आइतबार, मंसिर १२ २०७८
कांग्रेस र कम्युनिष्ट सरकारले निजीकरणका नाममा ठूला उद्योग बन्द गरेः उपेन्द्र यादव

कांग्रेस र कम्युनिष्ट सरकारले निजीकरणका नाममा ठूला उद्योग बन्द गरेः उपेन्द्र यादव


  • दैनिक न्यूज नेपाल
  • मंगलबार, कार्तिक ३० २०७८
410
SHARES

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले यसअघिका सरकारहरूले निजीकरण र उदारीकरणको नाममा ठूला उद्योग बन्द गराएको आरोप लगाएका छन् ।

देशको शासन व्यवस्था चलाएको कांग्रेस र कम्युनिष्टहरूले निजीकरण र उदारीकरणका नाममा नेपालका विभिन्न स्थानमा रहेका ठूला उद्योग बन्द गराएको यादवको आरोप छ ।

जनता समाजवादी पार्टीद्वारा सप्तरीको कंचनरुप नगरपालिकाको कंचनपुरमा मंगलबार आयोजित कार्याक्रमलाई सम्बोधन गर्दै यादवले यस्तो बताएका हुन् । ‘विराटनगर जुट मिल, कृषि औजार कारखाना, बाँसबारी जुत्ता उद्योग, वीरगन्ज चिनी उद्योग लगायत ठूला उद्योग बन्द गरिए, जसकारण कयौं कामदार बेरोजगार भए’ अध्यक्ष यादवले भने ।

राजनीतिक क्रान्तिसंगै आर्थिक क्रान्तिलाई पनि अब संगै लैजानुपर्ने र रोजगारीका अवसर सिर्जना गर्नु जरुरी रहेको नेता यादवको भनाइ थियो । यस्तै भूमिको चाक्लाबन्दी तथा कृषिमा आधुनिकीकरण नगरेसम्म कृषि क्षेत्रको विकास हुन नसक्ने उनको तर्क थियो । कृषिमा राज्यको समुचित लगानी हुनुपर्ने पनि नेता यादवले बताए ।

विकासका नाममा छुट्याइएका बजेटको समुचित खर्च हुन नसकेको भन्दै यादवले माथिल्लो तहदेखि तल्लो तहसम्म भ्रष्टाचार अन्त्य नभएसम्म विकासले गति लिन नसक्ने बताएका थिए ।

कर्यक्रममा जसपाका केन्द्रीय कार्यकारिणी सदस्य मृगेन्द्रकुमार सिंह यादवले मधेशी जनतालाई सदियौंदेखि विभेद गरिँदैआएको र शासक वर्गले मधेशीहरूबीच फुट ल्याई शासन चलाएको आरोप लगाए ।

कार्यक्रममा जसपाका केन्द्रीय कार्यकारिणी सदस्य तथा प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साह, प्रतिनिधिसभा सदस्य डा सूर्यनारायण यादव, जसपा नेताहरू शम्भु झा, केदार यादव लगायत नेताले बोलेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार