सरकारमा परिवर्तन भएको थियो । ओलिले प्रधानमन्त्रीको दोस्रो कार्यकालमा भने विभिन्न चुनौतिहरु खेप्नुपर्‍यो । पटक पटक प्रतिनिधि सभा विघटन गरेपछि उनी धेरै विवादित बने ।

२०७८ असार २८ गते नेपालको सर्वोच्च अदालतले नेपालको संविधानको धारा ७६ को उपधारा ५ अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने परमादेश जारी गरेपछि ओली मन्त्रिपरिषद्लाई पाँचौँ देउवा मन्त्रिपरिषद्ले विस्थापन गरेको हो । बैशाख २७, २०७८ प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री ओलीले पेस गरेको विश्वासको मतको प्रस्ताव संसद्‌मा अस्वीकृत भएको थियो ।

प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत गुमाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरूलाई बहुमत पुर्‍याएर दाबी पेश गर्न तीन दिनको समय दिएकी थिइन् । उक्त अवधिमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) लगायत दलले बहुमत पुर्‍याउन नसकेपछि बैशाख ३० गते राति १० बजे राष्ट्रपतिले ओलीलाई संविधानको धारा ७६ (३) अनुसार पुनः प्रधानमन्त्री नियुक्त गरेकी हुन् ।

ओलीसँग मानिसका धेरै अपेक्षा छन् । जनसराकोरका केही मुद्दाहरु सम्बोधन गर्न सके मात्रै ओलीको सफल नेता बन्नेछन् । जनताको अपेक्षा नै ओली प्रमुख चु्नौती हुन् । ओलीबाट अपेक्षा पूरा भएनन् भने जनतामा निराशाले सताउने छ । ओलीबाट मुलुकमा केही भएन भने देश बन्ने अवसरमा पनि लामो समय पूर्णविराम लाग्नेछ । गिरिजाप्रसाद कोइरालाले देश बनाउने अवसर पाएका थिए । तर २–२ पटक उनले त्यसको सदुपयोग गर्न सकेनन् । त्यहीकारण देश ३० वर्ष पछाडि धकेलिएको छ ।

गिरिजाप्रसादपछि देश बनाउने अवसर ओलीको हातमा छ । अबको दिनमा सत्ता हातमा लिएर यदि पहिलो पटक प्रधानमन्त्री हुँदा गरेका बाचा पुरा गर्न सके भने ओली राज नेता कहलिने छन् । नेपालमा ओली युगको रुपमा इतिहासमा लेखिने सम्भावना पनि छ । उनी भाषण गर्दा उखान–टुक्कालाई प्रयोग गरेर हाँस्यरसलाई मिसाउन खप्पिस छन् ।

नेकपा (एमाले)का वर्तमान अध्यक्ष हुन् । केपी शर्मा ओली नेकपा एमालेको अध्यक्षमा दोस्रोपटक निर्वाचित भएका छन् । २०७८ साल मंसिर १४ गते एमालेको १०औँ महाधिवशेनबाट ओली प्रतिस्पर्धी भीम रावललाई फराकिलो मतान्तरले हराउँदै दोश्रो पटकका लागि एमाले अध्यक्ष निर्वाचित भए । अबको कार्यकाल सफल बनोस् शुभकामना…

प्रतिक्रिया
सम्बन्धित समाचार